ए मान्छे भन न, तिमी कस्तो जात हौ ? – कविता

ए मान्छे भन न, तिमी कस्तो जात हौ ? – कविता

केन्द्रबिन्दु
0
Shares

  • राजबाबु श्रेष्ठ, सागर

यो कस्तो जात हो मान्छेको ?
आफूले आफैलाई नै कहिल्यै स्वीकारेनन्
फेरि कसरी तिमी लिपुलेक स्वीकार्छौ ?
ए मान्छे भन न, तिमी कस्तो जात हौ ?

स्वाभिमानको टोपी
उसका आफ्नै दायाँ खुट्टाले कुल्चिएर
ऊ आफै भाँच्चिई रहेछ
फेरि कसरी दुखोस् उसलाई
लिपुलेक, लिम्पियाधुरा र कालापानी ?
जसरी दुख्छ हामीलाई लिपुलेक
लिम्पियाधुरा र कालापानी च्यातिँदा
फेरि पनि स्वीकार्दैन उसले कहिल्यै आफूलाई
अहँ स्वीकार्दै स्वीकार्दैनन्
फेरि कसरी लिपुलेक स्वीकारोस् उसले ?
ए मान्छे भन न, तिमी कस्तो जात हौ ?

एकले अर्कोलाई थुक्नू थुक्छौं
त्यहीँनेर हामी सर्वस्व चुक्नू चुक्छौं
फेरि पनि हामी भौँभौँ गरेर भुक्नू भुक्छौँ
सके टोक्छौं र च्यात्छौं मान्छेले मान्छेलाई
नसके कुलेलम ठोक्छौं
छिमेकी सिंहको सातो नै उड्नेगरी खोक्नू खोक्छौं
फरक पर्दैन यहाँ सिंहलाई कत्ति पनि
अहँ पर्दै पर्दैन अलिकति पनि
अन्तमा, आफ्नै जिब्रो थुतेर
घामजत्रै खकार ओकल्नू ओकल्छौं ।
विस्तारवादका नारा लाउनू लाउँछौंं ।

बागदरबारभन्दा दक्षिणतिर बढी धाउँछौ
मेचीदेखि महाकाली सबै भ्याउनू भ्याउँछौ

ऊ हेर त !
मास्टर भएर उनले केके गरे
गर्नूसम्म गरे
खानूसम्म खाए
भ्याउनूसम्म भ्याए
सत्र हजार शहीदहरू सबै चपाए
धामीझाँक्री, वैद्य, बाबुराम र काबुराम जति
सबै परपर धपाउनू धपाए ।

ए साँच्चै भनूँ,
तिमी पनि त उनीजस्तै मास्टरै हौ नि
दिनभरि विद्यालयमा शिष्य कुट्छौ
साँझ परेपछि भट्टीमा जुट्छौ
सिस्नो गलेजस्तै फ्यात्याक्क गल्छौ
सिसा फुटेझैँ झर्‍याम्म फुट्छौ
र कुटीमा गएर स्वास्नी कुट्छौ
प्वाल परेको गरिब कन्तीमा
सपनाहरूजति चर्चर्ती भुट्छौ
दाउराघाँस गरी साँचेको दुईचार पैसा पनि
स्वास्नीको कन्तुर फोरेर लुट्नू लुट्छौ
साँच्चै भनूँ,
तिमी पनि त उनीजस्तै मास्टरै हौ नि ।
यो कस्तो मान्छेको जात हौ ?
ए मान्छे भन न, तिमी कस्तो जात हौ ?

तिमी आफूले आफैंलाई कहिल्यै स्वीकारेनौ
फेरि तिमी लिपुलेक
लिम्पियाधुरा कसरी स्वीकार्छौ ?
ए मान्छे भन न, तिमी कस्तो जात हौ ?

आफूले आफैलाई स्वीकार्नू भनेको त
आफ्नै स्वाभिमान
छातीमा गम्लङ्ग अँगाल्नू पो रहेछ
ए मान्छे भन न तिमी
स्वाभिमानले तिम्रो कुन कोखामा घोच्छ हँ ?
ए मान्छे भन न तिमी कस्तो जात हौ ?

Logo