१९ मंसिर २०७८ आइतबार

आँखा शिविरबाट ७ सयले लिए सेवा

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ र पाँचथरको यासोकमा सञ्चालन भएको शल्यक्रियासहितको निःशुल्क आँखा शिविरबाट करिब ७ सय जनाले स्वास्थ्यलाभ गरेका छन्।

शिविरमा ८८ जनाको मोतियाबिन्दुको र ६ जनाको साधारण शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघले जनाएको छ। ६१२ जनाले आँखाको परीक्षण तथा उपचार गराएका थिए भने निःशुल्क औषधि र न्यूनतम् शुल्कमा चश्मासमेत वितरण गरिएको नेपाल नेत्र ज्योति संघद्वारा ताप्लेजुङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए।

पाँचथरको कुम्मायक गाउँपालिका, नेत्रज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेसन काठमाडौंको आयोजनामा यासोक बजारमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरमा २८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजी थेबेकाअनुसार २८८ जनाले आँखाको परीक्षण तथा उपचार गराए।

कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा पालिका केन्द्र यासोक बजारमा नेपाल नेत्र ज्योति संघले आँखा उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ।

यता ताप्लेजुङको फुङ्लिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। ६ जनाको साधारण शल्यकृया गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङले जानकारी दिए। ३२४ जनाले आँखाको परीक्षण तथा उपचार गराएको समेत उनले बताए।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा सेवा फाउण्डेसन काठमाडाैंको आयोजना तथा फुङ्लिङ स्थित सानिमा बैंकको सहयोगमा आँखा शिविर सञ्चालन गरेको थियो। नेत्र ज्योति संघद्वारा सञ्चालित इटहरी आँखा अस्पतालका डाक्टर अंकिता शर्माको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिक टोलीले फुङ्लिङ र यासोक दुबै क्षेत्रका आँखा शिविरमा शल्यक्रिया, परीक्षण तथा उपचार गरेको नेत्र ज्योति संघ ताप्लेजुङका सभापति मुक्तिराज पौडेलले जानकारी दिए।

स्वास्थ्य

प्रकाशित: ५ मंसिर २०७८ १६:१२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी