अमेरिकाबाट आयो २२ लाख डोज खोप, ५ देखि ११ वर्षका बालबालिकामा लगाइने

अमेरिकाबाट आयो २२ लाख डोज खोप, ५ देखि ११ वर्षका बालबालिकामा लगाइने


अमेरिकाबाट आयो २२ लाख डोज खोप नेपाल आएको छ । नेपालका पाँचदेखि एघार वर्षमुनिका सबै बालबालिकालाई सरकारले कोभिड–१९ विरुद्धको खोप दिने भएको छ। त्यसका लागि आइतबार अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बालबालिकालाई वितरणका लागि आइतबारै सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप पठाइ सकिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ‘५(११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार र जोन्सन एन्ड जोन्सनका १५ लाख मात्रामा थपिने’ जानकारी दिएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाइने छ। 
काठमाडौं उपत्यकासहित काभ्रेका लागि ३ लाख ३१ हजार २ सय, बागमती प्रदेशको चितवन, मकवानपुर र सिन्धुलीका लागि १ लाख ४२ हजार ४ सय, प्रदेश १ को झापा, मोरङ, सुनसरी र इलामका लागि ४ लाख ८ हजार, मधेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका लागि ५ लाख ४२ हजार ४ सय डोज खोप हिजै सम्बन्धित जिल्लामा पठाइएको विभागले जनाएको छ।

त्यसैगरी गण्डकीको कास्की र नवलपरासी पूर्वका लागि १ लाख ८ सय, लुम्बिनीको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दियाका लागि ३ लाख ९८ हजार ४ सय, कर्णालीको सुर्खेतका लागि ५२ हजार ८ सय र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुराका लागि १ लाख ८७ हजार २ सय डोज पठाइएको छ।

Logo