व्यङ्ग्य : दाइजो

व्यङ्ग्य : दाइजो


  • रमेश शुभेच्छु

दाइजो माने के ? दाइले दिएको जो सामान । बाबु वा दाइ, भाइले दिएको जो सामान । माइतीले बिहेमा चेलीलाई दिएको उपहार । दइज्जय क्या । बुझ्नु भएन भने देयक क्या देयक । दहिज भन्छन् नि हो त्यो । यति नाथे अर्थ त हाम्रा सांसद्, मन्त्री र सारा विशिष्ठहरूलाई नि थाहा छ नि । उनीहरूको सम्पत्ति विवरणमा होसले हेर्नुहोस् त । त्यहाँ अंशभन्दा बढी दाइजो हुन्छ । यो त तपाईंलाई पनि थाहा छ नि है । बाबु, बाजे, दाइ, भाइ, काका, मामाका घरबाट ल्याएको सामान जो दाइजो ।

यो दाइजोको कुरा एकाएक मेरा जीवनमा ठोक्किन आयो । बराजुका पालादेखि नआएको कुरा मेरै थाप्लामा नराम्रोसँग बजारियो । हेर्नुहोस्, मैले उनीलाई ल्याएँ । उनीलाई ल्याउँदा बाआमा त खुसी भइहाले । बुहारी पाएको दिन थियो त्यो, किन खुसी नहोऊन् । आफन्त दाजुभाइ दिदीबहिनी सबका सब खुसी थिए । कसैले सुट पाएका, कसैले साडीचोली पाएका । त्यसमाथि पहिलोचोटि कसैले बुहारी पाएका, कसैले भाउजू पाएका, कसैले देवरानी पाएका, कसैले जेठानी पाएका । अनि ती खुसी नभएर को हुने ?

कति छिमेकी खुसीले उफ्रिए । झोल र ठोस मिलाएर राम्रै भोज खुवाएपछि छिमेकी नउफ्रेर को उफ्रून् ? ठोस र झोल पदार्थले जसको शक्ति बढायो, उही नउफ्रेर को उफ्रन्थ्यो । कति ईर्ष्याले जले, पत्पत्ति डढे, आफैमा पिल्सिए । जसका घरमा मेरा घरमा जति सामान थियो त्यसको चार अंशको एक अंश पनि थिएन । कहिल्यै दाइजो थुप्रिएको थिएन । मेरा आँगनमा आएर ट्रकले सामान पछारेपछि रित्ता घरमा बस्ने मान्छे ईर्ष्या नगरेर के पनि गरून् ? ती ईर्ष्याले नै मर्न खोजे ।

यसो सम्झन्छु । आफ्नै पुर्पुरो छामछुम गर्छु । वास्तवमा दुनियाँ खुसी हुनु र नहुनुको कारण अर्कै थियो । खास कारण उनी मेरो घरमा आउनुसँग थिएनछ । चुरो कुरो उनीसँग आएको वस्तुसँग थिएछ । उनी एक्लै आएकी भए न कसैको टाउको दुख्थ्यो न हड्डी हाँस्थ्यो । उनी आउँदा एक्लै आएकी थिइनन् । खाट, दराज, सोफासँग आएकी थिइन् । दामी कुर्सी, झन् दामी टेबलसहित आएकी थिइन् । हाँडाभाँडा, लुगाफाटा र अरु पनि केके लिएर आएकी थिइन् । त्यसको हिसाबकिताबको पनि मलाई हेक्का रहेन । नढाँटी भनूँ भने पहिला मैले पनि त्यति सामान देखेको थिइन । उनी आफूसँगै मेरा आँखा तिर्मिराउने गरी अनेक लिएर आएकी थिइन् । मेरो घर तिर्मिराउने गरी र गाउँ तिर्मिराउने गरी लिएर आएकी थिइन् । म पनि मख्ख थिएँ । आफ्ना झोपडीमा यतिका सामान भित्र्याउन पाउँदा । ठानेको थिएँ, मेरा दिन फर्किए । लागेको थियो, चम्कियो नभएको भाग्य । ठानेको थिएँ फर्कियो नभएको दिन ।

लुकीलुकी मेरा घरभित्रका सामान च्याउँथे टोलका केटाकेटी र जान्थे । आफन्त खासखुस गरेर चासो लिन्थे केकेचाहिँ रहेछ भनेर । बाआमाको चुरीफुरी बढेको थियो उस्तै । विचरी आमाको अनुहारमा कहिल्यै नभएको खुसी हाँस्थ्यो । म दङ्ग थिएँ । बाआमा दङ्ग । हामी दङ्ग । हाम्रो घर दङ्ग । कोठाचोटा दङ्ग । आँगन र कोठेबारी दङ्ग । ढंग न रंगको दङ्ग क्या ढंग न रंगको दङ्ग ।

जो जो दङ्ग परे पनि नि कुरा गम्भीर थियो क्या । ती सामान मेरा र हाम्रा नभई उनले ल्याएका थिए । ती सामानमा मेरो हक ज्यादै कम थियो । बिहेकै साँझ आँगनमा थुप्रिएको सामान हेर्दै उनैले भनिन्, सबै सामान आफ्नै कोठामा राख्नुपर्छ । मलाई नलागेको पनि होइन, यतिका सामान छन् । अरू कोठामा पनि त मिलाएर राख्दा हुन्थ्यो । घर त हाम्रै हो । मेरी आमाका अनुहारमा पनि यही भाव नदेखेको होइन । बाका आँखामा पनि यो भाव नझल्किएको होइन । तर दहिजवाल केटी ल्याउने मेरो स्वाभिमानले त्यसो गर्न दिएन । उनले भनेअनुसार हामी सुत्ने कोठामै सबै सामान थुप्रियो । जसको घोडा उसैको हीही ।

सामान आयो । सामान आएर पनि आएको नआयै भयो । त्यसको बाघपञ्जे चिथोराइमा पर्ने पाठो मै परेँ । बज्यै भन्थिन्– बाबु मनको बह कसैलाई नकह । बज्यैको अर्तीअनुसार चलेँ । नकँहँदा नकँहँदै ओभाउन छाड्यो गह । नभनूँ भने तपाईँबाहेक कसलाई भन्ने ? मनमै राखे कतिबेला कसरी विस्फोट हुने हो ? अनि आफै अर्को नियम बनाएँ– मनको बह आफन्तलाई कह । मनको बह मन मिल्नेलाई कह ।
कह त कह तर के कह । भन्दा के भन्नु, नभन्दा पनि केचाहिँ नभन्नू, सुन्नोस् न । अरूलाई नभन्ने शर्तमा सुन्नोस् ।

केही दिन त रमाइलै थियो । बिहेका केही दिनको रमाइलो कस्तो हुन्छ त तपाईंलाई नि थाहा छ नि । अरू सबै विवाहितलाई पनि थाहै छ नि । अविवाहितले पनि एक दिन थाहा पाइहाल्लान् नि है । एउटै कुरो रमाइलोको आयु निकै छोटो, साह्रै छोटो । रमाइलोको आयु यति छोटो हुन्छ भन्ने तपाईंलाई थाहा भए होला, मलाई चाहिँ थाहा पत्तै थिएन । रमाइलोको लहर विवाह भएको हप्ता दिन पनि रहेन । आठौँ दिनपछि रमाइलोको आयु सकिएको थाहा हुन थालिहाल्यो । यति थाहा भयो कि त्यति त केही थाहै थिएन । अब अनेक थाहा भयो । मान्छेलाई सिकाउने भनेको परिस्थिति नै रहेछ । बाजेले त्यसै भनेका होइन रहेछन् ‘कि पढेर जानिन्छ कि परेर जानिन्छ ।’

तैँ गुइँठेले त्यति छिटो कसरी थाहा पाइस् भन्नुहोला ? थाहा पाइहालेँ । एकाएक थाहा पाएँ । थाहा नपाऊँ भन्दाभन्दै थाहा पाएँ । म सबै त भन्न सक्तिनँ थाहा पाको कुरा । तपाईंलाई केही भनिहालूँ ।

हेर्नुहोस्, यसो गलेर सोफामा बसूँ भन्यो र थच्चियो । उताबाट मेरा माइतबाट ल्याएको सोफा, फाट्छ, मैलिन्छ, कोरिन्छ नबस्नू आदि इत्यादि भन्ने आदेश चल्न थाल्यो । हस् हजुर भन्यो, जुरुक्क उठ्यो, आमाले बुनेको पिरामा थच्चियो । खाने बेलामा अलि राम्रै थालमा खाऊँ न त भनेर थाल झिक्यो । उताबाट मेरा माइतबाट ल्याएको थाल, स्क्रयाच हुन्छ, छिँड पर्छ त्यसमा नखा भन्ने आदेश चल्यो । हस् हजुर भन्यो, बाले किनेको इस्टिलका थालमा खायो । आमाले कति चोटि झर्के थालाँ खा न बाबु भन्दा आफू केही बोल्न मिलेन । होइन आमा, यही प्यारो छ भन्यो खायो । यसो मिठो मसिनो चम्चाले खाऊँ भन्यो । उताबाट के भनिने हो भन्ने चिन्ता । चिन्ताकै बीच भनिन्थ्यो, त्यो चम्चा खिइन्छ, भाँचिन्छ, डिस्कलर हुन्छ । हस् हजुर भन्यो हातैले हसुर्यो । अरू नभनूँ होला…..आफ्नै आङ कन्याइ छारो उडाउनु भन्थे । तपाईंले चाहिँ यसले आफ्नै अनुहार कन्यायो र छारो उडायो भन्नुहोला फेरि ।

उनले ल्याएको टिभी हेर्नै भएन । उनले ल्याएको रेडियो खोल्नै भएन । उनले ल्याएको क्यासेट सुन्नै भएन । न पट्टी बाँधेर हिँड्नु । न कान थुनेर हिँड्नु । न मुख छोपेर हिँड्नु । न उठ्नु ? न बस्नु ? के गर्नु गर्नु यार ।

हेर्नुहोस् न, यहाँसम्म केही बिग्रिएको थिएन । सुत्ने बेलामा केही दिन त नयाँ खाटमा सुत्तै थिएँ । निद्रा पनि राम्रै परेको थियो । सातै दिनपछि मेरा माइतबाट ल्याएको खाट भन्ने धाक चल्न थाल्यो । यस खाटमा होइन, यो भाँचिन्छ, खिइन्छ, बिग्रिन्छ, भुइँमा सुत्नु भन्ने आदेश भयो । म कसैले थाहा नपाउने गरी भुइँमा आमाले बुनेको गजेरामा सुत्न थालेँ । हेर्नु न आँखा निद्रा नुपुगेर सुन्निएर कुन हालतका छन् । उनले जसो जसो भन्थिन् त्यसै गर्न थालेँ । तर अब के गर्ने भन्ने समस्यामा छु । हिजो त भोगियो अब पो केके भोग्नुपर्ने हो ।

उनले लुगा राखेको दराजमा उनैका माइतीले दिएको कोटबाहेक अरू केही राख्नै मिलेन । त्यो कोट पनि यतापट्टिका कार्यक्रममा जाँदा लाउन नमिल्ने । उतैपट्टिका कार्जेमा मात्र भिर्नु पर्ने । उनले ल्याएको टेबुल छुनुभएन । उताबाट आएको कुर्सीमा थच्चिनु त के हेर्नु पनि भएन । उनले ओछ्याएको तन्नामा बस्नु–छुनु भएन । उनले ल्याएको गलैँचामा टेक्नु भएन । उनले छर्किएको सेन्टको छेउछाउ पर्नुभएन । दाइजो हो कि काउछो म त हेरेको हेर्यै । ट्वाँको ट्वाँ । ह्वास्सको ह्वास्स ।

समाजले जोइटिङ्ग्रे भन्यो । आफूले उनलाई पोइटिङ्ग्रे बनाउन सकिएन । बाआमाले सोझो भने । आफूले उनलाई सोझी भन्न सकिएन । उनले भनेका दिन ससुराल नगई भएन । ससुरालको मेजमान खाँदा खाँदै उनले भनेका दिन नफर्किई भएन । उनले उता फर्की भने उतै फर्किनु पर्यो । यता फर्की भने यतै फर्कनु पर्यो । सुत् भने सुत्नु पर्यो । उठ् भने उठ्नु पर्यो । उनकै रोजाइको खानु पर्ने । उनकै रोजाइको ठाउँ घुम्नु पर्ने । अनि भन्नुहोस् त यो दाइजोभन्दा शक्तिशाली मलाई तह लाउने वस्तु अरू के होला ? म केहीले तह लाइसाध्य मान्छे थिएँ र भन्या ?

बज्यैले ‘मनको बह कसैलाई नकह’ भने पनि म कहन्छु । म भन्छु । तपाईं पनि भन्नू । अरूलाई पनि कहन लगाउनू । आफन्तलाई पनि कहन सिकाउनू- आजका हरेक हरिलठ्ठक केटालाई दाइजोवाल स्वास्नी खोजिदिनू । हरेक अल्छी केटालाई दाइजोवाल केटी जुराइदिनू । आमालाई लुगा धुवाउने हरेकलाई दाइजोवाल केटी भेट्टाइदिनु । बाबुलाई बूढो गोरुझैँ जोत्नेलाई दाइजोवालसँगै ठोक्काइदिनू । दाजुभाउजूको कमाइमा रमाउनेलाई दाइजोले पुरिदिनू । विदेशी भाइको कमाइ खाइदिनेलाई दाइजोको काउछे ओछ्यानमा सुताइदिनू । आफ्ना छोरी चेलीलाई ऋण खोजेर पनि दाइजो हाल्दिनू । हरेक जोत्न, खन्न, छर्न, सार्न गोड्न पोल्न, पकाउन नजान्नेलाई दाइजोवाल केटी मिलाइदिनू । त्यसपछि ती पनि मजस्तै तह लाग्छन् । जीवनको स्वाद चाख्छन् ।

जय दाइजो ! जय दाइजोवाली पत्नी !

Logo