काठमाडौं ।
विगत ८ महिना अगाडि चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ देखि करिव चार महिना लामो लकडाउन गरियो । अस्तव्यस्त अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारले गत साउन ६ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गर्यो ।
यसरी सरकारले लकडाउन अन्त्य गरेसँगै उपत्यका लगायत देशभर मानिसहरूको जीवन सामान्य अवस्थामा फर्किन थाल्यो । विभिन्न उद्योग व्यवसाय पनि सञ्चालनमा आए । उद्योग व्यापार व्यवसाय सञ्चालनमा आउन थालेसँगै लकडाउनमा गाउँ गएका मानिसहरू उपत्यका भित्रिए । लकडाउन अन्त्यसँगै बढ्दो चहलपहलले उपत्यकासहित देशभर पुनः कोरोना संक्रमण ह्वातै बढ्दै गएको छ ।
संक्रमण कम गर्न निषेधाज्ञा लागू गरिएको भएपनि निषेधाज्ञा लागू भएको दिनदेखि अभैm संक्रमण तथा मुत्यु समेत बढ्दै गएको थियो । सरकारले लकडाउन अन्त्य गरेको दिन साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो भने त्यो अवधिमा मुत्यु हुने जम्मा ४० जना मात्रै रहेका थिए । तर लकडाउन अन्त्य भए देखि संक्रमण र मृत्यु हुनेको संख्या निकै नै बढेको छ । शुक्रबार काठमाडौं उपत्यका सहित देशभरी अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ गरी देशभरी २ हजार ७ सय २२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ । १४ हजार ७ सय ३९ पीसीआर परीक्षण भएकोमा ९ सय ६५ महिला र १७ सय ५७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज काठमाडौंमा १ हजार २ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २१ हजार ६ सय ७३, ललितपुरमा २ हजार ६ सय ८७ र भक्तपुरमा २ हजार ३ सय ८१ संक्रमित पुगेका छन् । अब काठमाडौं उपत्यकामा मात्रै संक्रमितको संख्या २६ हजार ७ सय ४१ पुगेको छ । कोरोनाबाट देशभर निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । यसरी देशका ७७ जिल्लामध्ये अहिलेसम्म सबैभन्दा बढि संक्रमितको सङ्ख्या काठमाडौं जिल्लामा रहेको छ ।





























प्रतिक्रिया