बजगाईंले ल्याए ‘दाइबुचु’

बजगाईंले ल्याए ‘दाइबुचु’

केन्द्रबिन्दु
0
Shares

२५ जुलाई, लन्डन । बेलायत निवासी नेपाली साहित्यकार कृष्ण बजगाईंले दाइबुचु नियात्रा सङ्ग्रह ल्याएका छन् । अंग्रेजी साहित्यका स्वच्छन्दतावादी कवि विलियम वर्डस्वर्थ म्युजियमको रूपमा सञ्चालित उनको निवास ग्रासमेर, बेलायतमा लेखक बजगाईंले ‘दाइबुचु’ सार्वजनिक गरे । बजगाईंको जापान यात्राका अनुभूतिहरू समाविष्ट ‘दाइबुचु’ शिखा बुक्स काठमाडौंले प्रकाशन गरेको हो ।

बौद्धिक र अनुसन्धानमूलक नियात्रा लेखनमा सक्रिय बजगाईंले यस कृतिमा जापानका कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्राका विषय बनाएका छन् । एघारवटा साहित्यिक कृतिका सर्जक बजगाईंको यो तेस्रो नियात्रा सङ्ग्रह हो । यसभन्दा अघि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

बेल्जियम र बेलायतमा लामो समय बिताएका बजगाईं साहित्य सिर्जना र साहित्यिक संघसंस्थामा सक्रिय छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाईंले विगत १३ वर्षदेखि समकालीन साहित्य डट कम नामक वेब पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् । उनी बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक पनि हुन् ।

Logo