दुई कविता – ‘सधैँ हतारमा’ र ‘फूलको खुसी’

दुई कविता – ‘सधैँ हतारमा’ र ‘फूलको खुसी’

केन्द्रबिन्दु
0
Shares

१. सधैँ हतारमा !

कसैलाई फुर्सद छैन
सबै दगुर्दै छन् कसैलाई भेट्न
भेटे भेटेजस्तो
तर कहिल्यै नभेटिने ।

भेट्न सकिँदैन भनी जान्दाजान्दै पनि
दगुर्न नछोड्ने
भेटिन्छ कि भेटिन्छ भन्ने आशामा
जीवनभर दगुरिरहने
तर कहिल्यै नभेटिने ।

ए खुसी !
कस्तो छ तिम्रो रूप
स्वरूप कसैलाई थाहा छैन
तर पनि आशै आशमा
तिमीलाई भेट्न
दगुरिरहेछन् मानिसहरू ।

 

२. फूलको खुसी

फूलभन्दा सुखी को होला !
गमलामा पनि फुलेकै छ
वन पाखामा पनि फुलेकै छ
न भीर भन्छ, न पहरा भन्छ
उसलाई अलिकति ठाउँ भए पुग्छ ।

फुल्दा पनि खुसी
ओइलाएर झर्दा पनि खुसी
न कुनै गुनासो
न कुनै चित्तदुःखाइ
मन्दिरमा पुगोस् कि रछ्यानमा !
बतासले उडाई लगोस् कि
हुरीले ढलाइदियोस् ।

बस्, फूललाई फुल्न पाए पुग्छ
बताससँगै झुल्न पाए पुग्छ
फूलभन्दा खुसी को होला
ऊभन्दा सुखी को होला ?

Logo