साहित्यकार गोपीन्द्र पौडेलको नियात्रा संग्रह ‘यात्राको धुन’ सार्वजनिक

साहित्यकार गोपीन्द्र पौडेलको नियात्रा संग्रह ‘यात्राको धुन’ सार्वजनिक

केन्द्रबिन्दु
177
Shares

काठमाडौँ । साहित्यकार एवं समालोचक प्रा.डा. गोपीन्द्र पौडेलको नियात्रा संग्रह ‘यात्राको धुन’ लोकार्पण भएको छ ।

प्रगतिशील लेखक संघ (प्रलेस), नेपालको आयोजनामा शनिबार प्रलेस अध्यक्ष डा. मधुसुदन गिरी, वरिष्ठ आख्यानकार हरिहर खनाल, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र सर्जक पौडेललगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै समालोचक विष्णु ज्ञवालीले कृति पढ्दा निकै आनन्द आएको बताए । ‘घरमा बसेर अघाउँदै लगभग दश देश घुमियो । निकै मज्जा आयो ।’ उनले भने, ‘केही छुटेका या केही बढी भए कि भन्ने खालका विषय पनि छन् । तर समग्रमा पढ्दा राम्रो लाग्यो । नियात्रामा विविधता देखेँ।’

यस्तै, नियात्राकार नन्दु उप्रेतीले यस पुस्तकमा पौडेलले नेपाली समाजको कटुसत्यता ल्याएको बताए । ‘स्मृतिपीडा, खुसी र चञ्चलता पाउँदा आनन्द अनुभूत गरेँ ।’ उनले भने, ‘विदेश र नेपाललाई तुलना गर्दा भने सकारात्मक भन्दा पनि मनोबल कम गर्ने पो हो कि भन्ने खालका केही कुरा पनि आएकाले केही नमज्जा अनुभूत पनि भयो।’

यसैगरी, नियात्राकार जय छाङछा राईले नियात्रा यथार्थ र कल्पनाशील हुनुपर्ने भन्दै ‘यात्राको धुन’मा पनि यही कुरा पाएको बताए ।

यसअघि चार समालोचना एउटा व्यङ्ग्यात्मक निबन्धसँगै थुप्रै फुटकर लेख प्रकाशनमा ल्याएका कृतिकार प्रा.डा. पौडेलले विश्वका दशभन्दा बढी देशको यात्रा र केही साथीको सल्लाहले आफूलाई नियात्रामा तानेको बताए । भूँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ ।

Skip This
Skip This
Logo