अमेरिका बस्ने नेपाली वैज्ञानिकको दाबीः यी तीन औषधिले जित्न सकिन्छ कोरोना

अमेरिका बस्ने नेपाली वैज्ञानिकको दाबीः यी तीन औषधिले जित्न सकिन्छ कोरोना


विश्व महामारीको रूपमा रहेको कोभिड–१९ को दोस्रो लहर नेपालमा पनि देखिएसँगै स्थिति भयावह बन्दै गएको छ। यस्तो अवस्थामा सबैको ध्यान यसबाट मुक्त हुन के गर्न सकिन्छ भन्नेमै केन्द्रीत छ। 

हामी कोरोना लाग्दै नलागोस् वा लाग्न नदिन अनेकौं उपायहरू अपनाइरहेका छौं तर, त्यो सबैमा सम्भव भएको देखिँदैन। पछिल्लो समयको तथ्यांक हेर्दा नेपालमा संक्रिय संक्रमितको संख्या झण्डै एक लाखको हाराहारीमा पुगेको छ भने, मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

विश्वमा कोरोना भाइरसविरुद्ध थुप्रै भ्याक्सिन बने पनि संक्रमित ब्यक्तिलाई कुन औषधि प्रयोग गरेर छिटो निको पार्न सकिन्छ भन्ने विषय अहिले पनि कहिँ कतै टुंगो नलागेको बताउँछन्, अमेरिकामा बस्दै आएका सर्जन साइन्टिस्ट संजिव ह्योजु। तर, अस्पतालमा डाक्टरहरूले सम्भावित औषधि चलाइरहेको पाइन्छ र नेपालमा पनि सम्भावित औषधि चलाउने गरिएको छ। यसले संक्रमितको मृत्युदरमा साँच्चै ह्रास ल्यायो वा भाइरस पररास्त गर्न कति प्रतिशत काम गर्याे भन्ने तथ्यांक निकाल्न गाह्रो छ। 

डा.संजिव ह्योजुका अनुसार नेपालमा कोरोना संक्रमितलाई चलाइने औषधिहरूमा, पेरीडक्स, एजिथ्रोमाइसिन/हाइड्रोक्सिक्लोरिक्विन, जिंक आदि रहेका छन्। तर, यी औषधिहरू मध्ये अध्ययन र अनुसन्धानका आधारमा स्कटल्याण्ड सरकारले कोरोना संक्रमितका लागि ‘पेरीडक्स’ औषधि ब्याण्ड गरिदिएको छ भने, युकेको हेल्थ एण्ड रिसर्च सेन्टरले ‘एजिथ्रोमाइसिन, हाइड्रोक्सिक्लोरिक्विन’ प्रतिबन्ध लगाएको विभिन्न जर्नलमा प्रकाशित लेखहरूमा उल्लेख छ। यस्तै ‘जिंक’ले पनि कोभिडविरुद्ध लड्न पर्याप्त काम नगरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको डा. ह्योजु बताउँछन्। 

अब, कोरोना संक्रमितका लागि कुन–कुन औषधि चलाउने त? यो प्रश्न चिकित्सक, अस्पताल वा सरोकारवाला संस्थाहरूमा साझा हुन आउँछ। तर, आफूले एक वर्ष अघि नै गरेको अध्ययन अनुसन्धान र प्राप्त नतिजा अनुसार विशेष तीन औषधीको प्रयोगले कोरोना पररास्त गर्न सकिने डा. ह्योजको दाबी छ। 

‘लोनिड–१००’ अर्थात् ‘क्लोनोडिन’, ‘डेग्जोना’ र ‘फ्लेक्जोन सिटामोल’ले नै कोरोना जित्न सकिने डा. ह्योजु बताउँछन्। ‘यी तीन औषधिलाई विरामीको अवस्था हेरेर चलाउने हो भने विरामीलाई कोरोना जित्न सहज हुनकासाथै नेपालमा देखिएको मृत्युदर पनि घटाउन ठूलो मद्दत पुग्छ,’ डा. ह्योजु भन्छन्, ‘यी नेपालमा सहजै र सस्तो मूल्यमा पाइने औषधिहरू हुन्। त्यसैले नेपालको साधन र स्रोतले पनि भ्याउने भएकाले सम्पूर्ण नेपाली चिकित्सकहरूलाई यसको प्रभावकारितामा आवश्यक ध्यान दिन अनुरोध गर्छु।’ 

डा. ह्योजुले आफूले करिब ९ महिना अघि नै यस बारेमा अध्ययन अनुसन्धान र केही विरामीमा प्रयोग गरेर फाइन्डिङ निकालेको र अन्य देशका अनुसन्धानकर्तारूले पनि यो औषधिको प्रभावकारितालाई औंल्याएको दाबी गरेका छन्। उनले आफ्नो अनुसन्धानको विषयलाई नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी)मा समेत पठाई सकेको तथा सम्बन्धित ब्यक्तिहरूसँग बैठक पनि बसेको बताए। तर, हालसम्म पनि उक्त फाइल अघि नबढ्नु दुःखको पाटो रहेको डा.ह्योजुको गुनासो छ। 

सुरुका ८ वर्ष अमेरिकास्थित हार्वड विश्वविद्यालयमा र हाल युनिभर्सिटी अफ सिकागोमा ब्याक्टेरिया, भाइरस तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताका बारेमा शोध तथा अनुसन्धान गरि पिएचडी गरेका सर्जन साइन्टिस्ट डा. संजिव ह्योजुसँग केन्द्रविन्दुका लागि मनोज न्यौपानेले विशेष संवाद गरेका छन्। र उक्त भर्चुअल संवादमा डा. ह्योजुले १०० जना बढी कोरोना संक्रमितलाई कस्ता औषधिको प्रयोगबाट उपचार गरिएको थियो, त्यसको ‘प्रिजेन्टेसन फाइल’ पनि सँगै प्रस्तुत गरिएको छ।

डा. ह्योजुसँग केन्द्रविन्दुका लागि गरिएको विशेष संवाद (भिडियो)

 

Logo