यस्ता छन् बीपी कोइरालाका साहित्यीक कृतिहरु

यस्ता छन् बीपी कोइरालाका साहित्यीक कृतिहरु


  • ज्ञानमणि नेपाल कालोटोपी,

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बीपी कोइराला कुशल राजनितिज्ञ त थिए नै स्वतन्त्ररुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली भित्र्याउने श्रेय पनि उनलाई नै जान्छ । उनले आफ्ना साहित्यमा सिग्मण्ड फ्रायडको यौन मनोविज्ञानलाई निकै घतलाग्दो पाराले उतारेका छन् । यसर्थ कोइराला फ्रायडबाट प्रभावित थिए भन्न सजिलै सकिन्छ । उनले उपन्यास, संस्मरण र कथा विधामा कलम चलाएका छन् । साहित्यमा विश्वेश्वर प्रसाद कोइराला र राजनितीमा बीपी कोइरालाका नामले परिचित उनले लेखेका साहित्यिक कृति मध्ये तीन घुम्ती ( अहिले चलचित्र समेत बनेको छ ), सुम्निमा, नरेन्द्रदाई, मोदीआइन, जेल जर्नल, हिटलर र यहुदी, बाबु आमा र छोरा, दोषी चस्मा कथासंग्रह र विश्वेश्वर प्रसादका कथाहरु लगायत मुख्य छन् । उनका मुख्य मुख्य साहित्यीक कृतिहरुको यहाँ संक्षिप्त परिचय दिन खोजीएको छ ।

तीन घुम्ती:

यसमा नारीका तीन रुप प्रेमिका, पत्नी र आमाको चित्रण गरिएको छ । यो एउटी नारीको तीनवटा छुट्टाछट्टै निर्णय बाबुआमाको इच्छा विपरित प्रेमविवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ती र सन्तान प्राप्ति, पतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णयमा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती । केहि वर्ष अघि यसकै कथामा आधारित रहेर चलचित्र तीन घुम्तीको निर्माण पनि गरिएको छ ।

सुम्निमाः

यो दुई भिन्न संस्कृतिको समन्वय, समिश्रण गाथा हो । आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शाष्त्रसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन् । तर प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसिककुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन । स्वच्छन्द विचरण गर्ने किराँतपुत्री सुम्निमा सधंै खुशी देखिन्छे, आनन्दमा रमाउँछे । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भएतापनि मानसिक रूपले नजिक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास पनि हो । सुम्निमा तथा पारोहाङ्ग किराँतधर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ । तर यर्थाथमा लेखकले त्यो उद्देश्य बोकेका भने पक्कै होइन ।

नरेन्द्रदाई :

नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नी र प्रेमिका दुई छुट्टाछुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो यो । यसमा नायक नरेन्द्रलाई पत्नी गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आआफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नी र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका, दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।

मोदिआइनः

यो सानो आकारको तर महत्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यसयुद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रुपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? बीपीको चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।

हिटलर र यहुदी :

जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । कृष्ण र हिटलरलाई तुलनीय छटा देखाएर पूर्वीय मान्यतामै द्वन्द्व सृजना गरिएको छ र यो उपन्यासको नाम अनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ । हिटलरले गरेको नरसंहार र युद्ध भयंकरता देखाएर यसमा पनि शान्ति मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ ।

बाबु, आमा र छोराः

यो प्रकाशनका दृष्टिले उनको अन्तिम उपन्यास हो । यसमा नाम अनुसार नै तीन पात्रहरुको सम्बन्धको चित्रण गरिएको छ । विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा । आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोश्रो बिहे भई बाबुकी पत्नीको स्थान लिनु लाई अहिलेको नेपाली समाजले पचाउन नसक्ला । यस उपन्यासमा यी तीनवटै पात्रहरुको मानसिक द्वन्द्व र यौन मनोविश्लेषणको चित्रण गरिएको छ । प्रेमको त्रिकोणात्मकतासँगै यौन समस्याको अप्रेसन गर्ने कार्य भएको छ यसमा । तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ । यो कथावस्तुका दृष्टिले चाहिं रोचक उपन्यास बनेको छ ।

दोषी चस्मा :

यो कोइरालाको उत्कृष्ट कथासंग्रह हो । यसमा पनि मनोविज्ञानको घतलाग्दो चित्रण र प्रयोग देख्न सकिन्छ । एउटा चस्माले धोका दिंदा आफ्नो मालिकलाई चिन्न नसकेर स्वस्ती गर्न नपाउँदा कर्मचारीका मनमा खेलेका अनेकौं शंका उपशंकाहरुलाई यस संग्रहको प्रतिनिधी कथा दोषीचस्माले उजागर गरेको छ । यसले बनको बाघले खाओस, नखाओस तर मनको बाघले खान्छ भन्ने सन्देश दिन सफल भएको छ ।

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बीपी कोइराला स्वतन्त्ररुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । उनको निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो ।

Logo