प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु सार्वजनिक

प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु सार्वजनिक


काठमाडौं ।

पूर्वमन्त्री तथा कर्णाली अञ्चलका पहिलो विद्यावारिधि प्राप्त व्यक्ति डा. प्रेमबहादुर शाहीको विकासजन्य इतिहास कृति प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धीहरु (२००७ देखि २०७७ सम्म) प्रकाशित भएको छ ।

विकासजन्य इतिहासका विषयमा लेखिएका दुर्लभ लेखहरु सङ्गृहित यो पुस्तकमा लेखक शाहीले २००७ देखि २०७७ सम्मका आर्थिक विकास र योजनाहरुको तथ्यांकगत रुपमा भएका उपलब्धीहरु, हुनु पर्ने र हुन नसकेका कामहरुको विस्तृत तथ्यांक पुस्तकमा उतार गरेका हुन् ।

योजनावद्ध आर्थिक विकास, नेपालको राष्ट्रिय उत्पादन र आयजस्ता विविध आर्थिक विकासका पाटाहरुमा र भावी पुस्ताको भूमिका समेत २५ विभिन्न महत्वपूर्ण विषयको तथ्यांकसहित पुस्तक रुप प्रकाशन भएको हो ।

पुस्तकमा २००७ सालदेखि राष्ट्रिय पूर्वाधार, यातायात क्षेत्र, उर्जा, सञ्चार, बैंकिङ, शिक्षा, जनस्वास्थ्य, जनसंख्या, उत्पादन, कृषि, उद्योग, पर्याटन, भाषा, साहित्य, संस्कृति लगायतका विधि विषयमा तथ्यांकसहितको गहिरो विश्लेषण गरिएको छ । त्यस्तै, ऐतिहासिक तलबस्केल र बजारभाउ, राष्ट्रिय ढुकुटी, बेरुजु र भ्रष्टाचार, सामाजिक अपराध, विकृतिहरु तथा नेपालको प्राचीन पृष्ठभूमि लगायतका विषयहरुले पाठकहरु लाभान्वित हुनेमा आफू ढुक्क रहेको प्रकाशकले बताए । शिखा बुक्सले बजारमा ल्याएको उक्त पुस्तकको मूल्य ७७७ रहेको छ ।

Logo