टोखामा कोरोना सङ्क्रमितको संख्या ३१८ पुग्यो

टोखामा कोरोना सङ्क्रमितको संख्या ३१८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३१८ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कुल सङ्ख्या ३१८ पुगेको हो ।

जसमध्ये सबैभन्दा थोरै वडा नं २ मा एक र सबैभन्दा धेरै वडा नं ७ मा ४५ सङ्क्रमित भेटिएका छन् । यस्तै, वडा नं १ मा चार, वडा नं २ मा एक, वडा नं ३ मा २१, वडा नं ४ मा २९, वडा नं ५ मा ४३, वडा नं ६ मा ३२, वडा नं ७ मा ४५, वडा नं ८ मा २४, वडा नं ९ मा १६, वडा नं १० मा २९ र वडा नं ११ मा ३० सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमितमध्ये १५२ जना निको भएर घर फर्किसकेको, १०४ जना होम आइसोलेसन र ५६ विरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। तीनजना अहिलेसम्म सम्पर्कविहिन छन् । टोखा नगरपालिकाले कोरोना सङ्क्रमित विरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शैयाको आइसोलेसन सेन्टर स्थापना गरेर विरामीको उपचार गराउँदै आएको छ ।

नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए।

यस्तै, टोखाले नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएपछि भदौ २१ देखि २६ सम्म नगरपालिका कार्यालय बन्द गरेको छ । नगरपालिका कार्यालय बन्द रहेपनि कोरोना सङ्क्रमणको रोकथाम र उपचारका कुनैपनि काम नरोकिने नगरप्रमुख अधिकारीले बताए ।

नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले आजदेखि प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गर्न लागेको जनाएको छ । टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका विरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ । नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको संख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर विरामीको उपचार गरिने बताए।

Logo