काठमाडौं । नेपाली साहित्य र रंगमञ्चमा आफ्नो विशिष्ट पहिचान बनाएका लेखक तथा निर्देशक घिमिरे युवराजको तेस्रो नाटक ‘लस्ट एण्ड फाउण्ड’ विमोचन गरिएकाे छ।
शनिबार साङ्ग्रिला बुक्स र सांग्रिला मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको उक्त विमोचन समारोहमा साहित्यकार उमा सुवेदी, उषा शेरचन, अभिनेता अनुप बराल र लेखक कुमार नगरकोटीले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन् । यसअघि घिमिरेको ‘आँधीको मनोरम नृत्य’ र ‘विमोक्ष’ शीर्षकका नाटकहरू प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा लेखक घिमिरे युवराज र अभिनेता दिव्यदेवबीच नाटकको विषयवस्तु, रंगमञ्च, चलचित्र, र सिर्जनात्मक प्रक्रियासम्बन्धी गहन र रोचक संवाद भएको थियो। उपस्थित साहित्यकार र रंगकर्मीहरूले ‘लस्ट एण्ड फाउण्ड’ लाई नेपाली रंगमञ्चमा नयाँ आयाम थप्ने कृतिको रूपमा प्रशंसा गरेका थिए।
लेखक घिमिरे युवराजका अनुसार, ‘यो कृति केवल हराएका कुराहरूको खोजीमा मात्र सीमित छैन,’ यसले ती कुराहरू फेला पर्दा प्राप्त हुने सन्तुष्टि, नयाँ सुरुवातको सम्भावना, र आत्मिक पुनर्जननको सन्देश पनि बोकेको छ। नाटकको कथावस्तुले किशोर–किशोरीदेखि वयस्कसम्मका पाठक र दर्शकलाई समेट्छ, जसले डिजिटल युगमा मानवीय सम्बन्ध र आत्मपहिचानको महत्त्वलाई पुनर्विचार गर्न बाध्य बनाउँछ।’
उनले यहि जेठ २ गतेदेखि काठमाडौंको शिल्पी थिएटरमा ‘लस्ट एण्ड फाउण्ड’ को मञ्चन हुने पनि घोषणा गरे ।





























प्रतिक्रिया