जिज्ञासा उत्पन्न गराउने खालको पुस्तक राम्रो हुन्छ !

जिज्ञासा उत्पन्न गराउने खालको पुस्तक राम्रो हुन्छ !


जन्मथलो नेपालको गोरखा जिल्लाको लुइँटेल गाउँ भए पनि केही दशकयतादेखि अमेरिकाको क्यारोलाइना राज्यलाई कर्मथलो बनाइरहेका साहित्यकार नगेन्द्र न्यौपाने पेसाले इन्जिनियर हुन् । ‘दरबारबाहिरकी महारानी’ जस्तो चर्चित उपन्यासका लेखक न्यौपानेका आठवटा कृति प्रकाशित भइसकेका छन् । ‘यात्राको बंगलादेश’ उनको उत्कृष्ट यात्रासंस्मरण हो भने ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ उनको चर्चित नियात्रा हो । यसबाहेक उनका ‘हराएका कैदीहरू’ (कविता संग्रह), ‘अन्तिम घुट्को’ (कथा संग्रह), ‘उल्टो रिस’ (उपन्यास), ‘एन ओडेसी इन साइक्लोन’ (ट्राभलग) र इन्जिनियरिङसम्बन्धी ‘हाइवे एन्ड ब्रिज इन्जिनियरिङ’जस्ता कृति प्रकाशित छन् । यसबाहेक उनी नेपाली कम्युनिटी अफ नर्थ क्यारोलाइनाका पूर्व अध्यक्ष हुन् भने केही समय एनसीएनसीबाट प्रकाशित हुने वार्षिक पत्रिका सँगालोका सम्पादक पनि भए । उनले नेपालका दुर्गम भेगका केही स्कूले विद्यार्थीहरूलाई नियमित छात्रवृत्तिसमेत दिएका छन् । उनै न्यौपानेसँग केन्द्रविन्दुका दीपक दर्शनले पुस्तक पठनका विषयमा गरेको संक्षिप्त कुराकानी :

१. तपाईंले पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

मैले हालसालै अलि पुरानै पुस्तक बाबुराम आचार्यको ‘फेरि यस्तो कहिल्यै नहोस्’ पढेँ ।

२. तपाईंले उक्त पुस्तक कसरी छनोट गर्नुभयो ?

ममा इतिहासप्रति रुचि छ, यस्ता विषयमा लेखिएका सामग्री भेटेसम्म पढ्ने गर्छु । म आफैँले पनि ऐतिहासिक घटनालाई आधार बनाएर उपन्यास लेखेको छु । त्यस कारणले यो पुस्तक हात पर्नेबित्तिकै पढ्नका लागि दुई पटक सोचिन ।

३. उक्त पुस्तकको सार के पाउनुभयो ?

पुस्तकमा सत्ता संघर्षका कारण देशले भोगेको दुर्दशा छ । राजा र भाइभारदारबीच शक्तिका लागि हुने संघर्ष, छलकपट, अविश्वास, धोका आदि कुरा पुस्तकमा सारका रूपमा आएको छ । दूरगामी प्रभाव पार्ने तत्कालीन घटनाहरूको दंश अहिले पनि नेपालले झेल्दै आएको छ ।

४. उक्त पुस्तकको कुन कुराले छोयो र किन ?

बहादुर शाहको दुःखद अन्त्य, भीमसेन थापाको कारुणिक अन्त्य, निर्दोष दामोदर पाँडेको अन्त्यजस्ता घटना निकै मार्मिक छन् । अझ मलाई देवशमशेर र चन्द्रशमशेरको प्रसंगले निकै छोयो । वीरशमशेरले खड्ग शमशेरसँगै कारवाही गर्न लाग्दा चन्द्रशमशेरलाई देवशमशेरले जोगाएका थिए । पछि तिनै चन्द्रले सहोदर दाजु देवशमशेरलाई धोका दिएर सत्ताच्युत गरे, मार्नेसम्मको धम्की दिए । यस्तो मानवीय प्रवृत्तिले मलाई भित्रैसम्म छोयो ।

५. पुस्तकमा कुन पक्ष सुधार गर्नुपर्ने लाग्यो ? वा पुस्तकको कमजोरी के पाउनुभयो ?

खासै छैन । तर कतै कतै कुनै कुरा स्पष्ट छैन, पाठक अल्मलिने ठाउँ छ । विशेष गरी त्यहाँ वर्णित ऐतिहासिक पात्रहरूबीचको नाता केलाएर पढ्न गार्‍हो छ, कन्फ्युजन हुन्छ ।

६. यो पुस्तकलाई रेटिङ गर्नुपरे २० पूर्णांकमा कति नम्बर दिनुहुन्छ ?

१८ दिन्छु ।

७. हाम्रा पाठकलाई पुस्तक छनोट गर्न केकस्तो तरिका सुझाउनुहुन्छ ?

पाठक नअलमल्याउने, सरल भाषा र छोटा छोटा वाक्य भएका, एउटा वाक्य पढेपछि अर्को वाक्य के होला भनेर जिज्ञासा उत्पन्न हुने खालको लेखाइ भएको पुस्तक राम्रो हुन्छ । त्यस्तै पुस्तकले दिन वा भन्न खोजेको कुरा प्रस्ट भएको, पूर्वदीप्ति शैलीमा नलेखिएको पुस्तक म रुचाउँछु । अनि मुख्य कुरो पुस्तक ३०० देखि ३५० पृष्ठभन्दा बढी नभएका पुस्तक मेरा रोजाइमा पर्छन् ।

Logo