नाटककार अशेष मल्ललाई ७ प्रश्न

नाटककार अशेष मल्ललाई ७ प्रश्न


अशेष मल्ल (वि.सं.२०११) एक नाटककार हुन् । दुई दर्जन पुस्तक र सयभन्दा बढी नाटकका लेखक मल्ल सर्वनाम नाट्य समूहसँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ । उनको नाममा सानो उमेरमा प्राज्ञ भएको र युरोपमा नाट्य विषय पढाउने पहिलो नेपाली नाट्यकर्मीको ट्याग पनि झुण्डिएको छ । उनै मल्लसँग केन्द्रविन्दुका दीपक दर्शनले पुस्तक पठनका विषयमा गरेको संक्षिप्त कुराकानी :

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

योगेश राजको उपन्यास ‘रणहार’ पढेँ ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

भक्तपुरका अन्तिम राजा रणजीत मल्लका बारेमा लेखिएको उपन्यास हो यो । आफ्ना पुर्खा पनि भक्तपुरबाटै अन्यत्र गएका हुनाले मलाई त्यस विषयमा कुतूहल उत्पन्न भयो । आफूले पनि पहिले रणजीत मल्लका विषयमा अनुसन्धान गरी नाटक लेखेको हुनाले पुस्तकप्रति स्वभावतः रुचि बढ्यो । यसैले मैले उक्त पुस्तक किनेँ । पछि त त्यसले ‘मदन पुरस्कार’ पनि पायो । त्यसको पनि निकै पछि मात्र मैले उक्त पुस्तक पढ्न भ्याएँ ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

सामान्यतः इतिहासले जित्नेको कथा लेख्छ, हार्ने जहिल्यै ओझेलमा पर्छ वा उसका विरुद्ध हुने गरी, जित्नेको अभिप्राय अनुसार कथा लेखिन्छ । तर यो पुस्तकले हार्नेको कथा लेखेको छ । भक्तपुरको इतिहासमा स्वर्णाक्षरले नाम लेखिएका अन्तिम राजा रणजितका विषयमा लेखिएको अनुसन्धानमूलक दस्तावेज हो यो उपन्यास ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

पुस्तकमा उतिबेला अहिलेको जस्तो उन्नत प्रविधि थिएन । त्यस्तो समयमा पनि न्यातपोलजस्ता मन्दिर बन्नु आफैंमा आश्चर्य हो । उपन्यासमा अहिलेसम्म देख्न सकिने तत्कालीन संरचनाहरू कसरी बने भन्ने विषयमा लगभग पूर्ण विवरण आएका छन् । कतिवटा काठको प्रयोग भएको, कतिवटा इँटा लागेको, कतिजनाले कति दिन लगाएर बनेको भन्नेजस्ता सूक्ष्म विवरणहरू समेत आएका छन्, जसले मलाई छोयो ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

प्रस्तुति पक्ष कमजोर छ । कथा सलल्ल बगेको छैन । कथाको विकासमा आवश्यक पर्ने द्वन्द्वको अभाव छ । अनुसन्धान अझै पूर्ण हुन नसकेको जस्तो पनि लाग्छ र रणजीतको हार किन भयो भन्ने विषयमा दिइएका तथ्य कम छन् । साथै जित्नेको कुन पक्ष सबल भएकाले ऊ विजयी भएको हो भन्ने कुरा आउन सकेको छैन ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

१२ दिन्छु ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

सबैका रुचि र रोजाइ फरक हुन्छन् । मेरो आफ्नो सन्दर्भमा कुरा गर्दा म जुन पुस्तकको बजारमा धेरै चर्चा हुँदैन त्यस्ता पुस्तक खोजेर पढ्छु । चर्चामा आउन अनेकन हथकण्डा अपनाउने गरिएकाले बजारमा चलेका आधारमा पुस्तक छनोट गर्दा सोचेअनुसारको वा चर्चा भएअनुसारको उत्कृष्टता भेट्न सकिँदैन । उता चर्चा नभएका थुप्रै पुस्तक छन् जुन उत्कृष्टताको कसीमा खरो उत्रन्छन् । ‘रणहार’ कै कुरा गर्ने हो भने पनि मदन पुरस्कार पाउनुअघिसम्म यो पुस्तक र यसका लेखकका बारेमा त्यति चर्चा भएको थिएन ।

Logo