ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं
नेपाली साहित्यमा एउटा नियात्रा संग्रह थपिएको छ । साहित्यकार गिता रेग्मीको पत्थरै पत्थर । बर्मा, थाइल्यान्ड र मलेसियाको यात्रा वर्णनमा केन्द्रित रहेर तयार भएको प्रस्तुत कृतिले साहित्यमा हिजोआज लेखनमा रहेको नियात्रा विधालाई थप उर्जा दिएको छ ।
लेखकले जहाँ जहाँको यात्रा गर्नु भएको छ, कृति पढ्दै जाँदा पाठकले पनि आफू त्यहि ठाउँको भ्रमण गरिरहेको आभास पाउनु यस कृतिको मुख्य विशेषता हो । लेख्न त जसले पनि लेख्छन् , तर लेखाईलाई पूर्णता दिनेहरु भने ज्यादै कम मात्र हुन्छन् । यसमा लेखकले पूर्णता पाएको प्रष्ट देखिन्छ । कृतिमा समावेश भएका लेखकका बलिया शब्दहरुले पाठकलाई सँगसँगै हिडाउँछन् , रोमाञ्चक बनाउँछन् , अनि निश्चित साहित्यिक स्वाद दिएर गन्तब्यमा पुर्याउँछन् पनि । त्यसैले त कृति सफल बनेको छ । साहित्य काल्पनिक मात्र हुँदैन, भोगिएका धेरै विषयहरु पनि साहित्यिक खुराक हुन्छन् भन्ने कुरालाई रेग्मीको यस नियात्रा संग्रहले प्रष्ट्याएको छ ।
लेखककै शब्दलाई सापटी लिने हो भने उहाँका तीनवटै देश भ्रमणका आआफ्ना विशेषताहरु छन् । बर्माको शान्ति र सौन्दर्य, थाइल्यान्डको विकास र रमझम तथा मलेसियामा नेपाली कामदारहरुले झेलिरहेका हजारौं समस्याहरु अनि अप्ठ्यारा देखेरै पनि अझै मलेसियामै जान हतारिएका नेपाली युवाहरुका बाध्यताहरु पनि यसमा समावेश भएका छन् । आज हजारौं नेपालीहरुले यी ३ वटा मात्र होइन दर्जनौं मुलुकहरु घुमिसकेका छन् । सबैले केहि न केहि भोगेका र अनुभव गरेका पनि छन् तर उनीहरु सबैले तिनीहरुलाई पुस्तकका रुपमा भने उतारेका छैनन् । न त उनीहरुले कहिल्यै परदेशका समस्या र अप्ठ्याराहरुलाई सबै सामु छर्लङ्ग नै बनाउन सके । कमसेकम उनीहरुले बैदेशिक रोजगारका कहाली लाग्दा समस्याहरु नेपाली युवायुवतीसँग साटासाट गरिदिएका थिए भने आज हजारौं नेपालीहरुले त्यहाँको कठोर जिन्दगी झेल्नु पर्दैनथ्यो कि भन्ने पनि लेखकको ध्येय रहेको पाइन्छ । तर लेखक रेग्मीले भने निकै रोचक शैलीमा यसमा लेखकिय कला प्रस्तुत गरेर त्यहाँका यथार्थहरु उठाएर पठनिय बनाएकै कारण आज यो सफल कृति बनेको छ ।
४ वर्ष अघि आफूले यात्रा गरेको घटनाका परिवेशहरुलाई प्रस्तुत गर्दै त्यहाँ झेलिएका विविध अप्ठ्याराहरुलाई पत्थरै पत्थरको यात्रा भएको प्रतिकात्मक शिर्षक यस कृतिले पाएको छ । खासमा मानव जीवन अभाव र समस्यामै अल्झिएको छ र ती अप्ठ्यारालाई समाधान गर्न सबैले पत्थरको सामना गर्नै पर्छ भन्ने कटु यथार्थ प्रस्तुत गर्नु पनि यस नियात्राको अर्को उद्देश्य रहेको थाहा पाउन पाठकलाई गाह्रो पर्दैन । अर्को अर्थमा भन्नु पर्दा विशेषगरि बर्मामा अधिकांश संरचनाहरु पत्थरकै प्रयोगले बनाइएका छन् । त्यहाँका कलाकौशल, गहनाहरु, हातमा लगाउने चुरा र औंठीहरुमा समेत पत्थरको प्रयोग गरिएको पाइन्छ । जता गए पनि पत्थरै पत्थर देखिन्छ । यहाँ सम्म की कसैसँग बिदाई हुनु पर्दा पनि उपहार पत्थरै पाइने । यसकारण पनि लेखकले आफ्नो कृतिको नाम पनि पत्थरै पत्थर राखेर त्यहाँकै सम्झना जस्ताको त्यस्तै उजागर गर्नु भएको हो ।
यति हुँदा हुँदै पनि कतै कतै भाषाशैली बुझ्न अलि कठिन परे जस्तो पनि लाग्छ । प्रयोग भएका विम्ब प्रतिकले दिन खोजेको अर्थ नबुझेर पाठक अलमलमा पर्ने पो हुन् कि भन्ने सम्भावना पनि छ । तर समग्रमा कृति रोचक र संग्रहणिय बनेको छ । नाम पत्थरै पत्थर भए पनि खासमा यो पत्थर जस्तो कठोर छैन । शिखा बुक्सले प्रकाशन गरेको पुस्तक २५० रुपैयाँमा बजारमा किन्न पाइन्छ ।





























प्रतिक्रिया