तेस्रो लहरसँग जुध्न भ्याक्सिनमै सबैको अर्जुनदृष्टि हुनुपर्योः डा. शेरबहादुर पुन (भिडियाे)

तेस्रो लहरसँग जुध्न भ्याक्सिनमै सबैको अर्जुनदृष्टि हुनुपर्योः डा. शेरबहादुर पुन (भिडियाे)


वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन शुक्रराज ट्रपिकल अस्पताल, टेकूमा कार्यरत छन्। नेपालमा कोरोना महामारी सुरु भएदेखि नै उनले यो महामारीसम्बन्धी विभिन्न अनुसन्धान गर्दै आएका छन्।

पछिल्लो समय नेपालमा कोरोना महामारीको अवस्था, भाइरसको बदलिँदो अवस्था, भ्याक्सिनको प्रभावकारिता र अपनाउनुपर्ने सतर्कताबारे केन्द्रबिन्दुका लागि मनोज न्यौपानेसृजना राईले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय नेपालमा देखिएको डेल्टा प्लस भेरियन्ट के हो ? अरु भेरियन्टभन्दा के फरक छ ?

डेल्टा प्लस भेरियन्ट डेल्टा भेरियन्टबाट टुक्रिएर म्युटेट भई बनेको एउटा नयाँ भाइरस हो र, यो डेल्टा प्लस विशेषगरी दोस्रो लहरमा देखिएको छ। यसमा डेल्टा भेरिएन्ट पनि देखिएको छ। तर, यी दुइटामध्ये कुन बढी घातक हो भन्ने कुरा त्यति प्रष्ट छैन। डेल्टा भेरियन्ट आफैंमा भेरियन्टको विविधता हो। यसकोे मतलब अघिल्लो भेरियन्टहरुभन्दा अलिकति कडा छ भन्न खोजिएको हो। 

जसमा अघिल्लो भेरियन्टभन्दा तीब्र रूपमा फैलिने, घातक हुने, परीक्षणलाई चुनौति दिने त्यस्तै रोग प्रतिरोधात्मक क्षमतालाई पनि चुनौती दिने र खोपको प्रभावकारितामा पनि ह्रास ल्याइदिने खालको क्षमता डेटा प्लस भेरियन्टमा छ भनिएकोे छ, तर अझै यसबारे स्पष्ट जानकारी आएको छैन। 

धेरैअगाडि यो एकदमै डरलाग्दो भनिए पनि यसबारे अझै अनुसन्धान आउन बाँकी छ, त्यो नभइकन डेल्टा प्लस साँच्चिकै खतरा हो कि होइन भन्नलाई त्यति सहज छैन। 

नेपालमा  डेल्टा प्लस पुष्टि भइसकेको छ, यसको लक्षण फरक छ या अघिल्लो भेरियन्टजस्तै छ?

साँच्चै भन्नुपर्दा यसबारे अनुसन्धान नै भएको छैन। वास्तवमा जुन पे्रस विज्ञप्ति निकालिएको छ, त्यसमा कुनै उमेर समूह र यसको घातकताबारे केही पनि वर्णन गरिएको छैन। यो भेरियन्ट भारतमा पनि दोस्रो लहरको उत्कर्षमा देखिएको छ र, नेपालमा पनि दोस्रो लहरमै देखिएको छ। 

प्रेस विज्ञप्ति हालै मात्र आएको हुनाले मानिसले यो खतरनाक हो, यसले अर्को लहर ल्याउँछ भनिरहेका छन्। तर, यो दोस्रो लहरमा देखिएको हो। जसका कारण हामीले यसबारे अझै धेरै जानकारी पाउन आवश्यक छ। जानकारीबिना यस्तो खालका हल्ला कताबाट उत्पन्न हुन्छ भन्ने कुरामा म पनि अचम्मित छु। हो, त्यति मात्र भन्न सकिन्छ–त्यो अनुमान मात्र हो। हामीलाई त प्रमाण चाहिएको छ। त्यसकारणले धेरै हतार नगरौं। यसको बारेमा पूर्ण रूपमा अध्ययन आउन दिऊँ। 

नेपालमा अनुसन्धान गर्नका लागि ल्याबहरू उपलब्ध नभएको भनिन्छ, जसका कारण नेपालमा ठ्याक्कै यस्तो भेरियन्ट छ भन्ने तथ्याङ्क निकाल्न कतिको सहज छ? 

पहिलो लहरकै समयमा मैले केही विज्ञहरूसँग नेपालमा भाइरसले कतै रुप परिवर्तन गरेको छ कि छैन भन्ने कुरा गरेको थिए। तर, त्यो बेला अलिक अचम्भित तरिकाले सबैले हेरेका थिए। त्यतिबेलासम्म सायद यो अवस्था परिकल्पना गरिएको थिएन, जुन मैले गरेको थिएँ।  

हुन त धेरैले नसोचेको कुरा गर्दा के कुरा गर्याे भन्ने होला। तर, त्यो बेलामा मैले किन भनेको थिएँ भने यो लक्षणविहीनबाट लक्षणसहितको कोरोना जब आयो, त्यहाँ भाइरसमा परिवर्तन भयो कि भन्ने मेरो अनुमान थियो। 

तर, त्यतिबेला कसैले वास्ता गरेन। त्यसपछि युके भेरियन्टको चर्चा भयो। यो चर्चा भएपछि मात्र के हो यस्तो खालको भन्ने कुराहरु आयो। त्यतिबेलासम्म पिसिआर के हो भन्ने सर्वसाधरणहरुलाई  थाहा थिएन भने अहिले बच्चाहरुले समेत पिसिआरको कुरा गर्छन्। 

त्यो बेलामा मैले भेरियन्टको कुरा गर्दा कसैलाई वास्ता थिएन जुनबेला युके भेरिएन्टले संसारमा तहल्का मच्चायो। त्यो बेलामा नेपालमा पनि युके भेरियन्टको चर्चापरिचर्चा भयो। धेरैको मुखमा भेरियन्टको बारेमा सुनिन थालियो। वास्तवमा भेरियन्ट म्युटेट भएरै बन्ने हो।

मैले त्यतिबेला यस प्रविधिको आवश्यकता महसुस गरेको हो। म्युटेसनहरू, भाइरस कसरी परिवर्तन हुन्छ भन्ने विषयमा मैले लामो समय बिताएको छु। नेपाल सरकारसँग जेन्युन सिक्वेन्सिङ प्रविधि छ÷छैन थाहा भएन। तर, स्थापना गरेर त्यसलाई सञ्चालनमा भने ल्याएको छैन। हामीलाई त्यो आवश्यक पर्छ। त्यसले भाइरसमा भइरहेको प्रोग्रेस छ, यसले हामीलाई कतिसम्म चुनौती दिन्छ। यो तीब्र गतिमा फैलिन सक्छ, यो कति घातक होला, हामीले प्रयोग गरिरहेको खोपलाई कसरी यसले चुनौती देला भन्ने प्रश्न छ। त्यसको उत्तर यही भाइरसको म्युटेसन हुने र म्युटेसनको कारणले देखाउने हर्कत पत्ता लाग्छ। 

धेरैअगाडि यो एकदमै डरलाग्दो भनिए पनि यसबारे अझै अनुसन्धान आउन बाँकी छ, त्यो नभइकन डेल्टा प्लस साँच्चिकै खतरा हो कि होइन भन्नलाई त्यति सहज छैन। 

जेनेटिक कोडहरूमा भइरहँदा भाइरस मात्र होइन, मानिसलगायत धेरै चीजमा परिवर्तन हुन्छ। भनेपछि भाइरसको जीनमा पनि केही परिवर्तन ल्यायो भने त्यसको आनीबानी हर्कत परिवर्तन हुन्छ र, त्यो म्युटेसन भएर नयाँ भेरियन्ट बने पनि हरेक भेरियन्ट खराब हुन्छ भन्ने छैन। त्यो कमजोर पनि हुनसक्छ र धेरैजसो कमजोर नै भएको छ। त्यसमध्येमा केही गन्न सकिने खालका भेरियन्ट मानव समुदायलाई अलिकति खतरा हुनसक्छ। 

अल्फा, बेटा, गामा, डेल्टा यी सबै भरियन्टभित्र पर्छन् र, नेपालमा अल्फा र डेल्टा पहिचान भइसकेको छ भने अझै हेर्न बाँकी भएको कापा भेरियन्ट भनिएको छ। तर, त्यो बाहेक भविष्यमा अरु नआउँला भन्न सकिँदैन। त्यसको लागि हाम्रो प्रविधि आफ्नै हुनुपर्दछ। 

अघिल्लो भेरियन्टहरूमा खोप प्रभावकारी देखियो, तर अहिले डेल्टा प्लसको त्रास फैलिरहेको अवस्थालाई कसरी नियाल्नु हुन्छ? 

डेल्टा र डेल्टा प्लस दोस्रो लहरको उत्कर्षमा देखिएको हुनाले भ्याक्सिनले त्यस बीचमा एकदमै राम्रो काम गरेको छ। दोस्रो लहरको सुरुआती चरणमा नेपालमा कोभिशिल्डको भ्याक्सिन दिइयो, जसको कारण धेरै मानिसको मुख्य लडाइँ डेल्टा भेरियन्ट अथवा डेल्टा प्लससँग भएको मेरो अनुमान छ। किन भने त्यसले हाम्रो शरीरमा एन्टीबडी बनिसकेको अवस्था थियो। 

त्यसबेला भेरोसिलको पहिलो डोज भर्खर सुरु भइरहेको थियो। कोभिशिल्डको हकमा यसले एकदमै राम्रो काम गरेको छ। लगभग ९० प्रतिशत जो सिकिस्त थिए, उनीहरूले दुई डोज खोप लगाएकै थिएनन् भने १० प्रतिशतले एउटा डोज लगाएका छन्। त्यो एउटा डोजले पनि उनीहरूलाई तुलनात्मक रुपमा दुई डोज नलगाएकाहरूभन्दा उनीहरूले अझ छिटो स्वास्थलाभ गरेको देखियो। 

आइसियु, भेन्टिलेटरमा गएकाहरुमा भ्याक्सिन नलगाएकाहरूको वर्चस्व छ। यदि दोस्रो लहर डेल्टा र डेल्टा प्लसले ल्याएको भन्ने पक्का छ। त्यसमा हामीले लगाएको भ्याक्सिनले धेरै राम्रो काम गरेको छ। यदि दोस्रो लहर आउनुभन्दा अगाडि भ्याक्सिन हाम्रो समुदायमा धेरैले लगाएको भए जुन मृत्युको संख्या हामीले देखेका छौं, वा अस्पतालमा बेड नपाएको अवस्था थियो, त्यो हुँदैन थियो। 

भ्याक्सिन वितरण गरेपछिको जुन अवस्था छ, त्यसपछि मैले भ्याक्सिनका बारेमा धेरै लेखहरु लेखेको छु। त्यसैले भ्याक्सिन एकदमै आवश्यक छ। त्यही पनि भाइरसमा निरन्तर परिवर्तन भइरहने भएकोले भविष्यमा गएर भ्याक्सिनले त्यत्तिकै मात्रामा प्रभावकारी काम गर्छ कि गर्दैन भन्ने प्रश्न भने रहन्छ। वैज्ञानिकहरुले त्यसबारेमा  सोचिसकेका पनि छन्। जति म्युटेसन भयो त्यही म्युटेसनलाई भ्याक्सिनमा प्रतिस्थापन गरिदियो भने फेरि त्यो भ्याक्सिनले भाइरसविरुद्ध काम गर्छ। 

उदाहरणका लागि इन्फ्लुएन्जा भ्याक्सिनको कम्पोनेन्ट हरेक सिजनमा परिवर्तन हुँदै आउँछ। किनकि भाइरस धेरै म्युटेसन हुन्छ। त्यही लयमा यो कोभिड–१९ को भ्याक्सिन पनि जान सक्छ। 

भ्याक्सिन लगाउने प्रसंगमा कतिको मृत्यु भएको अथवा गम्भीर अवस्था गएको पनि भनिन्छ, अध्ययनले त्यस्तो असर कतिको देखिएको छ?

एउटा महायुद्ध चलिरहँदा म अस्पतालको इमर्जेन्सी अगाडि बस्दै गर्दा जुन अवस्था देखेँ, त्यो मलाई अथवा मेरो सहकर्मी डाक्टर साथीहरू, स्वास्थ्यकर्मी सबैलाई थाहा छ। भ्याक्सिन आफैंमा शतप्रतिशत हुँदैन। त्यसकारण जब भ्याक्सिन बन्दै गयो, हामी कुन भ्याक्सिन कति प्रतिशत प्रभावकारी भनेर बहस गर्थ्याैं। भ्याक्सिन आफैंमा शतप्रतिशत प्रभावकारी हुनैपर्छ भन्ने जरुरी छैन। हरेक व्यक्तिको शरीर फरक–फरक हुन्छ र, फरक तरिकाले प्रतिक्रिया दिन सक्छ। यसमा विभिन्न कारण छन्। 

त्यसकारण अपवाद छोडेर भ्याक्सिनले यस्तो राम्रो काम गरेको देखिएको छ। यसमा कुनै शंका गर्नुपर्ने कुरै छैन। मैले आफैंले पनि धेरै जनासँग अन्तर्क्रिया गरेको थिए, जसमा सिकिस्त भएका बिरामी कसैले भ्याक्सिन लगाएका थिएन। मैले दुइटा भ्याक्सिन लगाएको थिएँ। तर, म यहाँ सिकिस्त भएर आएँ भन्ने बिरामी मैले भेटिनँ। 

डेल्टा र डेल्टा प्लस दोस्रो लहरको उत्कर्षमा देखिएको हुनाले भ्याक्सिनले त्यस बीचमा एकदमै राम्रो काम गरेको छ। दोस्रो लहरको सुरुआती चरणमा नेपालमा कोभिशिल्डको भ्याक्सिन दिइयो, जसको कारण धेरै मानिसको मुख्य लडाइँ डेल्टा भेरियन्ट अथवा डेल्टा प्लससँग भएको मेरो अनुमान छ।

भ्याक्सिन लगाएपछि संक्रमित हुन्छन् तर, ती व्यक्तिहरू जटिल अवस्थामा जाने सम्भावना धेरै हदसम्म रोक्छ। भ्याक्सिन अनुसारको प्रभावकारीतामा थोरबहुत फरक होला। तर, यसले काम भने गरेको छ। त्यसैले भ्याक्सिन लगाएको मानिसलाई डेल्टा र डेल्टा प्लसले योपटक खास छुन सकेन। 

निषेधाज्ञा खुकुलो भएसँगै फेरि संक्रमणदर तीब्र गतिमा बढिरहेको छ, किन बढिरहेको छ फेरि संक्रमण? 

संक्रमण उत्कर्षमा पुगेको बेलामा मानिस दौडेर परीक्षणका लागि अस्पताल पुग्थे। तर, अहिले कम भएरै नआएको हो। संक्रमण घट्नुमा दुईटा कारण हुन सक्छन्। एउटा निषेधाज्ञाले चेनब्रेक भएकोले गर्दा कम भएको हुन सक्छ र अर्को धेरै भन्दा धेरै संक्रमित भए अब त यसै पनि घट्ने नै हो। 

निषेधाज्ञा खुकुलो भएसँगै मानिसको भेटघाट, भिडभाड बढ्यो त्यससँगै कसैमा सामान्य लक्षण देखिएर परिक्षण गर्न पुगे। त्यसको कारणले पनि संक्रमणको संख्यामा घटबढ भएको हो। तर, संक्रमितको संख्या ह्वात्तै बढेर पहिलेकोजस्तो दसौं हजार पुग्ने सम्भावना भने देख्दिनँ। 

अब तेस्रो लहरको सम्भावना कति देख्नु हुन्छ र यो लहरमा कुन उमेर समूह जोखिममा पर्ने सम्भावना छ? 

म त्यसमा प्रत्यक्ष सहमत छैन। तर, अप्रत्यक्षरूपमा भन्नुपर्दा बालबालिकालाई अलिक बढी असर पर्ने केही कारण भने छन्। यदि तेस्रो लहर आयो भने जसले भ्याक्सिन लगाएको छैन उनीहरु सबै जना जोखिममा पर्छन्। त्यतिबेलासम्म बालबालिकाले खोप लगाउने वातावरण नहुने हो कि अथवा खोप लगाउनबाट वञ्चित हुने हो कि ? किनकि आजसम्म बालबालिकाले खोप लगाउने भन्ने छैन। त्यो अनुसन्धान भइसकेको छैन। त्यसैले त्यो अवस्थासम्म बालबालिकाले लगाउन नपाउने होकि भन्ने मात्र एउटा कारण हो। तर, सिधै तेस्रो लहरले खाली बालबालिकालाई खतरा हुन्छ भन्ने त्यस्तो कुनै आधार छैन। 

त्यतिन्जेलसम्म सबैले खोप लगाउन पाएनन् भने जोकोही पनि समस्यामा पर्न सक्छ। तर, पहिलोमा बृद्धा। दोस्रोमा युवा र तेस्रो बालबालिका हुने भन्ने केही पनि होइन। यसमा कुनै आधार छैन। 

तर, तेस्रो लहर आउने सम्भावना भने रहन्छ। किनभने भाइरस परिवर्तनशील छ, यो स्वभाविक, प्राकृतिक हो। त्यसमध्येमा धेरैभन्दा धेरै त कमजोर भएर हामीलाई थाहा पनि हुँदैन। त्यसमध्ये कुनै भाइरस भने अलिकति शक्तिशाली भएर आउन सक्छ। जुन तीव्र गतिमा फैलिने, घातक हुने र भ्याक्सिनलाई चुनौती दिने खालको हुनसक्छ। त्यसैले यो बन्दै गर्दा कुनै न कुनै निस्कन सक्ने भएकोले तेस्रो लहर आउनेमा दुई मत छैन। 

अब आउने नयाँ लहरबाट कसरी बच्ने? जनस्तर अथवा सरकारी पक्षबाट पूर्वतयारी के गर्नुपर्छ?

सम्बन्धित निकायले परीक्षण, ट्रेसिङ, आइसोलेसनलाई निरन्तरता दिनुपर्छ भने सबैले जनस्वास्थ्यको मापदण्ड पालनालाई निरन्तरता दिनुपर्छ। यसमा खासै नौलो कुरा केही छैन र भ्याक्सिन सबैलाई लगाउनुपर्छ। भ्याक्सिनप्रति सबैको अर्जुनदृष्टि हुनुपर्याे ल्याउन र लगाउनमा। 

भ्याक्सिन लगाएका मानिसहरू कहिलेसम्म सुरक्षित छन् त? 

यो अहिले पनि अनुसन्धानको पाटो हो। कसैले भन्न सक्दैन त्यसैले आगामी दिनमा यसबारे जानकारी हुँदै जाला भन्ने अनुमान हो। 

अरु देशले भ्याक्सिन बनाए, त्यो प्रविधि नेपालमै भित्र्याएर उत्पादन गर्ने सम्भावना कतिको छ ? कति खर्चिलो हुन्छ? 

हामीलाई भविष्यमा आवश्यक हुनसक्छ। जसरी अहिले हामी कसले  देला भनेर टुलुटुलु हेरिरहेका छौं। सधैंभरि चाहिने हो भने सोच्न सकिन्छ। यदि आवश्यक परेको खण्डमा जनशक्ति जम्मा पार्न नसक्ने पनि होइन। तर, यहाँ वातावरण सिर्जना गर्नुपर्ने हुन्छ। यसमा सरकार लाग्नुपर्छ। निजी कम्पनीले यतिकै जोखिम मोलेर गर्नसक्दैन। यदि सरकारले राम्रो वातावरण सिर्जना गरिदियो भने भ्याक्सिन बनाउन नसक्ने भन्ने हुँदैन। 

हामी २१ औं शताब्दीमा जाँदै गर्दा यस बारेमा पनि सोच्नु आवश्यक छ। तर, यसमा इच्छाशक्ति हुनुपर्यो। 

Logo