आज ४ जना कोरोना संक्रमितको मृत्यु , कुन ठाउँमा कति ?

आज ४ जना कोरोना संक्रमितको मृत्यु , कुन ठाउँमा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज देशका विभिन्न जिल्लामा ४ जना संक्रमितको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार भक्तपुर, धरान, चितवन र दमकका गरि ४ जनाको मृत्यु भएको हो ।

मध्यपुरथिमि–१ लोकन्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ ।

पाँच दिन अघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो । यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन् ।

दमककी एक महिलाको मृत्यु

झापाको दमक नगरपालिका–७ की एक वृद्धा महिलाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया महिलाको मृत्यु भएको हो । केही दिन अघि ज्वरोसँगै रुघाखोकी लागेपछि उनलाई पाँच दिनदेखि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचार केन्द्रको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए । यसअघि दमक–१ का एक ५८ वर्षीय सङ्क्रमित पुरुषको पनि काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको थियो । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

भरतपुरमा एक पुरुषको मृत्यु

चितवनमा कोरोनाको सङ्क्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–१५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान १०ः४४ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिइन् । यससँगै चितवनका २३ जनाको कारोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

धरानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिए ।

उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

Logo