भाग्यमानी लेखक जो यसरी बाँचे !

भाग्यमानी लेखक जो यसरी बाँचे !


  • राम लोहनी

‘शिक्षाले हामीलाई एकपछि अर्को गर्दै हाम्रा अज्ञानताहरूका बारे बताइदिइरहेको हुन्छ ।’
विल डर्यान्टका धेरै भनाइहरू विश्वप्रसिद्ध छन् । त्यसमध्ये तीनवटा भनाइले मेरा लागि सधैं मार्ग निर्देशन गरेका छन् । त्यसमध्ये पहिलो माथि राखिसकेँ । बाँकी लेख अघि बढेसँगै राख्दै जानेछु ।

बीसौँ शताब्दीका एक महान शिक्षक विल डर्यान्ट ९० वर्षदेखि बेस्ट सेलर रहँदै आएको पश्चिमी दर्शनशास्त्रको आधारभूत पुस्तक ‘स्टोरी अफ फिलोसोफी’का लेखक हुन् । सन् १९२६ मा प्रकाशित यो पुस्तक प्रकाशनको तीन वर्षमै लाखौँ प्रति बिक्री हुन सफल भएको थियो । यो पुस्तकको बिक्रीबाट आएको आम्दानीले डर्यान्ट परिवारलाई आर्थिक रूपले मुक्ति नै दियो । उसो त, आर्थिक मुक्तिले मानिसलाई भौतिक सुख सुविधा र मोजमस्तीमा प्रेरित गर्न सक्ने उत्तिकै सम्भावना नहुने होइन । तर डर्यान्ट दम्पतिलाई भने अझ असाधारण प्रकृतिको प्राज्ञिक क्षेत्रमा ढुक्क भएर लाग्न मुक्ति प्रदान गर्यो । आर्थिक रूपले चिन्ता गर्नुनपर्ने भएपछि उनीहरू सभ्यताको कथा लेख्ने योजना बुन्न थाले । सभ्यताको कथा लेख्ने योजना विलले १९१२ मै आफ्ना मित्र मण्डलीमा व्यक्त गरेकै कुरा हो । त्यो बेला यिनले सभ्यताको कथा पाँच ठेलीमा लेख्ने सोचाइ राखेका थिए । यस्तो योजना आफैमा त्यो समय नयाँ थियो । समयको प्रवाहसँगै भिन्न समाजको इतिहास, संस्कृति, राजनीति, विज्ञान, कला, अर्थ–वाणिज्य, साहित्य, धर्म सबै आयामलाई एक साथ चर्चा हुनु ग्रन्थको दृष्टिले पनि नितान्त नयाँ थियो । उनको अर्को निष्कर्ष थियो,‘इतिहासको ज्ञान नहुनेहरू यसलाई दोहोर्याउनको लागि अभिशप्त हुन्छन् ।’

यो पृष्ठभूमिमा सभ्यताको कथा, कथा नभएर एउटा महाकथा हुने थियो र भयो पनि त्यस्तै । ड¥यान्ट दम्पतिले यही काममा हात हाले र जन्मियो ‘स्टोरी अफ सिभिलाइजेसन’का एघार ठेली । यो ठेली मूलतः युरोपको सभ्यताको कथा हो । तर उनीहरूले पहिलो ठेली पूर्वीय सभ्यताबाट सुरु गरे । बाँकी दश भागचाहिँ युरोपको बारेमा । युरोपको कथा भन्न ग्रिसको, रोमको, इसाई धर्मको, मध्ययुगको, पुनर्जागरणको, पुनर्निर्माणको, फ्रान्सको राज्यक्रान्तिको, एनलाइटनमेन्टको र विज्ञानको चमत्कारको कथा सबै भन्नु पर्छ । डर्यान्टले सन् १९३५ मा ओरिएन्टल सिभिलाइजेसन भनेर पहिलो ठेली निकालेर सन् १९७५ एज अफ नेपोलियन शीर्षकको एघारौँ ठेली निकालेपछि यो शृङ्खलाले बिट मारेको थियो ।

१९७५ मा विल डर्यान्ट नब्बे वर्षका पुगेका थिए । पत्नी अरिएलचाहिँ सतहत्तर वर्षकी थिइन् । पचास वर्षको यो दीर्घ अवधिमा उनीहरूले यो महाठेली बाहेक थुप्रै पुस्तकहरू बेला बेलामा प्रकाशनमा ल्याए । ती मुख्यतः इतिहास र दर्शनसँग सम्बन्धित नै थिए । यसको मुख्य कारण के हो भने विल इतिहासलाई दर्शनशास्त्रको अंशको रूपमा बुझ्थे । मानिसको जिज्ञासा जहिल्यै आफू र आफ्नो वरिपरिको संसार अर्थात जीवन र जगत बुझ्नेमै केन्द्रित हुन्छ भन्ने विलको धारणा थियो । यसलाई उनी दार्शनिक जिज्ञासा भन्थे । उनका अनुसार जीवन र जगतलाई बुझ्ने दुईवटा बाटा हुन्छन् । पहिलो बाटो हो विज्ञानको । विज्ञानले बाह्य संसारको बनोट र कार्यप्रणालीको बारेमा जानकारी दिएर जीवन र जगत बुझ्न मदत गर्न सक्थ्यो । अर्को हो इतिहास । इतिहासलाई विल उदाहरणसहितको दर्शन भन्थे । इतिहासका घटनाहरूले जीवन र जगतलाई घटनाहरूमार्फत प्रस्ट पारिरहेका हुन्छन् भन्ने ठान्थे उनी । उनको आकर्षण विज्ञानमा भन्दा इतिहासतिर बढी भयो । गणितीय सूत्रहरूको व्याख्यामा उनलाई चासो भएन । विज्ञानका निष्कर्षहरूले मानिसको जीवनमा पारेको प्रभाव नै उनलाई अध्ययन गर्नलाई पर्याप्त थियो ।
‘सत्यले हामीलाई मुक्ति दिन्छ ।’ यो विलको अर्को निष्कर्ष थियो ।

विल डर्यान्टको जन्म सन् १८८५ को नोभेम्बर ५ तारिखमा अमेरिकामा भएको हो । डर्यान्टको परिवार क्यानडाको क्युबेकबाट क्यालिफोर्निया झरेको थियो । त्यसो हुँदा यिनलाई फ्रेन्च र अङ्ग्रेजी भाषाको ज्ञान सानैदेखि थियो । अध्ययनको क्रममा प्राचीन भाषाहरूप्रति यिनको चासो बढ्दै गयो । ग्रिक, ल्याटिन लगायत थुप्रै भाषामा यिनको दख्खल विकास भयो । अरिएल डर्यान्टको जन्म सन् १८९८ मे दसमा अमेरिकामै भएको हो । अरिएल यहुदी मूलकी थिइन् । विवाहअघि यिनको नाम छाया इदा काउफम्यान थियो । विवाहपछि पतिले राखिदिएको अरिएल नामलाई नै यिनले कानुनी रूपमै परिवर्तन गरेपछि यिनी अरिएल डर्यान्ट नामले चिनिन थालिन् । अरिएलको परिवार आर्थिक रूपले सामान्य हैसियतका थिए । युक्रेनबाट भाग्यको खोजीमा यो परिवार बेलायत हुँदै अमेरिका पुगेको थियो । अमेरिकामा पत्रिका बेच्ने लगायतका कामबाट व्यवसाय सुरु गरेका थिए यिनीहरूले । अरिएलका पिता राजनैतिक रूपले अराजकतावादसँग नजिक थिए । त्यसैले न्युयोर्क पब्लिक स्कुलमा पढ्दै गरेकी छोरी छायालाई अराजकतावादीहरूले चलाएको प्रगतिशील विद्यालयमा भर्ना गराइदिएका थिए । त्यो बेला यिनी चौध वर्षकी थिइन् । त्यो त्यही स्कुल हो, जहाँ यिनको भेट विलसँग भयो ।

विलको परिवार क्याथोलिक धर्ममा आस्थावान् थियो । तर विललाई भने कुनै पनि धर्ममा विशेष आस्था थिएन । संसारका विभिन्न धर्मको बारेमा अध्ययन गरिसकेपछि यिनलाई धर्म भन्ने कुरा मानिसले आफ्नो चिन्तन, परिवेश र तत्कालीन ज्ञानको आधारमा विकास गरेको अवधारणा हो भन्ने कुरा प्रस्ट भयो । कुनै पनि धर्म अन्तिम र एक मात्र सत्यको व्याख्याता होइन भन्ने कुरामा यिनलाई कुनै द्विविधा रहेन । फेरि चाल्र्स डार्बिनको क्रम विकासको सिद्धान्तले पनि यिनलाई उत्तिकै प्रभाव पारेको थियो । न्युटन आदि वैज्ञानिकहरूको प्रकृतिलाई व्याख्या गर्ने नियमहरूको प्रभाव त छँदै थियो ।

विवाह, करियर र प्रेम

सन् २००७ मा स्नातक गरेपछि विलले पढाउन थाले । यिनलाई न्युयोर्कको एउटा विद्यालयले प्रिन्सिपल भइदिनको लागि अनुरोध गर्यो । स्कुलमा पढाउँदै गर्दा यिनी छाया इदासँग आकर्षित भए । केही समयको प्रेमपछि अट्ठाइस वर्षे विल र पन्ध्र वर्षे इदाको विवाह भयो सन् १९१३, अक्टोबर ३१ का दिन । आफैले पढाउँदै गरेको स्कुलको छात्रासँग विवाह गरेर फेरि त्यहीँ पढाइरहन सुहाउँदो कुरा थिएन । त्यसैले विवाहअघि यिनले स्कुलबाट राजीनामा दिए । विवाहपछि पनि दुवैको अध्ययनचाहिँ जारी रह्यो । सन् १९१७ मा विलले पीएचडी सिध्याए ।
अरिएल भर्खरकी किशोरी चञ्चले र छुकछुके पनि थिइन् । बालसुलभ बदमासी पनि गइसकेको थिएन विलचाहिँ परिपक्व भइसकेका थिए । पत्नीलाई यिनी पक भनेर बोलाउँथे । पक शेक्स्पियरको मिडसमर नाइट्स ड्रिम नाटकको एउटा पात्रको नाम थियो । शेक्सपियरले यो पात्र अङ्ग्रेज लोककथाबाट लिएका थिए । अरियल नामचाहिँ उनले पछि मात्र दिएका हुन्, जुन कानुनी रूपमै परिवर्तन गरेपछि स्थायी बन्न पुगेको हो । अरिएल बहिर्मुखी स्वभावकी थिइन् भने विलचाहिँ अन्तर्मुखी स्वभावका । अरिएललाई धेरै बोल्नु पर्थ्यो, बहस गर्नु पर्थ्यो । विलले पत्नीलाई बौद्धिक संसारमा प्रवेश गराए भने अरिएलले पतिलाई बाह्य समाजसँग घुलमिल गराइन् । उनीहरू एकार्काका पूरक व्यक्तित्व थिए । अरिएलको जिज्ञासु स्वभाव र नयाँ कुरा जान्न सधँै तत्पर रहने स्वभावको विल प्रशंसक थिए । अरिएल महिला अधिकारको पनि पक्षपाती थिइन् । यसमा विलको पूर्ण सहयोग थियो ।

विलको अधिकांश प्रकाशनमा पर्दापछाडिबाट अरिएलको समानान्तर योगदान रहने गथ्र्यो, भलै लेखकको रूपमा अरिएलको नाम नआएको किन नहोस् । ‘स्टोरी अफ सिभिलाइजेसन’को पनि पहिलो छ खण्डमा अरिएलको नाम छैन । विलले लेखेका र सङ्कलन गरेका कुरालाई वर्गीकरण गर्ने, फाइलिङ गर्ने, मिलाउने आदि काम थियो अरिएलको । चौथो ठेलीको तयारी हुँदै गर्दा अरिएल अनुसन्धानमै पनि भिड्न थालिन् । र, सातौँ ठेलीबाट त सहलेखकको हैसियतमै पुगिन् पनि । उनीहरूको संयुक्त लेखनमा र विलको एकल समेत गरेर थुप्रै प्रकाशन भए । वास्तवमा लेखन र प्रकाशन करिअर डर्यान्ट दम्पतिको एकल करिअर थिएन । उनीहरू आफ्नो करिअरलाई डुअल करिअर नै भन्न चाहन्थे । कतिसम्म भने आत्मकथा पनि एकल प्रकाशित गरेनन् । १९७७ मा प्रकाशित आत्मकथालाई उनीहरूले डुअल अटोबायोग्राफी नाम दिएका छन् ।

उमेरको अन्तर देखिए पनि डर्यान्ट श्रीमान श्रीमतीको बीच असाध्यै गहिरो स्नेह थियो । सुरुमा अरिएललाई विल हास्यास्पद व्यक्ति लाग्थ्यो । सामान्य उचाइ भएका विल अलि लजालु स्वभावका पनि थिए । चञ्चले र बोलिरहनु पर्ने अरिएललाई विलको व्यक्तित्व हास्यास्पद लाग्नु स्वाभाविक थियो । यो फरक नै उनीहरू बीच आकर्षणको कारण बन्यो । आफ्नो प्रेम सम्बन्धको बारेमा अरिएलले नातिनीसँग खुलेर चर्चा गरेकी थिइन् । उनका अनुसार उमेरको अन्तरले उनीहरूबीचको पारस्परिक प्रेमलाई कुनै प्रभाव पारेन, बरु उमेरमा भएको यो अन्तर र स्वभावमा भएको फरकपनकै कारण सम्बन्ध अझ मजबुत बन्न मदत पुग्यो । पारस्परिक सम्मान र प्रेमकै कारण आफूहरूले दीर्घ जीवन प्राप्त गरेका उनीहरूको ठहर थियो । सम्भवतः यही कारण उनीहरूको मृत्यु पनि चौध दिनको अन्तरमा हुन पुग्यो ।

१९८१ मा विल आफ्नो ९६ औं वर्षमा थिए । मुटुमा समस्या देखिन थाल्यो । सामान्य हृदयाघात तीन पटकसम्म भयो । अन्ततः उनलाई अस्पताल भर्ना हुनु पर्यो । एक सय वर्ष पुग्न लागेका यिनलाई डाक्टरले अप्रेसन गर्दा आराम हुने सल्लाह दिएका थिए । परिवारले पनि अप्रेसन गर्न सहमति जनायो । तर अरिएललाई के भयो कुन्नि यो पटक श्रीमान फर्केर आउँदैनन् भन्ने लाग्यो । अनि त यिनले अन्न ग्रहण नै त्यागिदिइन् । त्यसको केही दिनपछि अक्टोबर २५ मा अरिएलको देहान्त पनि भइहाल्यो । अरिएलको मृत्यु हुँदा विल अस्पतालमै थिए । मुटुको अप्रेसन भएको थियो । मुटुका बिरामी यिनलाई पत्नीको देहान्त भएको कुरा बताइएको थिएन । तर अरिएलको मृत्यु सामान्य व्यक्तिको मृत्यु थिएन । अमेरिकामा उनीहरू सेलिब्रिटी विद्वान थिए । राष्ट्रपति गेराल्ड फोर्डले १९७७ मा दम्पतिलाई अमेरिकी नागरिकलाई दिइने सर्वोच्च पदक ‘स्वतन्त्रता पदक’बाट सम्मान गरिसकेका थिए । सभ्यताको कथा शृङ्खलाको दशौँ ठेली रुसो एन्ड रिभोल्युसनको लागि उनीहरूलाई पुलिट्जर पुरस्कार प्राप्त भएको थियो । अरिएल पनि ‘वुमन अफ द इयर’ अन्तर्गत चुनिएकी अमेरिकी महिलाको रूपमा चिरपरिचित थिइन् । उनीहरूको सामान्य घटना पनि मिडियाको विषय बन्थ्यो । अरिएलको मृत्यु मिडियामा नआउने कुरै थिएन । उनीहरूका नातिनीका अनुसार परिवारले थाहा नदिए पनि कसो कसो विललाई पत्नीको मृत्युको पत्तो भइछाडेको थियो ।

अरिएलको मृत्यु भएको सातौँ दिन अर्थात अक्टोबर ३१ तारिखमा उनीहरूको अठसट्ठीऔँ विवाहोत्सव थियो । त्यो उनीहरूले मनाउन पाएनन् । नोवेम्बर ५ का दिन विल छयान्नब्बे वर्ष पूरा गरेर सन्तान्नब्बे वर्षमा प्रवेश गरे । सम्भवतः श्रीमतीको देहावसान भइसकेको कुरा उनलाई पत्तो भइसकेको थियो । भर्खर अपरेसन गरेको मुटुले त्यो पीडा सहन सकेन । अरिएल सही अर्थमा विलकी अर्धाङ्गिनी थिइन् । विलको इच्छाशक्तिको आधार अरिएल नै थिइन् । त्यसको दुई दिनपछि नोभेम्बर ७ मा यी महान् हस्तीले पनि सदाका लागि आँखा चिम्लिए ।

सन्तान

विल तथा अरिएलको एउटा मात्र छोरी थिइन्, इथेल डर्यान्ट । इथेल १९१९ मा जन्मेकी थिइन् । मातापिताले लेखेका पुस्तकहरूबाट जोडिएको अथाह सम्पतिको उत्तराधिकारी यिनी नै थिइन् । डर्यान्ट दम्पतिले पछि एक छोरालाई धर्मपुत्र पनि बनाएका थिए । डर्यान्ट छोरीलाई राम्रो अभिभावकत्व दिने कुरामा सचेत थिए । उपयुक्त ढङ्गबाट शिक्षादीक्षा र हुर्काइ भएमा बच्चाहरूको विकास सही मार्गबाट अगाडि बढ्न सक्छ भन्ने विलको धारणा थियो । यसकारण इथेलको हुर्काइमा विल एउटा छुट्टै शैली अपनाउन चाहन्थे ।

सन्तानलाई स्वावलम्बी बनाउन उनीहरूलाई आफ्ना नियमित काम गर्न सानैदेखि प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यता थियो उनीहरूको । त्यसमा उनीहरूले नयाँ तरिका अपनाए । त्यो के भने कामको पारिश्रमिक दिने ! आफ्ना काम आफै गरेबापत इथेलले बाबुआमाबाट ‘तलब’ पाउन थालिन् । तलबबापत छोरीले ओछ्यान मिलाउने, आफूले खाएका भाँडा पखाल्ने, आफ्ना कोठा सफा गर्ने लगायतका काम गर्नु पथ्र्यो । तलबचाहिँ पढाइ आदि खर्च हेरेर उनीहरूले तोकिदिएका हुन्थे । आकस्मिक खर्च आवश्यक पर्दा गिफ्ट भौचर वा उपहार दिन्थे । यसले इथेलको आर्थिक गर्जो टथ्र्यो । यस्तो जीवनशैलीले छोरीलाई स्वाभिमानपूर्ण जीवन बाँच्न प्रोत्साहन गर्छ भन्ने उनीहरूको सोचाइ थियो । त्यो तलबबाट इथेल आफ्ना लागि किताब, लुगा, जुत्ता आदि आवश्यक सामान किन्थिन् । स्कुलमा पैसा पनि त्यही तलबबाट तिर्नु पथ्र्यो । कहिलेकाहीँ बाआमालाई गिफ्ट पनि त्यही पैसाबाट आउँथ्यो विभिन्न अवसरमा । सँगै बजार जाँदा बा, आमा र छोरी आआफ्ना पैसाबाट आआफ्ना आवश्यकताहरू खरिद गर्थे ।

कुनै समय नपुग खर्चको लागि इथेल बाआमासँग लोन पनि लिन्थिन् । तलबबाट बिस्तारै सञ्चित गर्दै त्यो ऋण तिर्थिन् पनि । यसले उनलाई सानैबाट मितव्ययी पनि बनायो, आत्मनिर्भर हुनुपर्ने शिक्षा पनि दियो, कामप्रतिको सम्मान पनि बढायो । पढाउने, सिकाउने तरिका पनि उनीहरूको अनुकरणीय थियो । छोरीले कुनै कुरा नजान्दा उनलाई गाली गर्ने वा सोझै सिकाइदिने तरिका उनीहरू अपनाउँदैन थिए । छोरीको समस्यालाई उनीहरू आफ्नै र सिङ्गो परिवारको समस्याको रूपमा ग्रहण गर्थे ।

इथेलले गणितका कुनै समस्या हल गर्न नसक्दा छोरी सँगसँगै बाआमा पनि असिनपसिन हुन्थे, हिसाबु मिलाउन पूरै भिड्थे, नमिलेको केर्थे, सच्याउँथे । सामान्य सिकारूले जेजस्तो व्यवहार गर्छ यी विद्वान बाआमा पनि छोरीसँग त्यस्तै अभिनय गर्थे । छोरीसँग बसेर समस्यामाथि छलफल गर्थे र सम्भावित समाधानमाथि बहस गर्थे । छोरीले थाहा नपाउने गरी केही गल्ती गरिदिने, समस्या हल नभएकोमा चिन्तित बन्ने र छोरीलाई त्यो पत्तो लगाउन प्रोत्साहन गर्ने उनीहरूको तरिका थियो । यसले केटाकेटीलाई सिक्ने क्रममा गल्ती गर्नु अपराध होइन, सामान्य कुरा हो, ठूलाले पनि गर्छन् भन्ने छाप पर्छ भन्ने उनीहरूको धारणा थियो । आफू पनि सँगै खटेर छोरीका गणितका समस्याहरू हल गर्ने तरिकाले छोरीको सिकाइमा सकारात्मक प्रभाव पारेको उनीहरूको अनुभव थियो । केटाकेटीको सिकाइ समस्यालाई बाबुआमाले उनीहरूको निजी समस्याभन्दा पनि पारिवारिक र साझा समस्याको रूपमा लिनुपर्ने उनीहरूको सल्लाह छ ।

प्रकाशनहरू

‘हिरोज अफ हिस्ट्री’ विलको अन्तिम पुस्तक हो । यो उनको मृत्युपछि प्रकाशित भएको हो । स्टोरी अफ सिभिलाइजेसनको सारांशको रूपमा छोरी इथेलको संयोजकत्वमा सर्वसाधारणको लागि प्रवचन शृङ्खलाको रूपमा यसको तयारी गरिँदै थियो । चौबीस शृङ्खलाको योजना थियो । तर एक्काईसवटा मात्र तयार हुन सके । ‘प्लेजर्ज इन फिलसफी’ (पहिले ‘म्यान्सन्स अफ फिलोसफी’ शीर्षकमा प्रकाशित), ‘एडभेन्चर्स इन जिनियस’ विलका एकल कृति हुन् । उनीहरूको संयुक्त लेखनमा ‘इन्टरप्रिटेसन्ज अफ लाइफ’, ‘द लेसन्ज अफ हिस्ट्री’, ‘फलन लिभ्ज’ आदि प्रकाशित छन् । यी कृतिहरूमा डर्यान्टले इतिहासबाट सामान्य मानिसले लिनुपर्ने शिक्षा, इतिहासका महत्वपूर्ण व्यक्तित्वका जीवन चरित, मानव जीवनका सुन्दरतम पक्षहरू जस्तै प्रेम, विवाह, यौन, सन्तान आदिको बारेमा आफ्ना दृष्टिकोणहरू प्रस्तुत गरेका छन् ।

Logo