असामान्य रुपमा बोसोको संचय हुनु र बिएमआई ३० वा बढी हुनुलाई मोटोपना भनि विश्व स्वास्थ्य संगठन (WHO) ले परिभाषित गरेको छ। "/>

मोटोपनामा विभेद र यसका असरहरु

मोटोपनामा विभेद र यसका असरहरु

केन्द्रबिन्दु
0
Shares

  •  सञ्जय गजुरेल

असामान्य रुपमा बोसोको संचय हुनु बिएमआई ३० वा बढी हुनुलाई मोटोपना भनि विश्व स्वास्थ्य संगठन (WHO) ले परिभाषित गरेको छ। मोटोपना भएका व्यक्तिहरुलाई मधुमेह, मुटुको रोग, क्यान्सर, मानसिक रोगहरु लाग्ने सम्भावना अरु भन्दा धेरै बढी हुने कुरा WHO ले उल्लेख गरेको छ । तर मोटोपनाको सामाजिक बुझाई भने फरक छ ।

मोटोपना पूर्णतया सौन्दर्यसँग जोडिएका कारण मोटो मानिसहरुले निरन्तररुपमा विभेद, अपहेलना, उत्पीडन, दोष आदिको सामना गर्नु परेको देखिन्छ। इतिहासकार लुविस फक्स्क्रफ्टका अनुसार मोटोपनालाई प्राचिन ग्रीसको समयदेखि नैतिक विफलता मानिन्थ्यो । मध्य शताब्दीमा यो निकम्मा, सुस्त, अप्रिय, कमजोर, गरीब र मूर्खको पर्यायवाची बन्यो जुन अहिले पनि लगभग विद्यमान छ। फलस्वरुप, बाल्यकालमा जब आफ्नै आमा-बाबुबाट बच्चाहरु अवहेलित हुन थाल्छन्, उनीहरु आफ्नो शारीरिक छविप्रति असुरक्षित हुँदै जान्छन् । त्यो संघर्ष युवा अवस्थासम्म जारी रहन्छ र सामाजिक समर्थनको अभावमा विकराल बन्दै जान्छ । समानुभूति देखाउनुको सट्टा उनीहरुको हालतलाई प्राय: निन्दा गरेको देखिन्छ। अल्छे र आत्मनियन्त्रण नभएका कमजोर ठानी हितैषीको नाममा बारम्बार सुझाव दिएको देखिन्छ। भेटे पिच्छे  कम खाने अथवा खाना नियन्त्रण गर्ने, ब्यायाम गर्ने जस्ता सल्लाहहरु दिई उनीहरुलाई अझ दु:खी बनाएको देखिन्छ। ठूलो जिउका कारण देखा परेको शारीरिक असमर्थता र भिन्नतालाई सार्वजनिकरूपमा पनि मजाक बनाएको पाइन्छ।

दुब्लो राम्रो भन्ने कुरा विभिन्न संचार माध्यमहरुबाट निकै पटक दोहोरिँदा दुब्लो-पातलो सकारात्मक परिणाम-खुशी, आत्मविश्वास, र मनोरमासँग जोडिएको पाइन्छ (Ahern et. al (2008))। टेलिभिजन र सिने उद्याेगमा दुब्लो पातलाहरुको ठूलो बाहुल्यता देखिन्छ भने उनीहरुले मोटाहरुलाई कलंकित गर्न खोजेको पनि पाइन्छ। त्यसैगरी पत्रपत्रिकाहरुमा जताततै पातलो शरिरको वाह-वाही हुँदा जनमानसमा यसले ठूलो असर पारेको छ जसको फलस्वरूप मोटाहरुले बच्चादेखि युवा अवस्थाका हरेक पाइलाहरुमा अपमान र भेदभाव सहनु पर्ने स्थिति देखिन्छ।

मोटोपनामा जिनको योगदान स्पष्ट छ जसले भोक, तृप्‍ति, खानाको लालसा, बोसोको वितरण, र तनाब सामना गर्ने क्षमता आदि विभिन्न रुपमा असर गरिरहेको हुन्छ।

सौन्दर्यको व्यापार पनि यति बढ्दो छ कि मोटो हुने बित्तिकै नराम्रो देखिने त्रास छ। वजन कम गर्ने उद्योगहरुबाट आफ्नो व्यापार बढाउनको लागि दुब्लो-पातलो राम्रो भनि प्रचार गरेर समाजमा असत्य कुरा फिँजाईएको छ। यसको शारीरिक र मानसिक असर मोटो मात्रै नभई सामान्य मानिसहरुमा पनि परेको देखिन्छ। मानिसहरु दुब्लाउन वा पातलो रहनका लागि वजन कम गर्ने ब्यापारिक खाना, औषधि, र शल्यकृयामा इच्छुक देखिन्छन् (PsycINFO Database Record (c) 2019 APA, all rights reserved)। अमेरिकी सर्वेक्षण अनुसार झन्डै आधा जति अमेरिकी जनसंख्या वजन कम गर्ने प्रयासमा छन्।

एयमएले २०१३ मा मोटोपनालाई रोग भनि घोषणा गरेर यस माथिको कलंकलाई मेटाउन खोजेको देखिन्छ तर रोगको संज्ञा पाएर यसको अनावश्यक उपचार बढेको छ र नकारात्मक असरहरु पनि देखा परेका छन् । त्यसैले Health At Every size (HAES) ले सबै किसिमका शारीरिक आकारहरुलाई आत्मसात गरि उत्तिकै आदर गर्न आह्वान गरेको छ।

मोटोपनामा जिनको योगदान स्पष्ट छ जसले भोक, तृप्‍ति, खानाको लालसा, बोसोको वितरण, र तनाब सामना गर्ने क्षमता आदि विभिन्न रुपमा असर गरिरहेको हुन्छ। मोटा मानिसहरुको खुट्टामा बसेर हेर्ने हो भने उनीहरुको आफ्नै ठूलो लडाईं छ जसमा अवहेलना होइन सहयोगको आवश्यकता छ। खानाको प्रतिबन्धले गर्दा दु:खी र अतृप्त अवस्थामा उनीहरु अनियन्त्रित, भावनात्मक, अनि रात्री खुवाइको जालमा सजिलै फस्दछन्। वजन कम गर्ने आहार र अनियमित उपवासको अबलम्बन गरेको खण्डमा उनीहरुलाई पौष्टिक तत्त्वकाे कमी हुन सक्छ। डा. स्कट कहान का अनुसार मोटोपनालाई जीवनभरको ब्यवस्थापनको आवश्यकता हुन्छ । त्यसैले छिटो नियन्त्रण गर्न खोज्दा यसले उल्टै ठूलो समस्या ल्याउन सक्छ।

हालै देखिएका अस्वस्थ खाना खाने प्रवृती, व्यापारिकरण गरिएको खाना, र असिन जीवनशैलीले उत्पन्न समस्यामा मोटाहरु मात्रै नभइ हामी सबै अल्झिरहेका छौं। ब्यायामको कुरा गर्दा, सामान्य मानिसहरुलाई समेत यो गाह्राे कुरा हो भने मोटा मानिसहरुका लागि त यो पीडादायी नै हुन्छ। जनमानसले यसलाई अल्छि गरेको ठान्न सक्छन्। उनीहरुको शारीरिक तनाब: बढ्दो रक्तचाप, थकित शरीर, र तनाबग्रस्त जोर्निहरुले गर्दा साधारण हिडाई पनि काम बन्न जान्छ भने दाैडदा र ब्यायाम गर्दा चोट लाग्ने जोखिम पनि बढ्छ। उनीहरुको संघर्षमा सक्रियरूपमा साथ दिन नसके पनि उनीहरुको अवस्थाप्रति संवेदनशील हुनु पनि उनीहरुलाई सहयोग गरे बराबर  हो।

शारीरिक बनावट ठूलो हुनुलाई पनि मोटोपनाको संज्ञा दिइन्छ। फेरि मोटोपना हुँदाहुँदै पनि कतिपय मानिसहरु दुब्ला-पातलका तुलनामा शारीरिक रुपमा सकृय र स्वस्थ पनि देखिन्छन्। तर पनि उनीहरुको मोटोपनाले गर्दा हुने रोगहरुप्रति सामान्य मानिसहरु भन्दा बढी जोखिममा हुन्छन्। त्यसैले मोटो मानिसहरुलाई औ‌ँल्याउनु वा निन्दा गर्नु अघि के दुब्लो-पातलो हुने बित्तिकै हामी सबै स्वास्थ्य समस्याहरुबाट मुक्त भएका छौं त भन्ने कुराको मनन् गर्नु जरुरी देखिन्छ। उदाहरणका लागि साधारण चस्मा लगाउनु पर्ने पनि एउटा स्वास्थ्य समस्या हो तर यो मोटोपना जस्तो तिरस्कृत मानिँदैन। त्यसैले “चस्मा लगाउनु परेछ नि” भन्दा “मोटाएछ त” भन्दा धेरै असर पर्न सक्छ। यस्तो सम्बेदनशील कुरालाई मनन गर्नु निकै जरुरी छ। त्यसैगरी दुब्लो-पातलो बन्ने क्रममा हामीले यसको स्वास्थ्यमा पर्न सक्ने लामो अवधिको असरलाई मूल्याङ्कन गरेका पनि छैनौं ।

सारांसमा भन्नु पर्दा मोटोपनाको महामारी विरुद्ध लड्न खाना व्यापारिकरणलाई हतोत्साह गरि स्वस्थवर्दक खाना जनताहरुको थालमा ल्याउन सरकारी स्तरको प्रयास निकै आवश्यक देखिन्छ। वजन कम गर्ने अनावश्यक प्रचार रोक्नको लागि पनि सरकारको हात महत्वपूर्ण छ। त्यसैगरि बच्चाहरुलाई मोटोपनाको भूँमरीबाट बचाउन पारिवारिक समर्थन र शिक्षाको निकै आवश्यक छ। आफ्नो बच्चाहरुलाई मोटो भयो भनेर गाली गर्नुको सट्टामा आफू पनि शारीरिक कृयाकलापमा सरिक हुन सके उनीहरुलाई त्यसले प्रोत्साहन गर्छ। त्यस्तो सहयोगबाट बच्चाहरुले कमसेकम समाजमा ब्याप्त अवहेलनाको डटेर सामना गर्न सक्छन्। यस बाहेक मोटोपनालाई अरु नसर्ने रोगहरुलाई जस्तै सकारात्मक नजरले हेरि यस प्रतिको विभेद रोक्नु पर्छ।

(लेखकले अमेरिकाको केश वेष्टर्न रिजर्भ विश्वविद्यालयबाट सन् २००८ मा पिएचडी गरेका हुन् । हाल उनी सोही विश्वविद्यालयमा कम्प्युटेसनल बैज्ञानिक र सहायक प्राध्यापकको रुपमा कार्यरत छन् ।)

Logo