साउने व्रत बस्दा यस्ता कुरामा ध्यान दिनुहोस्

साउने व्रत बस्दा यस्ता कुरामा ध्यान दिनुहोस्


पूर्वीय दर्शन अनुसार साउन महिनामा भगवान् शिवको आराधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ भन्ने जन विश्वास छ । 

नेपाली परिवेशमा हेर्ने हो भने साउन महिनालाई  धार्मिक महिनाका रुपमा हेरिन्छ । साउन महिना भर नेपालीहरु धार्मिक आस्था र महत्वका साथ भगवान् शिवको व्रत बस्ने गर्दछन् । भगवान् शिवप्रति भक्ति व्यक्त गर्न र भगवान् शिवको आराधना गर्न मानिसहरू साउनको सोमबार व्रत बस्छन् । 

व्रत राख्नाले मनले चिताएको वरदान प्राप्त हुने जनविश्वास छ । जसका लागि मानिसहरु दिनभरि केही नखाई नपिई व्रत बस्छन् । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यसले ग्यास, एसिडिटी, टाउको दुख्ने र बान्ता आउन सक्छ । व्रत बस्दा के के कुराले निम्त्याउँछ यस्ता समस्या, ध्यान दिनुहोस्… 

१. चिया

खाली पेटमा चिया पिउनु हरेक हिसाबले हानिकारक हुन्छ । साउन र नवरात्रिमा मानिसहरूले अरू केही नखाने तर दिनभर चिया पिउने गर्छन् । जसले गर्दा ग्यास र एसिडिटी हुन सक्छ । एक वा दुई कप पिउनुमा कुनै समस्या छैन । तर पानी जस्तै चिया पिउनु, त्यो पनि खाली पेटमा यस्तो कार्यले स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ ।

२. अमिलो फलफुलहरू

व्रतको समयमा खाली पेटमा अमिलो फलफूलको सेवन नगर्नुहोस् । यसको सट्टा केरा, स्याउ, खरबूजा जस्ता खानेकुरा खानुहोस् । बिहान खाली पेटमा सुन्तला, मोसम, कागती वा अन्य अमिलो फलफूल खाँदा एसिडिटी र ग्यास हुन सक्छ ।

३. भुटेको खानेकुरा

सामान्य दिनको तुलनामा मानिसहरु उपवासको समयमा धेरै भुटेको खानेकुरा खाने गर्छन् । जुन स्वास्थ्यका लागि हानिकारक मात्र होइन, यस्तो खानाले ग्यास, एसिडिटीजस्ता समस्या पनि निम्त्याउन सक्छ । सकेसम्म यस्तो खानेकुराको सेवन कम वा गर्दै नगर्नुहोस् । भुटेको खानाको सट्टा फलफूल र झोलयुक्त आहारलाई स्थान दिनुहोस् ।

४. खाली पेट बस्नु

भगवानप्रतिको भक्ति देखाउनको लागि व्रत बस्नु ठिकै हो तर केही नखाई बस्नु भनेको स्वास्थ्यसँग खेलबाड गर्नु हो । यसले कमजोरी, टाउको दुख्ने, ग्यास, एसिडिटी र वान्ता हुनसक्छ ।

Logo