टेबल, तिमी, म र फूलदानी

टेबल, तिमी, म र फूलदानी

केन्द्रबिन्दु
0
Shares

कौतुक तिम्रा नजरले
पहिले देख्यो कि फूलदानले
टेबलमाथिको फूलदानीले
हेर्‍याे कि पहिले तिम्रो बदन
यकिन गर्न गार्‍हो छ
फूलदानी र तिम्रो प्रेमभाव ।

उस्तै छ फूलदानीको
फूल र तिम्रो कौमार्य
टेबलभरि फिँजिएको छ
तिम्रो र फूलदानीको कौमुदी किरण
केही सर्वदा
दुई थुङ्गा करविर
तिम्रो छातीमा फुलेजस्तै
मलाई पनि फुलाउन मन छ
तिम्रो नयन तलाउको फूलदानीमा
रातो कमल ।

तिम्रो टेबलको फूलदानीमा
सजाएर ‘ग्याडुलस’को
एक ‘स्टिक’
फूल र प्रेमको महिमा नजान्नेहरूलाई
सिकाउनु छ नयनोत्सवको महत्त्व
काँचको पारदर्शी फूलदानजस्तै
देखाउनु छ तिम्रो पवित्र
काञ्चन काया ।

सजाउन फूलदानीमा
तिमी टिप एक झुप्पो
स्वस्थानी फूल
म धुपीको पात टिपेर
ल्याउनेछु र राख्नेछु टेबलमा
अनि लेख्नेछु
टेबल, तिमी, म र फूलदानीको
कविता ।

तिमी फूलको पर्याय
म टेबलको बिम्ब
हामी फूलदानीको प्रतीक
तिमी सजाइरहनु
फूलदानमा फूल
म फूल नमुर्झाउन
लागि रहनेछु पानी
बनेर तिम्रै एकलव्य माली ।

आह्वान गरिरहेका छन्
टेबलका मजबुत खुट्टाहरूले
हामीले पनि प्रेमको
फूलदान अड्याउन
टेबलले जस्तै टेक्नु परेको छ
दरिला खुट्टाहरू
फूल, फूलदानी र टेबलको जस्तै
अनुपम सम्बन्धबाट
हामीले पनि सिक्नु छ
अजम्बरी प्रेमालाप ।

माथिको फूल र फूलदानीले
यस्तो होस् तिमीहरूको प्रेम
जुन प्रेमालाप देखेर
लजाओस् गुलाफ र लालिगुराँस
तिम्रो र मेरो मुहारभरि पोखियोस्
फूलहरूको आदिम बैंस !

(ऋषभदेव घिमिरे, गोदावरी)

Logo