ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं
आज साहित्य दिवसको सन्दर्भ पारेर आठ जना वरिष्ठ साहित्यकार तथा संस्थाहरुलाई सम्मानित गरिएको छ । नयाँ बानेश्वर स्थित रत्न राज्य उच्च माविमा आयोजित कार्यक्रममा साहित्यका विविध विधामा कलम चलाउने साहित्यकारहरु सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरुमा साहित्य संवद्धन द्रष्टा सम्मान ०७० बाट प्राध्यापक डा. दयाराम श्रेष्ठ ( नगद ११ हजार १११) , हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार २०४५ बाट प्रा.डा. तारानाथ शर्मा ( नगद २६ हजार), विश्वज्योति सेवा सम्मान २०७१ बाट जगदगुरु आर्दश संस्कृत गुरुकुलम ( नगद १६ हजार ) लाई सम्मान गरियो । त्यस्तै शारदादेवी सिर्जना पुरस्कार ०७२ बाट भुवन ढुंगाना (नगद ११ हजार १११) , राधिका पदम दुर्गा काव्य कविता पुरस्कार ०७२ बाट रमेश खकुरेल ( नगद ११ हजार १११), जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान ०७३ बाट डा. राजेन्द्र विमल (नगद ११ हजार १११), रामप्रसाद श्रेष्ठ साहित्य सम्मान ०७४ बाट रोहिणीविलास लुईंटेल (११ हजार १११) र निर्मला प्रेम बाल साहित्य सम्मान ०७४ बाट नेपाल बाल साहित्य समाज (नगद १० हजार ) पुरस्कृत तथा सम्मानित भए ।
उल्लेखित साहित्यकार तथा संस्थाहरुलाई वरिष्ठ साहित्यकार वसन्त कुमार शम्र्मा नेपालले दोसल्ला ओडाउनुका साथै नगद सहित संम्मान गरेका हुन् । प्रत्येक वर्ष वितरण गरिने यी पुरस्कार वितरणकै सन्दर्भ पारेर ४ जना साहित्यकारहरुका ४ वटा कृतिहरु पनि एकै साथ विमोचन गरिएको थियो । जस अन्र्तगत ज्ञानु अधिकारीद्धारा सम्पादित वर्ष साहित्य पुस्तक ०७३, नारायण ज्ञवालीको भतृहरि नीति शतक ( अनुवाद), हरि थापाको गजल संग्रह मियो र पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेको कविता संग्रह दोभानमा उभिएर रहेका छन् । सबै कृतिहरु शब्दार्थ प्रकाशनबाट प्रकाशित भएका हुन् । कार्यक्रमको आयोजना पनि शब्दार्थ प्रकाशनले नै गरेको थियो ।
कार्यक्रममा पूर्वमन्त्री प्रदिप नेपाल, साहित्यकारहरु शैलेन्दु प्रकाश नेपाल, राजेन्द्र सुवेदी, विनय कुमार शर्मा नेपाल, तारानाथ शर्मा लगायतको उपस्थिती रहेको थियो भने विमोचित कृतिहरु माथी लेखप्रसाद निरौलाले समिक्षा गरेका थिए । विगत ४ वर्ष देखि प्रत्येक नेपाली नयाँ वर्षको दिनलाई साहित्य दिवसका रुपमा मनाईंदै आइएको छ ।





























प्रतिक्रिया