राम मन्दिरको प्राण प्रतिष्ठाकै मुहूर्तमा “सनातनी रामा” पुस्तक लोकार्पण

राम मन्दिरको प्राण प्रतिष्ठाकै मुहूर्तमा “सनातनी रामा” पुस्तक लोकार्पण

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । पिल्ग्रिम्स पब्लिकेशनका संस्थापक रामानादा तिवारीको आध्यात्मिक जीवन तथा चेतनामा आधारित पुस्तक “सनातनी रामा” सोमबार लोकार्पण गरिएको छ। पिल्ग्रिम्स बुक हाउसद्वारा आयोजित धार्मिक समारोहबीच भारतको अयोध्यामा निर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाकै मुहूर्तमा पुस्तक लोकार्पण गरिएको हो।

वेदमन्त्र वाचन गर्दै नेपाली लोक बाजा संग्राहलयका संस्थापक अध्यक्ष रामप्रसाद कँडेलसहितका ब्राह्मणद्वारा सामूहिक शंखध्वनीका साथ पुष्प बृशती गराई फरक विधिद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो। वक्ताहरूले अयोध्यामा राम मन्दिर स्थापना गरिएको प्रसङ्ग जोड्दै धर्म र अध्यात्माले नै अबको समय र परिस्थितिलाई सन्तुलनमा ल्याउन सक्ने हुँदा वौद्धिक जमातले यस विषयलाई विचार सम्प्रेषण र लेखनको माध्यमबाट उजागर गर्नुपर्ने जोड दिए ।

प्रमुख अतिथि विश्व धर्म संसदका विश्वशान्ति दूत संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले अध्यात्मले संसारलाई जोड्न सक्ने हुनाले शान्ति र सदभावका लागि आध्यात्मिक विचारलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । विशेष अतिथि पूर्व उपराष्ट्रपति परमान्द झाले धर्म दर्शनका विषयलाई पुस्तकले आम पाठक विच विचार सम्प्रेषण गर्न मद्दत गर्ने कुरामा जोड दिए ।

हिन्दू विद्यापीठका प्राचार्य/आध्यात्मिक वक्ता डा. चिन्तामणि योगीले धर्म शास्त्रले मानव समुदायको कल्याणको बाटो देखाएकाले शास्त्रका गहन विचारलाई आत्मसात गरेर अघि बढ्न सके मानव तथा विश्व कल्याण हुने बताए ।

लिटल एन्जल कलेज अफ म्यानेजमेन्टका प्राचार्य साहित्यकार डा. मित्रबन्धु पौडेलले पुस्तक भित्रका रहस्य खोल्दै जीवन,चेतना,अनुभव र अनुभूतिलाई पुस्तकमा समेट्ने प्रयास भएको र अंग्रेजी भाषामै लेखिएको पुस्तक भएकाले विश्वभरिकै आध्यात्मिक पाठकलाई पुस्तकले समेट्ने बताए ।

त्यस्तै, लेखक वेवेकानन्द झाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाकै समयमा पुस्तक विमोचन हुन पाउनु गौरवको विषय हो भन्दै पुस्तकमा व्यक्ति परिचय भन्दा पनि चरित्र र व्यक्तित्वलाई बढी महत्व दिएर लेख्ने प्रयास भएको जानकारी गराए ।

पिल्ग्रिम्सका संस्थापक आध्यात्मिक व्यक्तित्व सनातनी रामाले साहित्य र अध्यात्म संसारलाई जोढ्ने विषय भएकाले आफूले आध्यात्मिक तथा धार्मिक पुस्तकको प्रवर्द्धनलाई जोड दिएको बताए ।

धार्मिक,आध्यात्मिक,संचार,शिक्षा क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा पिल्ग्रिम्स बुक काठमाडाैंकी संचालिका एलिजावेथले स्वागत मन्तब्य दिएकी थिइन् भने पूर्वनेपाल सदिक्षा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् ।

Logo