ललितपुरमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

ललितपुरमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै


स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

उनले भने, ‘खोप अभियानका लागि हामीले पाएको बजेट ५७ हजार हो । यो बजेट सबै खर्च हुन पनि सक्छ । नहुन पनि सक्छ ।’ सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम अनुसार ललितपुरमा पनि यो खोप अभियान सुरु गर्न लागेको हो ।

स्वास्थ्य कार्यालय प्रमुख विष्टका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म र कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।

उनका अनुसार वालवालिकाहरुलाई खोप दिनका लागि अभिभावक उपस्थित हुनु पर्ने वा लिखित सहमती आवश्यक पर्ने बताए । धेरै बालबालिका विद्यार्थी रहेकाले विद्यालयहरुमा खोप केन्द्र सञ्चालन हुनेछन् ।

विद्यालय नजाने सम्भावित ठाउँमा पालिकाहरुको समन्वयमा छुट्टै खोप केन्द्र समेत सञ्चालन गरिने विष्टले बताए । उनले भने, ‘इटाभट्टा र गलैँचा, कपडा कारखानालगायत विभिन्न ठाउँबाट आएर श्रम गरिरहेका ठाउँलाई लक्षित गरेर खोप अभियान सञ्चालन हुनेछ ।’

देशभर ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्यका साथ सुरु हुने अभियानमा ललितपुरमा भने १ लाख ३१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको विष्टले बताए । उनले भने, हामी ९५ प्रतिशतलाई खोप दिन्छौं ।

अभियानका लागि जिल्लामा २ सय ४० जना स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइएको छ  भने विद्यालयका शिक्षिकालाई समेत खोप अभियानमा समावेश गरिने कार्यक्रम छ । विष्टले खोप लगाएपछि साइड इफेक्ट समेत हुनसक्ने अवस्थालाई मध्येनजर गरेर स्वास्थ्यकर्मीको छुट्टै व्यवस्था गरिएको छ ।

जिल्ला स्तरीय खोप समन्वय समितिका सदस्यसचिव पार्थमणि न्यौपानेले यसअघि पाटन अस्पतालमा यो खोप लगाइसकेकाले खोप लगाउनु नपर्ने बताए । उनले भने, ‘अन्य ठाँउबाट लागाएको भएचाहीँ अनिवार्य लगाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनले टाइफाइडविरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगका लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान शुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो देश रहेको उनले बताए ।

Logo