घिमिरे युवराजको नाट्य कृति लोकार्पण

घिमिरे युवराजको नाट्य कृति लोकार्पण


नाटक लेखक एवं निर्देशक घिमिरे युवराजको नाटक आँधीको मनोरम नृत्य पुस्तकाकार स्वरूपमा आएको छ । गत मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा रंगकर्ममै क्रियाशील सातजना युवाले संयुक्त रूपमा उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

’आँधीको मनोरम नृत्य’ मा बालबालिका र किशोरकिशोरीको मनोविज्ञान विपरीतको शैक्षिक प्रणाली एवं परिवारको व्यवहारले निम्त्याउन सक्ने दुर्घटना र दूरगामी असरलाई विषय बनाइएको छ ।

डा. शिव रिजालले पुस्तकमाथि टिप्पणी गर्दै पुँजीवादले जकड्याएको मध्यम वर्गको मनोदशा उधिनेको नाटकले बालबालिकाहरुको यात्रा र पारिवारिक, सामाजिक परिवेश केलाएको बताए । नाटकका पुस्तक लेख्ने, छाप्ने र प्रवद्र्धन गर्ने संस्कृति आवश्यक रहेको भन्दै डा. रिजालले नाटक मञ्चनसँगै पुस्तक प्रकाशनमा पनि जोड दिने घिमिरे युवराजको गतिशीलता सराहनीय भन्दै प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै नाटक लेखक घिमिरेले एकातिर नेपाली नाटकको अभाव भएको र अर्कातिर आफ्नो लेख्ने चाहना पनि भएकाले नयाँ सिर्जना तयार पारेको बताए । उनले भने– ‘आँधीको मनोरम नृत्यमार्फत मैले शहरी क्षेत्रका बालबालिकाको मनोविज्ञान प्रस्तुत गर्ने प्रयास गरेको छु, यो किताब मेरै चेतना र ज्ञानको थर्मोमिटर हो ।’ यो नाटक गत वैशाख–जेठमा शिल्पी थिएटरमा मञ्चन गरिएको थियो ।

पुस्तक लोकार्पण कार्यक्रमअघि शिल्पीमा तीन महीने कोर्स पूरा गरेका ११औं ब्याचका १६ जना विद्यार्थीको नाट्य प्रस्तुति एवं दीक्षान्त समारोह राखिएको थियो । त्यस क्रममा ‘निर्जीवहरूको जीवन’, ‘तार्तुफको स्त्री स्वरूप’ तथा ‘ही इज नट माई टाइप’ शीर्षकका नाटक मञ्चन गरिएका थिए ।

विद्यार्थीहरूलाई शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी तथा चलचित्र निर्देशक यादव खरेलले प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रमको अन्त्यतिर देखाइएको ‘आँधीको मनोरम नृत्य’को एक अंश र सांगीतिक प्रस्तुति बेजोड थियो । किशोरकिशोरीको मनोविज्ञानलाई घरपरिवार र विद्यालयले नबुझ्दा झेल्नुपरेको मानसिक प्रताडनाबारे कलाकार संगीता उराँवको जीवन्त अभिनयलाई व्याख्या गर्ने स्मारिका फुयालको गायन र निमन चित्रकारको गितार वादनले दर्शकदीर्घा स्तब्ध भएको थियो ।

 

Logo