कोरोना नयाँ भेरियन्टले ठूलो जनसंख्या जोखिममा छ : डा. अनूप सुवेदी

कोरोना नयाँ भेरियन्टले ठूलो जनसंख्या जोखिममा छ : डा. अनूप सुवेदी


डा. अनूप सुवेदी ह्याम्स अस्पताल, धुम्बाराहीका संक्रामक रोग तथा इन्टरनल मेडिसिन विशेषज्ञ हुन् । मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभावबारे सोसल मिडिया तथा विभिन्न सञ्चार माध्यममा लेख र अन्तर्वार्तामार्फत् चेतनामूलक सामग्री सार्वजनिक गर्दै आएका छन् ।

कोरोनाको नयाँ भेरियन्ट अलि संक्रामक भएकोले ठूलो हिस्सा फेरि जोखिममा पर्ने सम्भावना रहेको उनको भनाइ छ । युके, ब्राजिलियन र अफ्रिकन भेरियन्टले पार्ने असर, खोपको प्रभावकारिता र अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे केन्द्रबिन्दुकर्मी मनोज न्यौपानेसृर्जना राईले डा. सुवेदीसँग गरेको कुराकानीको सम्पादित अंश :-

कोरोना भाइरसको नयाँ भेरियन्टले अलिकति कठिन अवस्था आउनसक्ने स्थिति देखिएको छ, जनस्वास्थ्यको हिसाबले चाहिँ अहिलेको परिदृश्य कस्तो छ ? 

यसमा राम्रा र नराम्रा दुवै पक्ष छन् । कोरोनाको दोस्रो लहर आइसकेको छ । पहिलेको भेरियन्टले धेरै जनालाई संक्रमित गरिसकेको र संक्रमण ओरालो लाग्दै गरेको अवस्थामा फेरि कोरोनाको नयाँ भेरियन्ट देखिएको छ ।

 नयाँ भेरियन्ट बढी संक्रामक भएकाले पहिले संक्रमित नभएको समुदायको ठूलो हिस्सा फेरि जोखिममा पर्ने सम्भावना छ । यदि युके भेरियन्ट मात्र हो भने पहिले संक्रमण भइसकेका व्यक्ति पुनः संक्रमण हुने सम्भावना कम हुन्छ । यसविरुद्घ हामीले लगाएको कोरोनाविरुद्धको एक डोज खोपले पनि काम गर्छ । त्यसैले पहिलेको जस्तो शतप्रतिशत जनता जोखिममा हुँदैनन् । 

यस्तै, यसपालि लकडाउन भएको छैन । अन्तर्राष्ट्रिय आवागमन भइरहेको छ, जसका कारण सामान ल्याउन सहज छ । पिसिआर मेसिन, किटहरु ल्याउन पहिलेको जस्तो समस्या छैन । 
अन्तर्राष्ट्रिय बजारको प्रतिस्पर्धाका कारण सामानको मूल्य पनि सस्तो भएको छ ।  पिसिआर परिक्षण पनि सस्तो भएको छ । अहिले दैनिक २० देखि २२ हजार परीक्षण गर्नसक्ने हाम्रो क्षमता बनेको छ । 

यसैबीच, स्वास्थ्यकर्मीको पनि आफ्नै किसिमको अनुभव बनिसकेको छ । त्यसमा पनि कतिपय संक्रमित भइसके भने कतिले खोप लगाइसकेका छन् त्यसले पनि केही मात्रामा सुरक्षा दिन्छ ।

तर, जो संक्रमित हुन्छ त्यो सिकिस्त हुने बढी सम्भावना हुन्छ । यूके भेरिएन्ट आफैमा मृत्युदर केही मात्रामा बढी छ । 

पछिल्लो समय उपत्यकामा बढेको वायु प्रदूषणले कोरोना संक्रमितलाई कस्तो असर पुर्‍याउन सक्छ ?

पछिल्लो समय उपत्यकामा वायु प्रदूषण एक्कासि बढेको छ, जसका कारण फोक्सोको स्वास्थ्य, श्वासप्रश्वास प्रणाली त्यसै पनि राम्रो हुँदैन । फोक्सोसँग सम्बन्धित दीर्घरोगीलाई  झनै समस्या भइरहेको हुन्छ । 

यस्तो अवस्थामा फेरि कोरोना संक्रमण भयो भने निको पार्न गाह्रो हुन्छ । अघिल्लो कोरोना लहरमा लकडाउनले वातावरण स्वच्छ भएको थियो । दीर्घरोगीहरूको फोक्सोमा धेरै सुधार भएको थियो । जसले गर्दा संक्रमण थेक्न सजिलो भएको थियो । तर, यस वर्ष रोगप्रतिरोधी ब्याक्टेरिया असाध्यै बढेका छन् ।

कोरोना पोजेटिभ आउनेबित्तिकै हामीले अनावश्यक एन्टिबायोटिक प्रशस्त खायौं । यसले समुदायमा एन्टिबायोटिक रेजिस्टेन्टको भार पर्छ र एन्टिबायोटिकले नछुने कीटाणु बढ्छन् । 
यसरी भाइरसको निमोनियासँग लडिरहेका बेला केही बिरामीलाई फेरि ब्याक्टेरियाको निमोनिया हुनसक्छ, त्यस्तो अवस्थामा सिकिस्त हुने सम्भावना हुन्छ । अहिले धेरै यस्ता घटना भइरहेका छन् । हामीसँग बिरामीलाई उपचार गर्ने पर्याप्त मात्रामा सही किसिमको एन्टिबायोटिक पनि छैन, जसले गर्दा जटिल अवस्था हुन सक्छ । 

नेपालमा कोरोनाको युके भेरिएन्ट देखिएको छ, यो के हो ? 

भाइरस परिवर्तनशील हुन्छ, यसलाई प्रकृतिले प्रयोग गरिरहेको हुन्छ । भाइरसको वंशाणु जीनमा केही परिवर्तन भइरहेका हुन्छन् । यसरी परिवर्तन हुँदा कहिलेकाही भाइरस कमजोर भएर हराएर जान्छ ।

तर, कुनै परिवर्तनले भाइरसलाई बलियो बनाउँछ । जस्तैः एक जनाबाट अर्कोमा सजिलै फैलिने, बिरामीलाई गम्भीर बनाउने अथवा कुनै कारणले त्यस्तो भाइरस बलियो भई एन्टिभाइरलले काम नगर्ने हुन्छ । 

यस्तै परिवर्तनले भाइरसलाई बलियो बनायो भने प्रकृतिमा अझै बढिरहने र धेरै ठाउँमा रहनसक्ने हुन्छ, यसो हुँदा भाइरस हाम्रा लागि खतरनाक हुन सक्छ । 

पहिलेको भाइरस पूरै नहराए पनि थुप्रै संक्रमित निको भइसकेका थिए । विश्वव्यापी रुपमा अनियन्त्रित महामारी भइरहँदा प्रकृतिले प्रयोग गर्ने धेरै ठाउँ पाउँछ र, विश्वका विभिन्न भागमा नयाँ–नयाँ विशेषता भएका भाइरस उत्पन्न हुन थाल्छन् । तीमध्ये बलियो खालका भाइरस विश्वभरि फैलिन थालेका छन् । 

अहिले विश्वव्यापी रुपमा फैलिरहेको छ युके भेरियन्ट । यो सबैभन्दा पहिले बेलायतमा पत्ता लागेको थियो । यो भाइरस पहिलेको भन्दा धेरै संक्रामक हुनुका साथै मृत्युदर पनि धेरै रहेको छ । 

भाइरस संक्रामक हुनेबित्तिकै त्यसले धेरैलाई संक्रमित गराउँछ । पुरानो भेरियन्टले सयजनालाई संक्रमित गराउथ्यो भने यसले निश्चित समयपछि २ देखि ५ सय जनालाई संक्रमित गराउँछ । तर, पहिले संक्रमित भइसकेकालाई यसले संक्रमण गर्न सक्दैन ।

नेपालमा युके भेरियन्ट होला कि भन्ने अनुमान हो । तीन महिनाअघि केही व्यक्तिमा परीक्षण गरेर हेर्दा युके भेरियन्ट पुष्टि भएको छ । विश्वव्यापी रुपमा पनि युके भेरियन्ट नै बढी फैलिरहेकाले त्यही भाइरस हो कि भन्ने आशंका हो । भारतमा अरु नयाँ भेरियन्ट आइरहेका छन् भन्ने छ । महामारी नियन्त्रण गर्न नसकेका स्थानमा फेरि नयाँ भेरियन्ट जतिबेला पनि उत्पन्न हुन सक्छन् । 

अफ्रिकन र ब्राजिलियन भेरियन्ट पनि चर्चामा छन् नि, नेपालमा चाहिँ यी भेरियन्टको स्थिति के छ ?

त्यसको बारेमा अहिलेसम्म परीक्षण भएको छैन । आइसकेको पनि हुन सक्छ । यदि ती भेरियन्ट आए भने अलि बढी डराउनुपर्ने हुन्छ किनभने हामीले यसअघि लगाएको अस्ट्राजेनेका भ्याक्सिनले दक्षिण अफ्रिकी भेरियन्टलाई काम गर्दैन । ब्राजिलियन भेरियन्टमा काम गर्छ कि गर्दैन भन्ने अध्ययन भएको छैन ।

अरु भेरियन्टहरूको विशेषता भनेको पहिले संक्रमण भइसकेका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ । भनेपछि उनीहरु पनि संक्रमणको जोखिममा छन् । त्यसमा सात प्रतिशत जनसंख्या फेरि जोखिममा पर्न सक्छ । 

नेपालमा खोप लगाएका व्यक्तिहरू पनि फेरि संक्रमित भएको देखिएको छ? खोप लगाएका व्यक्ति पनि त पूर्ण सुरक्षित भएनन् नि ? 

नेपालमा लगाइएको अस्ट्राजेनेका खोपको एक डोज ६० देखि ६५ प्रतिशत प्रभावकारी देखिएको छ । खोप नलगाएको समुदायको तुलनामा खोप लगाएकामा संक्रमण हुने सम्भावना कम हुन्छ । त्यो भनेको शतप्रतिशत सुरक्षित होइन । त्यसैले एक डोज खोप लगाएका व्यक्तिहरु संक्रमण भएको देखिसकेका छौं । अब दुई डोज लगायौं भने त्यसको प्रभावकारीता ८५ प्रतिशत अथवा त्यसभन्दा बढी हुनसक्छ ।

त्यसो गर्दा पनि शतप्रतिशत संक्रमण हुँदै नहुने भन्ने चाहिँ होइन । त्यसैले दुई डोज खोप लगाएका व्यक्तिहरू सिकिस्त अथवा आइसियु भर्ना भएका र मृत्यु भएको अवस्था भने छैन । पुनः संक्रमण भए पनि सिकिस्त हुने सम्भावना न्यून हुन्छ । त्यसैले खोप लगाउनुको धेरै फाइदा छ तर खोप लगाउँदैमा ढुक्क भएर स्वास्थ्य मापदण्ड नअपनाइ हिँड्नु भएन ।

छिमेकी मुलुक भारतमा तीव्र रूपले संक्रमण बढिरहेको अवस्था छ, यसको असर नेपालमा कस्तो देखिएला ? 

नेपालमा संक्रमण कति फैलिएको छ भनेर ठ्याक्कै आँकडा छैन, जुन किसिमको परीक्षण हुनुपर्ने हो, त्यसरी भएको छैन । सिमा नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई लक्षण देखियो भने मात्र परीक्षण गर्ने गरिएको छ ।

उपत्यकामा मात्र धेरै संख्यामा संक्रमण फैलिरहेको छ । संक्रमण फैलिएको समुदायमा पनि कन्ट्याक्ट टे«सिङ गरिएको छैन । कन्ट्याक्ट टे«सिङ गरियो भने अरु धेरै परिक्षण गनुपर्ने मानिस पत्ता लाग्छन्, त्यसपछि परीक्षणको दायरा बढ्छ । भारतमा संक्रमण दर जसरी बढ्दो छ, नेपालमा पनि परीक्षणको दायरा बढायो भने अवस्था लगभग उस्तै हुने देखिन्छ ।

अब यसबाट बच्न हामीले अपनाउनुपर्ने सतर्कता के हो ? 

सिमा नाकाबाट नेपाल आउने सबैलाई क्वारेन्टिनमा राख्नुपर्छ । क्वारेन्टिन बस्ने स्थान व्यवस्थित हुनु आवश्यक छ । क्वारेन्टिन राखिएको ७–१० दिनपछि पिसिआर परीक्षणबाट नकारात्मक आएका व्यक्तिलाई घर पठाउनुपर्छ ।

सकारात्मक रिजल्ट आएका व्यक्तिलाई आइसोलेसनमा राखी उपचार गर्नुपर्छ । उपत्यकाभित्र अथवा जहाँ धेरै संक्रमित भइरहेका छन्, त्यहाँ कन्ट्याक्ट ट्रेसिङ हुनुपर्‍यो । वरिपरिका मानिस पत्ता लगाएर क्वारेन्टिनमा राख्नुका साथै परीक्षण गर्नुपर्छ ताकि उनीहरुबाट अरुमा संक्रमण नसरोस् । 

त्यति गर्दा बल्ल समुदायमा संक्रमणको भार कम गर्न सकिन्छ । संक्रमण एकैचोटी ह्वात्तै बढ्न सक्दैन । त्यस्तै व्यक्तिगत तवरबाट गर्नुपर्ने भनेको मास्क अनिवार्य रूपमा प्रयोग गर्नु सबैभन्दा महत्वपूर्ण छ । बन्द कोठामा सभा नगर्ने, भिडभाड पटक्कै नगर्ने, कोठाभित्र बस्दा झ्यालढोका खुला राख्ने, सामाजिक दूरी कायम गर्ने र साबुनपानीले हात धुनुपर्छ । 

यसका लागि राजनीतिक इच्छाशक्ति हुन आवश्यक छ । परीक्षणको दायरा बढाएर संक्रमण बढ्न नदिने हो भने यसले अर्थतन्त्र चलिरहन्छ र, पछि खर्बौंको क्षति हुन पाउँदैन, लकडान गर्नुपर्दैन । गत वर्ष हामीले जति दुःख पायौं, जति चुनौतीपूर्ण अवस्थामा जे–जे गर्‍यौं, त्योभन्दा धेरै सजिलो तरिकाले अहिले व्यवस्थापन गर्नसक्ने अवस्था छ । 
 

Logo