शोभिता

शोभिता


हिँड्दा जमिन नै भासिएलाजस्तो शारीरिक शक्ति । माधुर्य छर्दै मग्मगाइरहेको गुलाफको कोपिलाजस्तो फक्रनै लागेको यौवन । उसको निर्माणाधिन जीवनमा एउटा इँटा थपियो । वीरबल यानी बिरे उसको जीवनसाथी बनेर आयो । उसको सौभाग्यको साक्षी बनेर आयो । राता चुरा, सिउँदोको सिन्दुर, गलाको पोते । समग्र आनन्द र जीवन भोगाइको सहयात्री बनेर आयो । समग्र जीवन संरचनाको सामग्री बनेर आयो । एकसरो दाइजो दिएर मनमायाको गोत्र सारिदिए उसका बाबु काले दमाईले । उसले नयाँ घरलाई अँगाली र त्यहीभित्र सपना सँगाली ।

बिहेपछि मनमायाको बैँस झन् भरिँदै आयो । चमेली दमिनीले भनिन्– ‘छोरी भाग्गेमानी रहिछ । लोग्ने र घरपरिवार दुवै राम्रा पाई ।’ मनमाया यसै राम्री थिई । उसमाथि विरे सौन्दर्य प्रसाधनका सामग्रीले पनि उत्तिकै माया जताउँथ्यो स्वास्नीप्रति । बजारबाट लिपिस्टक, टीका, चुरा किनेर स्वास्नीलाई खुसी पार्थ्याे । मनमायालाई यति माया पर्याप्त थियो । उसले बाल्यकालदेखि देख्दै आएको यही व्यवहारलाई लोग्नेको मायामा परिभाषित गरेकी थिई । उसको चेतनाले परिभाषित गरेको प्रेममा कत्ति कमी थिएन ।

मेलापात जाँदा विरेले घुम्ती, खोँच र कुइनेटाहरूमा सँगीसाथीको समूूहबाट योजनाबद्ध तरिकाले अलग्याउँथ्यो उसलाई र गालामा ओठ जोड्थ्यो । यस्तो रहर पनि दुइतर्फी नै हुन्थ्यो, पूूरा गर्न असम्भव पनि हुँदैनथ्यो । तैपनि चारैतिर हेरेर मनमाया कृत्रिम रिस देखाउँथी– ‘छि कस्तो पात्तिएको ?’ मनमनले भने मायाको सर्वोच्च अनुभूूति ठान्दै आनन्द लुकाउन खोज्थी । आफूूलाई संस्कारी कायम गर्थी । ऊ खुसी थिई ।

सौन्दर्य दिने विरेले एकदिन सबै आफैसँग लिएर गयो । जे दिएको थियो त्यो उसको आयुभरका लागि थियो । उसको आयु बगाले भिरको बडहरले खोस्यो । बडहरले विरेको जीवन खोस्यो । मनमायाको जीवनको निश्चिन्तता खोस्यो । अनुहारको लालिमा खोस्यो । डालेघाँस झार्न रुख चढेको विरे घाँसको डालोभन्दा अघि नै खस्यो भुुइँमा । मनमायाले विरेका सौगातहरूसँग आफूूलाई अलग गरी ।

खोटरहित सुलक्षणा बुहारी एकाएक पोइटोकुवा भई । सासूूससुराले पैतालाको नापजाँच गर्दै अलच्छिनीको नवजात नामकरण गराइदिए । उठेको निधारलाई लक्षित गर्दै अभागीको बिल्ला भिराइदिए । माइतमा गुनासोका गाना गाउन नभ्याउँदै भाउजूूले दाइको कान भरिन् । जिन्दगीभर तिम्री बैनीको बोझ उठाउने के नै सम्पत्ति जोडेका छौ र ? दाइले बैनीप्रति लाचार करुणा देखाए, ‘बरु शहराँ केही काम गरेर उतै ज्यान पाल् ।’ स्वास्नी निःशर्त अधिकारी थिइन् घरकी । आदेशको अवज्ञा गरेर आफ्नै खुसीलाई जोखिमग्रस्त बनाउने आँट गरेनन् दाजुले । करुणाका आँसु खसाल्दै बसभारा दिएर बैनीको बिदाइ गरे । ऊ शहर पसी ।

शहरले अनेकौं कसीमा घोट्दै मनमायालाई शोभिता बनायो । ऊ समयको निष्ठुर प्रवाहमा बग्दै जान थाली ।

रक्सीका गिलाससँगै नाच्छे शोभिता अचेल । गिलास टेबुलमा ऊ टेबुलको सामुन्ने ।

पुरुषोत्तमले रिकापीको बदाम तान्दै छेवैको धुसुुमुनेको कानमा रक्सीको तातो वाफ फुुक्दै भन्यो– ‘यति सुवासिला फूूल पनि फुलेका छन् हाम्रै पाखा पखेरामा । यार, त्यसको कमर लच्किँदा म आफूूलाई जेनतेन सम्हाल्छु । उसका मादक प्यालाजस्ता चञ्चल आँखा । उसको आकर्षक छाती । रक्सीको बोतलजस्तै मिलेको शरीर ।’ रक्सीसँगै घुटुक्क थुक निल्यो उसले ।

आधा आँखा गिलासमा र आधा त्यही नर्तकीको अनुहारमा घोप्ट्याउँछ पुरुषोत्तम । एउटा हातमा गिलास समेटेर गोडालाई जेनतेन जमिनमा अडाउँछ । सम्हालिँदै स्टेजमा पुगेर त्यही नारीको नाडीमा समाउँछ । मैयाँ मलाई सम्हाल । ब्लाउजभित्र हात घुसाउँदै हजारको नोट उदारतापूर्वक अनुदान दिन्छ । शोभिताका गोडा र कम्मर झनै गतिशील भइदिन्छन् । ‘मुन्नी बदनाम हुुई डार्लिङ तेरे लिए’…..गीत बजिरहन्छ ।

मुख बंग्याउँदै आँखा माथितिर फर्काएर बोल्छ पुुरुषोत्तम । मानौँ की सिलिङमाथि इन्द्रासन छ । त्यही आसनमा नारीत्वको झोल पिउन चाहन्छ ऊ ।

शोभिता उसको पछिपछि लाग्छे । ऊ सर्वांग चिहाउँछ शाेभिताको । आधा चिरेका व्लाउजले उसैलाई चिहाइरहेछ । आँखालाई ब्लाउजभित्र घुसाउँछ । पारदर्शी सारीभित्र आफूूलाई अल्मल्याउँछ । सोचिरहन्छ, हेरिरहन्छ र लोभिइरहन्छ । यतिबेला ऊ भुसुक्कै बिर्सन्छ घर, ७० उकालो लागेकी वृद्ध आमा, वर्ष ४५ जतिकी भरिली श्रीमती निर्मला र वर्ष १९ की स्वप्नद्रष्टा छोरी ।

बुद्धिमान, तर्कशील, विचारक, विवेकी र सन्तुलित हुनुहुन्छ पुरुषोत्तम सर । उसका समकक्षीहरूको टिप्पणी हो उसको एकमुष्ठ व्यक्तित्वप्रति । बेइमानी गरेको छ आज उसले आफ्नै स्वभावमाथि । दाउमा लगाएको छ आफँैप्रतिको विश्लेषणबाट प्राप्त निष्कर्षमाथि ।

ज्ञानी, गुणी, प्रवक्ता, प्रवचक, नेता सबै हो पुरुषोत्तम । के जानेको छैन उसले ? स्वास्नीलाई बाहेक जिन्दगीमा कसैलाई हेप्ने व्यक्ति सम्झेको छैन । स्वास्नीप्रति उसको एकसूूत्रीय दृष्टिकोण छ, ‘सुखका लागि सम्पूर्ण रूपमा मप्रति समर्पित होऊ । आज्ञाकारी र निःशर्त होऊ ।’

शोभिताले ओछ्यानमा विरेलाई देखी । पवित्रता पराधीन भएको बखत उसले सम्झी मेरो प्राकृतिक पूँजी लुटियो । लुटिएकामा भन्दा लुटाएकामा बढी दुःखित भई ऊ । मनमाया शोभिता बन्दासम्म पनि विरे नै वास बसेको छ उसको मनमा । उसले आलिंगन भित्रैबाट अनायास आवाज निकाली, ‘विरे!’

को हो यो विरे ? पुरुषोत्तमले प्रश्न गरे ।

मैले आदर गर्ने मान्छे । अर्काको लोग्नेले दिने माया र आफ्नो लोग्नेले दिने मायामा भेद गर्दै सशक्त आवाज बोली ऊ । जान्न खोजी के कारणले मेरो प्रेम खरिद गर्न आयौ भनेर । उसले सोधी, ‘तपाईं जहानलाई सम्मान गर्नुहुन्न ?’

गर्छु मैयाँ म मेरी आमालाई आदर गर्छु । मेरी छोरीलाई प्रेम र स्नेह गर्छु ।

अनि श्रीमतीलाई के गर्नुहुन्छ ? सोभिताले प्रस्न गरी ।

उसलाई सुरक्षा, सहारा र आश्रय दिई नै राखेको छु त ।

अनि मलाई ?

तिम्रो कोमलता र सम्पूर्ण रुपको प्रशंसक हुँ । तिमीसँग नाताबिनाको सम्बन्ध छ मेरो । तर तिमीलाई मनभित्र राखेको छु ।

उसले शाेभितालाई ओछ्याएर आफ्नो पुरुषार्थलाई उठाए । शाेभिताले आँखा चिम्ली ।

एक दिन पुरुषोत्तमले भने, मेरो घरमा काम गर्नेको आवश्यकता छ । तिमी यो डान्सबारको काम छोडिदेऊ । तिम्रो खर्चको जिम्मेवारी म उठाउँछु ।

शोभिता राजी भई । त्यसपछि धेरै पटक विरेलाई सम्झी उसले ।

एकदिन भाइरल ज्वरोले थलिए शोभिता र निर्मला दुवै । निर्मलाप्रति स्नेहका शाब्दिक समर्थन सुनी शाेभिताले । माया भाषिक अभिव्यक्तिमा मापन हुने हो भने अत्यन्तै सम्मृद्ध लगाव देखिन्छ स्वास्नीप्रति पुरुषोत्तमको । ऊ सोधिरहेछ, औषधि सेवन गर्‍यौ ? वाक्यको सञ्चारमा मिठास पनि भेटी उसले । निधार स्पर्श गर्दै सिरानी आसपास बसाएको काया र निर्मलाको शिरमा डुलिरहेका उसका ‌औँलाको आकृति कल्पना गरी । आफूूप्रतिको उदासिनतालाई भाषिक गरिबी मात्रै बुझेकी होइन शोभिताले । निर्मलाप्रतिको सद्भावप्रति पनि शंकालु भएकी छ । तिम्रा लोग्नेको आकर्षण मेरा अंगप्रति छ । तर भावना तिम्राप्रति छ । न तिमी भावनाले मात्रै अघाउन सक्छौ न म शरीरको सुखमा पूर्ण छु । त्यसैले तिमी भित्रिया, म बाहिरिया … म भित्रिया वा तिमी बाहिरिया । तर हामी दुवैै अतृप्त र अपूर्ण छौँ । ऊ सहानुभुतिशील भई निर्मलाप्रति ।

बिरामी निको भएपछि पुरुषोत्तम सरले आफूूलाई शोभितासामु पेश गर्‍यो । उसले सोधी– ‘शरीरले जोडिएको साइनो तोडिनुु न हो । अन्ततः म तपाईंको घरको मेड हुँ । हाउस मेड । शरीर पस्किएर दिने खुसी दिउन्जेल न हो । बिरामी पर्दा मेरो बारेमा एक वचन सोध्नु पनि भएन । हुुन त वेश्याको आदर्श र मूूल्य हुँदैन । मैले आदर्शका कुरा गरेको सुहाउँदैन होला । तर तपाईंले आफूूलाई माथि उठाउन सक्नुहुन्न । म एक्लै वेश्या भएकी हुँ त ? तपाईंले बनाएको होइन मलाई वेश्या । असहायमाथि पैसाको बलमा अधिकार जताउनु भएको हो तपाईंले । धनको बलमा अन्याय गर्नुभएको हो तपाइँले ।’

‘पैसाका लागि शरीर पस्कने तिमीजस्ता नारीले पुरुषलाई बिगारेका हुन् । तिम्रो आवश्यकता पूरा गर्नका लागि मैले सहयोग गरेको थिएँ तिमीलाई ।’ कुर्सीबाट उठ्दै पुरुषोत्तमले निर्णायक लान्छना लगायो, ‘सबै स्वार्थ त्याग गरेर परोपकारी बन्न सक्ने सत्पुरुष पाउँदिनौ मैयाँ दुनियाँमा । आफ्नो स्वार्थको रक्षा गर्दै परोपकार गर्ने मजस्ता व्यक्ति पनि न्यूून छन् धर्तीमा । मनुष्य भेषका राक्षसहरूसँग तिम्रो भेट भएको छैन होला आजसम्म । तिमीजस्ता नारीको जीवनको प्राथमिक उद्देश्य नै पेटको भोक मेटाउनु हो । मैले दिएको सुविधामा अनुगृहीत होऊ र यही मर्यादामा बसेर खुसी राख आफूूलाई । मेरो सदाशयतामाथि प्रश्न उठायौ भने आफैँलाई घात गर्नेछ्यौ ।

शोभिताले व्लाउजभित्र हात घुसार्दै हजारका केही थान नोट झिकी । उसले ती नोट पुरुषोत्तमको मुखमा फाली । घृणा भरिएको थुक भने आफैँले निली घुटुक्क ।

पुरुषोत्तमको आँखामा आक्रोस भरियो ।

शोभिता ओछ्यानबाट उठी तर नजरबाट कहिल्यै उठिन फेरि । न त उसको आत्मसम्मान स्वाभिमानले उठ्ने जाँगर ग¥यो । उसका आँखाका परेलाले निधारको सीमाभित्र आफूूलाई निहुराइरहे । उसले पेटको भोकका खातिर अरुको प्यास मेटाइदिई । तर उसको तिर्खा र तिर्सना सधैँ प्यासै रह्यो । विरेलाई सम्झी । मनैमन बोली, ‘विरे ! सहराँ त सुकिला पोशाकभित्र मैला मान्छेहरू बस्दा रचन् ।’ उसले बडहरको बोटलाई सरापी । आफ्नै पोटिला अंगहरूलाई घृणा गरी । आफ्नो एक्लो मनलाई संवेदनशील बनाई र तरर्र आँसु झारी ।

शोभिता फेरि बिरामी परी ।

निर्मलाले निधारमा हात राख्दै सोधिन् तिमीलाई कस्तो छ शाेभिता ?

दिदी, यो एक मुुठी सासले विदा नलिएर दुःख दियो ।

किन त्यसो भनेको ? एक दिन बाँच्यो भने सय चिज देख्न पाइन्छ भन्छन् । बाँचेर पो केही गर्न सकिन्छ त ?

शाेभिता अवाक् भई केही गर्न ….. मनैमन दोहोराई केही गर्न….

के बर्बराएकी ? के भो सोभिता ?

हँ…. ऊ सम्हालिई ।

निरु….. बेडरुमबाट पुरुषोत्तमले आह्वान गरे निर्मलाको उपस्थितिका लागि । आएँ राजा…..। निर्मला हुत्तिँदै पुगिन् खसम समक्ष ।

के भएछ त्यो आइमाइलाई ? कोटको कलर मिलाउँदै ऐनामा हेरेर बोले पुरुषोत्तम ।

बिरामी छे शोभिता । अस्ति मात्र ठीक भएकी, फेरि बिरामी परी, विचरी !

पुरुषोत्तमले मुख बङ्ग्याउँदै भने– अब उसलाई निकालिदेऊ । म काम गर्ने अरू नै बन्दोवस्त गरिदिउँला ।

Logo