सफल व्यवसायीको जोगी यात्रा : ३ दिन सन्त, ४ दिन व्यवसायी (भिडियाेसहित)

सफल व्यवसायीको जोगी यात्रा : ३ दिन सन्त, ४ दिन व्यवसायी (भिडियाेसहित)


२० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका भवन भट्टले एनआरएनएमा एक कार्यकाल कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन्।

जापानमा रेष्टुरेन्ट व्यवसायमा सफल मानिएका भट्टको २९० वटा रेष्टुरेन्ट रहेका छन्। जसबाट वार्षिक ३५ अर्बको कारोबार हुने गरेको छ। व्यवसायिक समूह टिबिआईका अध्यक्ष रहेका भट्टको नेपालमा पनि उद्योग, संचार, कलेज लगायतका क्षेत्रमा लगानी रहेको छ।

गोरखामा जन्मिएका भट्ट एनआरएन अभियानमा सुरुवातदेखि सक्रिय थिए। जापानमा एनआरएनको समन्वयन समिति गठनदेखि जापान अध्यक्ष हुँदै एनआरएनएको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष हुँदै भट्ट अध्यक्ष बन्न सफल भएका थिए।

जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गरेका भट्टको अहिले जापानमा मात्रै २९० रेस्टुराँ सञ्चालनमा छ। उनको रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन्। सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए।
 
जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा उनी काममा लागे। महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम सुरु गरे। उनले श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई पनि अवसरका रुपमा लिए।
 
उनको कामबाट प्रभावित भएपछि मालिकले उनलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७५० पुर्यायो । कामप्रतिको लगाव देखेर मालिकले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरमा बढुवा गर्यो। यसरी ६ वर्षसम्म फरकरफरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए। एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित यो बीचमा उनले दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरे।

हाल ‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ। ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको उनले बताएका छन्। 
 
पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडौं, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उनले अभियान सञ्चालन गरेका छन्।

सफल व्यवसायी तथा एनआरएनएका पूर्वअध्यक्ष समेत भइसकेका भट्ट यतिबेला सन्त जीवन बाँचिरहेका छन् । उनले हप्तामा ३ दिन सन्त जीवन र ४ दिन व्यवसायी जीवन जिउने गरेका छन् । अध्यात्मको बाटोमा लागिसकेपछि उनको जीवनमा आएका परिवर्तन, उनको दुईवटा जीवन बीचको सन्तुलन के कसरी गरिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर यसपटक हामीले भट्टसँग कुराकानी गरेका छाैं । हेराैं उनीसँग गरिएकाे कुराकानी याे भिडियाेमा ः

 

 

Logo