किन बढ्दैछ थाइराइड समस्या ?, यस्ता छन् लक्षण र बच्ने उपाय (भिडियाे)

किन बढ्दैछ थाइराइड समस्या ?, यस्ता छन् लक्षण र बच्ने उपाय (भिडियाे)


पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढीरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा थाइराइडको समस्या देखिन थालेको हो। 

विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन् । त्यसैले पनि कुनै न कुनै थाइराइडबाट कोही पनि मानिस अछुतो रहन सकेका छैनन् भन्छन्, थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेल । उनका अनुसार सबैभन्दा कमन थाइराइड भनेको हाइपो थाइराइडिजम हो । यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्नसक्ने विज्ञहरुको भनाइ छ। 

अल्का अस्पताल जावलाखेलमा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञको रुपमा कार्यरत डा. पोखरेलले मोटोउने खालको थाइराइड नै हाइपो थाइराइड भएको र यो सबैमा देखिन सक्ने भएकोले यसको बेलैमा उपचार गर्न  सुझाव दिए । समयमा उपचार पाए निको हुने सम्भावना रहेको उनले बताए । थाइराइडका कारण कपाल झर्ने, आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने, थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने गर्छ । यस्तै तौल बढ्दै जाने, प्रेसर बढ्ने, कोलस्टोर बढ्ने, मुटुको धड्कन कम हुने, महिलाहरुमा महिनावारी गडबढी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, गर्भावस्थामा थाइराइड नियन्त्रण गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने लगायतका समस्या हुने पनि डा. पोखरेलको भनाइ छ । 

त्यस्तै बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुन सक्छ । उनले भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकोले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराइरहन सुझाव दिएका छन् ।

पछिल्लो समय नेपालमा थाइराइडका कारण सुस्तमनस्थितिको बच्चा जन्मिने कुरामा भने कमी आएको छ । पछिल्लो समय नेपालमा आयोडिनयुक्त नुन खाने बानीले पनि यसमा कमी आएको हो । विशेषज्ञ डा. पोखरेलका अनुसार नेपालमा आयोडिनको मात्रा पनि बढी भइसकेको छ । उनले अन्य देशमा आयोडिनको मात्रा कम गर्दै लगिएको र नेपालमा पनि आयोडिनको मात्रा कम नगर्ने हो भने पुनः यसले मानव स्वास्थ्यमा असर पुर्याउने बताए । बच्चामा थाइराइड देखियो भने त्यसले बच्चाको वृद्धिविकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य कुरामा पनि असर गर्ने उनको भनाइ छ । डा. पोखरेलले नेपालमा बच्चा जन्मिने बित्तिकै थाइराइड परीक्षण गराउने पद्धतिको विकास केही अस्पतालहरुमा सुरु भइसकेको र यो पद्धती सबै अस्पतालमा हुन आवश्यक रहेको बताए ।

डा. पोखरेलका अनुसार आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ । आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिकरुपमा मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको बताए । नेपालमा पहिलाको यातायातको आवतजावत र देशका कुनाकुनामा पुग्ने सवारी साधनको समयसीमाको आधारमा बढी आयोडिन राखेर पठाइएको भएपनि अहिले भने समयमै सवारीसाधनहरु पुग्ने भएकोले आयोडिनको मात्रा कम गरेर लैजानु पर्ने उनको भनाइ छ । उनले थाइराइडका साधारण बिरामीले सामान्य जीवनशैली बिताउने, बालबालिकाहरुलाई धेरै नुन खान नदिने र थाइराइडको लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउन आग्रह गरे ।

 

थाइराइड समस्या बढ्दै

थाइराइड समस्या बढ्दै

Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, April 4, 2022

Logo