उपनिर्वाचन: रास्वपाको हरिबिजोग, ओलीसँग हातेमालो गर्न माधव नेपाल तयार[भिडियोसहित]

उपनिर्वाचन: रास्वपाको हरिबिजोग, ओलीसँग हातेमालो गर्न माधव नेपाल तयार[भिडियोसहित]

केन्द्रबिन्दु
56
Shares

उपनिर्वाचन: बझाङमा एमालेका भण्डारी निर्वाचित
बझाङ-१ प्रदेशसभा (क)मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार भण्डारीले ११ हजार ६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याएका हुन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मतका साथ तेस्रो रहे। कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो। तर, साविकको प्रदेशसभा सदस्य पद कांग्रेसले जोगाउन सकेन।

एमालेसँग नयाँ रुपमा हातेमालो गर्न अध्यक्ष नेपालको आह्वान
काठमाडौंमा आयोजित एक कार्यक्रममा सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो ध्यान कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनेतर्फ रहेको भन्दै पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रुपमा हातेमालो गर्न आह्वान गरेका छन्। साथै नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गर्दै उनले भने, ‘पोल्ने मान्छेहरु पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ।’

उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको दाबी
एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको देखाएको टिप्पणी गरेका छन्। इलाम र बझाङमा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भएपछि उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘दुई दिन अघि मात्र एक जना सगोत्री नेता म सँग कार्यक्रम स्थलमै आगो भा थिए। आखिर इलाम र बझाङले त त्यही कुरा बतायो नि। तथ्य मनोगत आग्रहको बन्दी हुँदैन है।’ बझाङमा एमालेका दमन भण्डारी विजयी भइसकेका छन् भने इलाममा पनि एमालेकै उम्मेदवार सुवाङ नेम्वाङ जिततर्फ अग्रसर छन्।

जसपाको महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित
जसपाको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पार्टीको तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत संघ संगठनबाट प्रतिनिधि निर्वाचन गर्ने निर्देशिका पारित गरेको हो। निर्देशिकाले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित गर्दा कम्तीमा एक तिहाई महिलासहित विविधता प्रतिविम्बित हुने गरी विभिन्न जातीय रसामाजिक समूहबाट समावेशी हुनेगरी निर्वाचन गर्ने प्रावधान राखेको छ।

२ वटा विमानको सफल उडान हुन सकेन
नेपाली आकाश असुरक्षित छ भन्ने चर्चा कै बिच सोमबार काठमाडौंबाट उडेको र अर्को उड्ने तयारीमा रहेको २ वटा विमानको सफल उडान हुन सकेन। काठमाडौंबाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि उड्ने तयारी गरेको जहाज पुनः पार्किङ वेमा फर्काउनु परेको छ। साथै आज नै काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ। विमानस्थलका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ।

तातो हावाको लहर अझै बढ्ने
विगत केही दिनदेखि देशका अधिकांश भू-भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ। लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन्।

कृषि ज्ञान केन्द्र गोरखाका प्रमुखविरुद्ध आयोगको भ्रष्टाचार मुद्दा
कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ। कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख भएको बेला स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाको भवन बनाउन निर्देशनालयबाट दिइने अनुदानमा हिनामिना गरेको आरोप उनी माथि रहेको छ। जसमा जग्गा यकिन नगरी नक्सा पासबिनै सहकारीसँग २८ लाख ३७ हजार २१७ रुपैयाँ अनुदान सम्झौता गरेको आयोगले जनाएको छ।

उद्योग वाणिज्य मन्त्री भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरे
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेका छन्। उद्योग मन्त्रालयले लगानी सम्मेलनको अवसरमा उद्योग विभागमा आएका प्रस्तावलाई स्वीकृत गरेको हो। मन्त्री भण्डारीले लगानी स्वीकृत भएको प्रमाणपत्र लगानी कर्तालाई दिएका छन्। स्वीकृत भएका मध्ये चिनियाँ कम्पनीले इन्भेष्टमेन्ट कम्पनीमार्फत यो लगानी गर्ने प्रतिबद्धता जनाएको हो। त्यसमा ६ अर्बको लगानी प्रस्ताव गरिएको छ।

नेप्से शून्य दशमलव सात प्रतिशतले बढ्यो
शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढेर एक हजार नौ सय ८० दशमलव ३४ विन्दुमा पुगेको छ। आज फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेकोमा होटल, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन, अन्य र व्यापार समूहको शेयर भने घटेको छ। आज तीन सय १७ वटा कम्पनीको ७३ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै पोखरा फाइनान्सको १७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजराइली प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन वार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुबीच उत्तरी गाजा क्षेत्रमा मानवीय सहायतामा वृद्धि गर्ने उद्देश्यले थप क्रसिङ खोल्ने इजराइली अभिप्रायबारे टेलिफोन वार्ता भएको छ। सहायताका लागि उत्तरी गाजामा प्रवेश गर्न अनुमति दिन कर्नी र इरेज क्रसिङहरू इजरायलले गेट ९६ सँगसँगै पूर्णरूपमा खोल्ने तयारी गरेको छ। सम्भावित अनिकाल र डरका बीच गाजामा सहायताको निरन्तर आगमन सुनिश्चित गर्न थप क्रसिङ खोल्न आवश्यक छ। इजरायलले रफाहमा महत्त्वपूर्ण आक्रमणका साथ अगाडि बढेमा यसले विद्यमान मानवीय केन्द्रलाई गाजाको बाँकी भागबाट अलग गर्न सक्ने द टाइम्स अफ इजराइलले रिपोर्ट गरेको छ।

नेपाली राष्ट्रिय फुटबल टिमले इंगल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्न
नेपाली राष्ट्रिय फुटबल टोलीले इंगल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ। टोलीले सोमबार भद्रकालीस्थित नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो। वैशाख २४ गते इंगल्यान्डमा खेल हुने तालिका छ। खेलका लागि एन्फाले एक साता अघिदेखिमात्रै तयारी थालेको थियो। टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २८ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।

Logo