के हो मधुमेह ? यस्ता छन् लक्षण र उपचारविधि

के हो मधुमेह ? यस्ता छन् लक्षण र उपचारविधि


काठमाडौं ।

निरोगी जीवन जिउने जो कोहीको चाहाना हो तर, बदलिदो जीवनशैली र खानपानका कारण हामी विभिन्न रोगको चपेटामा पर्ने गरेका छौं । जसमध्येको एक रोग हो मधुमेह । विश्वको तथ्यांक हेर्ने हो भने संसारभर अहिले ४२ करोडभन्दा बढी मानिस मधुमेहबाट ग्रसित छन् । जुन विश्वको कुल जनसंख्याको ८.६ प्रतिशत हो । यस्तै अवस्था रहिरह्यो भने २५ वर्षमा यो तथ्यांक ६५ करोड भन्दा माथि पुग्ने आंकलन गरिएको छ । नेपालमा पनि मधुमेहबाट प्रभावित हुने बिरामीहरु प्रशस्तै भेटिने गरेको छ । परिवारमा एक जनालाई मधुमेह छ भने उसको परिवारको अन्य सदस्यलाई ४० प्रतिशतसम्म मधुमेह लाग्ने सम्भावना हुन्छ । परिवारभित्र मधुमेह भएको व्यक्ति छ भने अन्य सदस्यले पनि त्यसप्रति चनाखो हुनुपर्छ ।

के हो मधुमेह ?
रगतमा चिनी अर्थात ग्लुकोजको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई मधुमेह अर्थात् चिनीरोग भन्ने गरिन्छ । यसरी रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी भएपछि शरीरका अन्य अंगहरुलाई क्रमशः कमजोर र क्षति गर्न थाल्छ । यस्तो अवस्थालाई चिनी रोग अथवा मधुमेह (डायबिटिज) लागेको भनिन्छ । वर्षाैं अगाडि यस रोगको वर्णन आयुर्वेदमा पनि गरिएको छ । त्यसबेला मधुमेहलाई पिसाबमा कमिला भन्किने रोगको नामले चिनिन्थ्यो ।

हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ । यसको उत्पादनमा कम भयो भने या हर्मोनले राम्रोसँग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि मधुमेह रोग लाग्ने गर्छ । यसको समयमा सहि उपचार हुन सकेन भने विभिन्न खालका जटिलताहरु उत्पन्न हुन्छन् ।

के हो इन्सुलिन ?
हाम्रो शरीरमा पेटको तलपट्टी पेङक्रियाज भन्ने ग्लाण्ड हुन्छ । यसले इन्सुलिन भन्ने हर्मोन निकाल्छ । यो हर्मोनको काम हामीले खाएको कुनै पनि खानेकुराबाट ग्लुकोजको मात्रा शरीरका विभिन्न कोषसम्म पु¥याउने हो । इन्सुलिनको कमी भयो वा इन्सुलिनले सो काम गर्न सकेन भने ग्लुकोजको मात्रा रगतको रगतमै घुमिरहन्छ । जहाँ गएर खर्च हुनुपर्ने ग्लुकोज त्यहाँ नपुगेपछि त्यसको मात्रा बढी हुन्छ । रगतमा ग्लुकोजको मात्रा धेरै भएपछि यसले शरीरका साना तथा ठूला रक्तनलीहरुलाई असर पार्छ ।

मधुमेह हुने कारणहरु
–आनुवांशिक कारण, बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना ४० प्रतिशत रहेको चिकित्सकहरुले जनाएका छन् । तसर्थ एउटा वंशजको आधार अर्थात परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा मधुमेह सर्न सक्ने सम्भावना धेरै हुन्छ ।
–बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल हुदा मधुमेह हुने सम्भावना बढी हुन्छ ।
– कम्मरको गोलाई पुरुषको ९०. से.मि (३५.५) र महिलाको ८० से.मि (३१.५) भन्दा बढी भएमा ।
–मानसिक तनाव एवम् चिन्ता भएका व्यक्तिहरूलाई मधुमेहको हुने सम्भावना बढी हुन्छ ।
–भाइरसको संक्रमण मधुमेहको प्रमुख कारक हो । पेङ्क्रियाजको विटा कोश (जसले इन्सुलिन उत्पादन गर्छ ) मा भाइरसको संक्रमण हुँदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।
–व्यायामको कमी, निष्क्रिय जीवनशैली, अस्वस्थ आहार, उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन् ।
–अर्को भनेको जीवन शैली र खानपान नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा मधुमेहका दुम्मन हुन् ।
–शरीरमा प्रर्याप्त इन्सुलिनको उत्पादन नहुँदा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्न गइ मधुमेह हुन जान्छ ।
–यो भन्दा बाहेक औषधी सेवनको कारणले पनि मधुमेह हुन सक्छ । यस्तै उच्च रक्तचाप, अग्न्याशय अपरेशन, सिस्टिक फाइब्रोसिसका कारण शरीर लामो समयसम्म कार्टिसोल नामक हर्मोनको मात्रा बढी भएका वा अन्य वंशाणुगत कारणले पनि मधुमेह देखा पर्छ ।

मधुमेहको प्रकार
साधारणतया मधुमेहलाई दुई प्रकारमा बाँडिन्छ । टाइप वान डायबिटिज अर्थात प्रकार एक मधुमेह र टाइप दुई डायबिटिज अर्थात प्रकार २ मधुमेह ।
–प्रकार एक मधुमेह भनेको इन्सुलिनको उत्पादन नै नभएको अवस्था हो । यो धेरै जसो कम उमेर अर्थात बालबच्चाहरुमा देखिन्छ । तर, अन्य उमेरका व्यक्तिमा पनि यो रोग देखिन सक्छ । दुब्लाउदै जानु यस रोगको लक्षण हो । यसमा शरीरलाई चाहिने इन्सुलिन नै उत्पादन हुँदैन जुन शरीरका प्रत्येक अंगलाई आवश्यक पर्छ । त्यसैले यसको उपचारको लागि इन्सुलिन नै प्रयोग गर्नु पर्दछ ।

–प्रकार दुई मधुमेह भने ४० वर्ष कटेका व्यक्तिहरुमा देखिए तापनि नेपालको सन्दर्भमा भने २० देखि २५ वर्षकै उमेरमा पनि देखिन थालेको छ । यस प्रकारको मधुमेहमा इन्सुलिनको कमी तथा इन्सुलिनको काम गराईमा कमी आउने हुन्छ । यस अवस्थामा मधुेमह भएको १० वर्ष पुगेका लगभग ५० प्रतिशत भन्दा बढीलाई इन्सुलिन लिनुपर्ने अवस्था आउन सक्छ । धेरैजसो मोटोपना अथवा वजन बढेको अवस्थामा यो रोग देखिन्छ । तर, नेपालमा दुब्ला मानिसमा पनि देखिएको पाइन्छ ।
–कहिलेकाहीं महिलाहरुमा गर्भावस्थाको मधुमेह हुन सक्दछ । गर्भवती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनीको मात्रा उच्च हुन गइ मधुमेह हुन जान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ । यो पछि गएर टाइप दुई मधुमेहमा परिणत हुन सक्ने सम्भावना हुन सक्छ ।

मधुमेहका लक्षणहरु
विभिन्न अनुसन्धानका अनुसार, ५० प्रतिशत बढीलाई मधुमेह लक्षण विना नै देखिएको छ । त्यसैले स्वस्थ ठानिएका व्यक्तिले ३० वर्ष उमेर कटेपछि नियमित रुपमा सुगर टेष्ट गराउनु बुद्धिमता हुन्छ । तर बाँकी पचास प्रतिशतमा लक्षणहरु पनि देखिन्छ ।
–बढी थकान महशुस हुने
–पिँडुला दुख्ने
–बढी भोक लाग्ने
–छिटो छिटो पिसाव लाग्ने र तिर्खा लाग्ने
–आलस्य हुने, जाँगर नचल्ने
– वजन घट्दै जाने
– मुख सुख्खा हुने
–वाकवाकी, रिंगटा लाग्ने
–खाना बढी रुच्ने
– हातखुट्टा पोल्ने, सुन्निने, झमझमाउने
–आँखा धमिलो र तिरमिराउने
– चिडचिडाहटपन हुने
– यौन दुर्वलता हुने
– पटक–पटक सङ्क्रमण हुने वा घाउ ढिलो निको हुने
– पिसाब फेरेको ठाउँमा कमिला लाग्ने
–नपुङ्सकता आदि हुन् ।

मधुमेहले निम्त्याउने समस्या
मधुमेह भएका रोगीलाई मस्तिष्कघात, हृदयघात, आँखाको ज्योति गुम्ने, स्नायु सम्बन्धी समस्या र मिर्गाैला सम्बन्धी समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन् । यस्तै मधुमेहले माईक्रो भास्कुलर र म्याक्रो भास्कुलर डिजिज दुई खालको समस्या ल्याई दिन्छ । त्यो भनेको नसालाई आँखालाई, मिर्गौलालाई, मुटु, ब्रेन लगायतका सबै अंगलाई असर गर्छ । त्यसकारण मधुमेहका विरामीले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु पर्ने हुन्छ । मधुमेह रोगको बारेमा शिक्षा लिने, सन्तुलित एवम् स्वस्थकर खाना खाने, नियमित व्यायाम गर्ने यस्तै औषधि र इन्सुलिनको प्रयोग गर्ने हो भने मधुमेह नियन्त्रण एवम् व्यवस्थापन गर्न सकिन्छ ।

विश्वको तथ्यांक हेर्ने हो भने संसारभर अहिले ४२ करोडभन्दा बढी मानिस मधुमेहबाट ग्रसित छन् । जुन विश्वको कुल जनसंख्याको ८.६ प्रतिशत हो ।

मधुमेहको पहिचान
मधुमेह रोग पहिचानका लागि नियमित रगत जाँच गर्नु पर्दछ । भोकोपेटमा अर्थात ‘फास्टिङ’ मा रगत जाँच गर्दा सुगर लेभल १०० देखि १२६ भन्दा माथि भयो भने यसलाई मधुमेह रोगको पूर्वावस्था मानिन्छ अथवा मधुमेह भएछ भनेर बुझ्नु पर्छ । त्यस्तै खाना खाएको दुई घण्टापछि अर्थात ‘पीपी’ जाँच गर्दा यदि १४० देखि २०० बढी सुगरको मात्रा देखिएमा पनि मधुमेह भएको हो भनेर जान्नु पर्छ । यसरी मधुमेहको पहिचान भइसकेपछि तत्काल उपचार सुरु गर्नुपर्छ । यो रोग एक चोटी लागेपछि यसले जीवनभर सताउँछ । कारण यो रोग पूर्णरुपमा निको हुदैन । यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ ।

मधुमेहबाट बच्ने उपाय
मधुमेहको केही हदसम्म रोकथाम गर्न सकिन्छ । जीवनशैली परिवर्तन नै मधुमेहबाट बच्ने मुख्य उपाय हो । यससँगै निम्न उपायहरु अपनाउन सकिन्छ ।
–उचाइ अनुसार शरीरको तौल ठीक मात्रामा राख्ने
–रक्तचाप नियन्त्रणमा राख्ने
–खानामा विशेष ध्यान पुर्याउने, बढी कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने
–चिनीजन्य परिकार र धेरै गुलिया फलफूल कम खाने
–चिल्लो कम खाने, चाहिने भन्दा बढी खाना नखाने
–शक्ति प्रदान गर्ने, शरीर निर्माण गर्ने, शरीरलाई संरक्षण प्रदान गर्ने खाना खाने
–दैनिक खानामा प्रशस्त मात्रामा हरियो सागसब्जी, मौसम अनुसारको फलफूल र रेशादार खानेकुरा खाने ।
–पूर्ण प्रोटिनयुक्त, जस्तै बोसो तथा छालारहित मासु, माछा, अण्डा, चिल्लोरहित दूध आदि ठीक मात्रामा प्रयोग गर्ने धुम्रपान र मध्यपान त्याग्ने
–धुम्रपान–मद्यपान त्याग गर्ने
– उमेर र शारीरिक क्रियाकलाप अनुसार तोकिएको क्यालोरीको परिमाण अनुसार प्राप्त हुने किसिमले खानपानको व्यवस्था गर्ने
–पेय पदार्थ सेवन नगर्ने
–.शारीरिकरुपमा सक्रिय रहने । जस्तै : हरेक दिन कम्तिमा ३० मिनेट जति हल्का पसिना आउने गरि हिड्ने वा योगा गर्ने वा कुनै न कुनै रुपमा शरीर सक्रिय हुने क्रियाकलाप गर्ने
–फ्राइ तथा पोलेका परिकार कम खाने
– सन्तुलित र नियमित भोजन लिने, नियमित व्यायाम गर्ने, भोकै नबस्ने
– खानामा रेशायुक्त खाद्य पदार्थ समावेश गर्ने यस्ते शुद्ध पानी पनि प्रशस्त पिउने
–बफ्याउने, उसिन्ने, कम तेल प्रयोग गरी पकाएको खाना खाने
– रेस्टुरेन्ट, होटलमा खाँदा विशेषतः कम चिल्लो भएको खाद्य परिकारको छनोटको साथै परिमाणमा पनि ध्यान दिने
–औषधि तथा इन्सुलिन लिइरहेको अवस्थामा चिकित्सबाट प्राप्त सिफारिस अनुसार खानाको तालिका मिलाउने
– नुनको प्रयोगमा पनि ध्यान दिने
–सम्बन्धित विशेषज्ञ तथा चिकित्सकको सल्लाह अनुसार उपचार व्यवस्थापन विधि अपनाउने

Logo