सिटामोल अभाव नरहेको स्वास्थ्य कार्यालय लमजुङको दाबी

सिटामोल अभाव नरहेको स्वास्थ्य कार्यालय लमजुङको दाबी

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य कार्यालय लमजुङले लमजुङका स्वास्थ्य संस्थामा सिटामोलको अभाव नभएको जनाएको छ ।

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले सरकारी स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा सिटामोल रहेको जानकारी दिए । उनले भने, ‘स्वास्थ्य कार्यालय लमजुङ, जिल्ला अस्पताल लमजुङ, चार नगरपालिका र चार गाउँपालिकाका स्वास्थ्य शाखाको स्टोरमा पर्याप्त सिटामोल छ ।’

जिल्लाभर ५०० एमजीको ६ लाख ९९ हजार ५ सय १० ट्याब्लेट सिटामोल मौज्दात रहेको उनले बताए । देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, लमजुङमा अभाव नभएको स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले दाबी गरे । कार्यालयका अनुसार स्वास्थ्य कार्यालयमै एक लाख ७३ हजार ट्याब्लेट स्टक छ ।

जिल्ला अस्पतालमा तीन लाख, बेंसीशहर नगरपालिका स्वास्थ्य शाखामा १० हजार, सुन्दर बजार नगरपालिका स्वास्थ्य शाखामा ३४ हजार दुई सय १०, राइनास नगरपालिका स्वास्थ्य शाखामा ६७ हजार आठ सय, मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखामा २५ हजार पाँच सय ट्याब्लेट बाँकी छ ।

मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखामा ४१ हजार, दोर्दी गाउँपालिका स्वास्थ्य शाखामा ११ हजार, क्व्होलासोंथर गाउँपालिका स्वास्थ्य शाखामा २७ हजार र दूधपोखरी गाउँपालिका स्वास्थ्य शाखाको स्टोरमा १० हजार ट्याब्लेट सिटामोल रहेको कार्यालयले जनाएको छ । यस्तै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर आठ हजार एक सय १४ एन्टिजेन किट रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीन हजार एक सय ५१ पीपीई सेट रहेको जनाएको छ ।

Skip This
Skip This
Logo