गायिका शाह र संगीतकार मोक्तानलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

गायिका शाह र संगीतकार मोक्तानलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

केन्द्रबिन्दु
105
Shares

काठमाडौं । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ बाट वरिष्ठ गायिका चन्द्रकला शाह र वरिष्ठ सङ्गीतकार शीलाबहादुर मोक्तान सम्मानित भएका छन् ।

शनिबार कुपण्डोलमा आयोजित एक विशेष समारोहका बीच भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ र ‘सिटी एक्सप्रेस मनी ट्रान्सफर’ को संयुक्त प्रस्तुतिमा हरेक वर्ष प्रदान गरिने सम्मान यस वर्ष शाह र मोक्तानलाई प्रदान गरिएको हो ।

प्रतिष्ठानकी संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको उक्त सम्मानले गायिका शाह तथा संगीतकार मोक्तानलाई सम्मानित गरेका थिए ।

प्रतिष्ठानले यो वर्षको सुशीला आचार्य सुस्वास्थ कामना सम्मान–२०८१’ दिवंगत कलाकार घनश्याम गौतमलाई ताम्रपत्रसहित सम्मानित गरेको थियो । क्यान्सरले बितेका कलाकार गौतमको तर्फबाट उनकी धर्मपत्नी घनज्योती गौतमले पुरस्कार ग्रहण गरेकी थिइन्।

समारोहमा बोल्दै दिवंगत भक्तराज आचार्यका सुपुत्र गायक तथा सङ्गीतकार सत्यराज आचार्यले हृदयदेखि नै बुबाआमालाई पुज्ने मान्छे कहिले पछि नपर्ने बताए । स्वर्गीय बुबालाई सम्झँदै बुबाले गरेजस्तो काम आफूहरुले गर्न नसके पनि उहाँकै पदचाप पछ्याइ रहेको उनले बताए ।

सो अवसरमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संगीत र गीत भनेको मान्छेको भावनालाई प्रष्फुटन गराउने माध्यम रहेको बताए ।

यसैगरी सम्मान ग्रहण गरेपछि गायिका शाहले भजन शिरोमणि भक्तराज आचार्यलाई स्मरण गर्दै उनको नेपाली सांगीतिक क्षेत्रको योगदानका बारेमा चर्चा गरेकी थिइन्।

संगीतकार मोक्तानले पनि काठमाडौं आएपछि रेडियो नेपाल पुगेर पहिलो पटक भेटेको संगीतकर्मी नै भक्तराज आचार्य भएको स्मरण गरे । आचार्यको मार्गदर्शनले आजसम्म सांगीतिक क्षेत्रमा सक्रिय रहन सहयोग पुगेको उनको भनाइ थियो ।

Logo