नियात्रा सम्मान ०७६ यादव खरेललाई

नियात्रा सम्मान ०७६ यादव खरेललाई


काठमाडौं,

नियात्रा समाज नेपालले अग्रज नियात्राकार यादव खरेललाई उहाँको उल्लेखनीय नियात्रालेखनको सम्मान गरी नियात्रा सम्मान ०७६ द्वारा सम्मानित गरेको छ ।

चौथो नियात्रा दिवस कार्यक्रम मनाउन नेपाल पर्यटन बोर्डको प्रवचन कक्षमा आयोजित एक कार्यक्रमका बीच समाजका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नियात्राकार डा तारानाथ शर्माले खरेललाई सो सम्मान अर्पण गर्नुभयो । प्रत्येक वर्ष एक जना विशिष्ट नियात्राकारलाई प्रदान गरिँदै आएको सो सम्मानबाट यसअघि डा तारानाथ शर्मा र देवीचन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो ।

नियात्रासङ्ग्रह समुद्रपारिका स्रष्टा खरेल ०३२ सालमा प्रकाशित त्यस कृतिबाट सफल नियात्राकारका रूपमा स्थापित हुनुभएको हो । सो कृतिमा उहाँले वि.सं. २०२० को दशकमा लन्डनमा बीबीसी नेपाली सेवा कार्यक्रम संचालकका रूपमा रहँदा गरेका बेलायत, फ्रान्स, स्पेनका भ्रमण सम्बन्धी दशवटा सुन्दर रचना सङ्गृहीत छन् । पुस्तकाकारमा आउनु अघि ती रचनाहरू मधुपर्क, भानु, रमझम, रत्नश्री, संचय आदि पत्रपत्रिकामा छापिएका थिए ।

सम्मान अर्पण गर्दै डा तारानाथ शर्माले खरेलको नियात्रासङ्ग्रह समुद्रपारि नेपाली साहित्यको एउटा सुन्दर कृति भएको धारणा व्यक्त गर्नु भयो । सम्मान ग्रहण गर्दै स्रष्टा खरेलले नियात्रा समाज नेपालले स्थापनाको छोटो समयभित्रै गरेका बिभिन्न रचनात्मक क्रियाकलापहरूको प्रशंसा गर्नुभयो र तिनीहरूको निरन्तरताको कामना पनि गर्नुभयो । आफूलाई सम्मानित गरेकोमा निकै गारवान्वित महसुस भएको व्यक्त गर्दै उहाँले यसका निम्ति समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विशेष गरी नेपाली चलचित्रको लेखन र निर्देशनमा विशिष्ट पहिचान बनाउनु भएका सम्मानित व्यक्तित्व यादव खरेलको बहुमुखी प्रतिभाबारेमा नियात्रा समाज नेपालका उपाध्यक्ष प्रतीक ढकालले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सुरुमा अतिथिहरूको स्वागत गर्दै समाजका महासचिव मोहन चापागाईंले नियात्राका साथसाथै साहित्यका विविध विधाहरू कविता, गीत, मुक्तकको विकासमा पनि यादव खरेलको उल्लेखनीय योगदानको चर्चा गर्नुभयो ।

सभाध्यक्षका आसनबाट बोल्दै समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले भन्नुभयो, एउटै नियात्रासङ्ग्रह समुद्रपारिका स्रष्टा खरेलले आफूलाई सफल नियात्राकारका रूपमा स्थापित गर्नुभएको छ ।

Logo