दुर्गा पंगेनी
उसको नामको अर्थले यस्तै केही अध्यारोमा चम्कने प्रकाशमय वस्तु भन्ने जनाउथ्यो । त्यसैले मैले उसको नाम जुनेली राखेको थिएँ । मैले जुनेली भनेर बोलाउदा उसको आँखामा बेग्लै चमक आएको आभाष हुन्छ मलाइ । हुनत पुर्णीमा, तारा या चांदनी जे नाम राखेको भएपनि उस्तै अर्थ लाग्थ्यो होला तर मेरो मनमा अनायासै जुनेली शब्दले डेरा जमायो । यस्तै पुर्णीमाको रात हुनुपर्छ, चमचमाउदो जुनको उज्यालोमा भेटेको थिएँ उसलाई पहिलोपटक । उसको र मेरो भेट प्रत्यक्ष थिएन । सामाजीक संजालको कुनै च्याट रुममा भेटीएका थियौं हामी ।
खुल्ला आकाश ओढेर सुस्ताउदै थिएँ म घर माथीको चौतारोमा । एनटिसी नेटको धिमा गतिसंगै म बाहिरी दुनियासंग अपडेट हुने प्रयासमा थिएँ । काम विषेशले घर फर्केको आज चौथो दिन । फेसबुकमा घोप्टिदा उसको म्यासेजले मोवाईलमा पिलिक्क वत्ति वालेको थियो । त्यो चाईनिज केटीको फोटो राखेको आईडी लाई चिन्नुहुन्छ भनेर ! मैले सहज उत्तर दिएको थिएँ “तपाईलाई जस्तै चिन्छु’। अचम्मको छ यो सामाजीक संजालको दुनिया पनि, यहा कसैसंग घनिष्ठ हुनलाई भेट हुनै पर्दैन । न त मायामा पर्नलाई प्रेमपत्र कोरिरहनु नै पर्छ।
हो तपाई जस्तै साथी हुन भन्दिएको थिएँ मैले। त्यत्तीकैमा उनको चेतावनी पुर्ण म्यासेज आयो । त्यो आईडी फेक हो ..! तपाईहरु नचिनी त्यस्तोमा कमेन्ट दिनुहुन्छ ! मेरो भन्नु केही छैन..! म अलमलमा परें हैन मैले कता कता कमेन्ट गरिराछु यो केटीले त हेर्दि पो रै छे ! हत्तेरीका.. !! मैले दुईवटै आईडी पालै पालो चेक गरें। म विस्वस्त भएँ मैले कमेन्ट गरीरहने एकाउन्ट नक्कली हो र यो जुनेली चैं सक्कली । त्यतीन्जेल सम्ममा हामी साथी बनिसकेका थियौं ।
मैले जुनेलीको प्रोफाईल पच्छ्याउने क्रम जारी नै राखें । केटीको लेखाईमा एक किसीमको विद्रोह देखीन्थ्यो । सायद स्याड•जा या पाल्पा तिरको कुनै गाउँको लाहुरे परिवारकी छोरी थिई । कुनै आधुनिक सहरमा राम्रै कार्यलयको माथिल्लै पोष्टमा जागीर गर्छे- मैले गम खाएँ ..! भर्भराउदो रुप र उन्मत्त बैंसले जुनेलीलाई अझ आधुनिक बनाएको थियो ।
हल्का मेकअप र ओठ माथीको कोठीले उसको सुन्दरतामा ल्याएको निखारताले मलाई विचलित बनाउथ्यो कहिलेकाही र अनायासै म लेख्दिन्थें- तिम्रो फोटोमा ‘आई लप यु’ कमेन्ट गर्दिउँ जुनेली..? जुनेली ले ‘नो’ लेखेर रिप्लाउथि । हरेक कुरामा नो मात्रै भन्ने मैले तिम्रो नाम ‘नो कुमारी’ राख्दिन्छु-जुनेली मस्तसंग हासेकी थिई।
जुनेली प्राय: ब्यस्त नै हुन्छे, सायद बाह्र घण्टा या त्यो भन्दा पनि बढी । कामको विचबाट नै टुच्च म्यासेज आउथ्यो ओ लुरे कता हो..? लगभग सत्तरी किलो हाराहारी की जुनेलीलाई मैले मोटी भनेर बोलाउन धेरै दिन लागेन । जुनेलीको अनुहार मंगोलीयन थियो तर आम मंगोलीयन मुलका युवतीहरु भन्दा निकै अग्ली थिई उ । भगवानले शारिरीक र बौद्दिक दुवै उचाई पुग्ने गरि दिएका छन । विद्वतामा पनि अव्बल बनाएर सुन माथी सुगन्ध थपि दिएका छन । कमै युवतीहरुमा यो गुण उपलव्ध हुन्छ । प्राय: केटीहरु या त शुन्दर हुन्छन या वुद्दिमती । उसमा दुवै गुण थिए । उ कविता सम्वाद गर्थी जुन मेरो तार्किकताको सिमा भन्दा बाहिरका हुन्थे । फेरी पनि म जवाफ दिईरहन्थे । खोई दोहोरो हो कि एकोहोरो हो हाम्रो घनिष्ठता अत्यन्तै घनिभुत भएको आभाष भैरहेथ्यो मलाई।
कहिलेकाही भिडीयो च्याट गर्थेंउ हामी । मैले जुनेलीको आँखामा लगातार हेर्न सक्तिनथें अथवा मेरो नजर दोषि थियो । मैले आँखा घुमाएको चाल पाउने वित्तिकै जुनेलीले सोद्दथी । ओई बाहुन मुखमा नहेरेर घाँटी तिर किन..? मैले सहज उत्तर दिन्थें ‘चिन्ता नगर जुनेली म घाँटी भन्दा तल झर्ने छैन‘..! मुसुक्क हाँसेर टार्थी जुनेली र भन्थी त्यसको त ‘पर्मिसन‘ पनि हुनुपरो नि लुरे लाई..! म संग फर्काउने कुनै जवाफ हुन्नथ्यो।
मेरो नजरमा बेजोड सुन्दरता की नमुना थिई जुनेली । आधुनिक सहरको आधुनिक ड्रेसअपमा जति खुल्दथी नेपाली पहिरनमा झन धपक्कै बल्दथ्यो उसको रुपरंग । उसका हरेक फोटालाई घण्टौं एकटकले नियाल्ने बानी मेरो दैनिकी जस्तै भैसकेको थियो ।
भिडीयो कलमा मैले कहिल्यै उसलाई नेपाली ड्रेसमा देखीन किनकी सायद उ औपचारीक कार्यक्रम हरुमा मात्र नेपाली पहिरन लगाउछे । मैले भनिहालें अत्यन्तै ब्यस्त जुनेली र मेरो भिडीयो कल हुदा या त उ पैदलै अफिसको बाटो नापिरहेकी हुन्छे या गाडीमा यात्रा गर्दागर्दै मेरोलागी समय निकाल्छे तर जहिल्यै हतार बाहेक उसलाई फुर्सत कहिल्यै भएन त्यसैले मेरा आँखा अघाउन्जेल जुनेलीलाई नियाल्ने मेरो रहर अझै अधुरो थियो।
उसले एकदिन पार्कमा सुस्ताउदै गर्दा फोन गरेकी थिई । म भएको ठाउमा भर्खर साँझ परेपनि अध्यारोको कारण अनुहार ठम्याउन सकेन मेरो मोबाइलको क्यामराले । त्यसमाथी म भर्खरै अफिस सकेर गुँड तिर फर्कदै थिएँ ।सायद लामो ड्युटीपछि उ पनि सुस्ताउदै थिई । मेरो देशमा साँझ पर्दा उसको देशमा लगभग मध्यरात हुन्छ होला तै पनि पार्क झलमल्ल उज्यालो थियो ।
ठूला ठूला खम्वाको टुप्पामा बसेर प्रकाश छरिरहेका बत्तिहरुले पार्क मात्र नभएर जुनेलीको अनुहार पनि चम्काईरहेका थिए । त्यसै त गोरी जुनेली त्यसमाथी रोडल्याम्पको प्रकाश पर्दा सिंदुरी देखिईरहेकी थिई । मेरा नजर खुसुक्क जुनेलीको घाँटीबाट ओरालो लागे..! तिमी त जताततै गोरी छौ त जुनेली..! मैले जिस्क्याएँ, तिमी पनि साह्रै गोरा देखिएका छौ लुरे तर क्यामराले दाँत मात्र टल्कायो..! त्यसै त कालो म , उसलेले दाँत मात्र सेता भनेर मलाई उठ्न नसक्ने गरी थला पारी..!
जुनेलीका गलाबाट फित्रीक्क ओरालो लागेका मेरा नजर उसका वक्षस्थलमा अडिए । बेजोड गठिलो जिउलाई उत्तिकै सुन्दरता थपेका उसका लाजका गहना । र गहनाको भारका कारण उसले लगाएको लुगाले छोडेको ठाउँ ..! उफ.. पक्कै टाईट जिन्स पाईन्ट माथी हल्का खुल्ला टिसर्ट मन पराउछे जुनेली …! मेरो पुकार भगवानले सुन्नेभए त्यो टिसर्ट भर्खरै अझै तल सर्कनुपर्ने .. धन्न सुनेनन मोटी..! मैले बैंसालु छेड हानें । लुरे बाहुनका पापी नजर… भन्दै उसले टिसर्टको विट समातेर माथी सर्काई र जुरुक्क उठी ।
पैदल हिड्दा लामा लामा पाईला हालेर हात्ती झैं लस्कन्छे जुनेली । निलो जिन्स पाईन्ट र सेतो टिसर्टमा साह्रै खुल्दिरैछे मैले आज भेउ पाएँ..! उसले विदाई स्वरुप हात हल्लाई । पख न एकैछीन ..! मैले उसलाई अझै हेर्ने र आँखाको तृष्णा मेट्ने असफल प्रयास गरें…!
मलाई थाहा छ कुराकानीको क्रममा अरुले तारिफ गरेको मन पर्दैन उसलाई । रुपरंग र अझ शरिरको बयान त कतै मन पराउन्न उसले । कहिलेकाही भन्ने गर्छे शरिरको बयान भल्गर लाग्छ । संसारले थाहा पाएको र अनुभव गरेका बायोलजीकल कुराहरुलाई कत्ती महत्व दिन्न जुनेली । कहिलेकाही म साह्रै किचकीच गर्थें । मसंग बोल्न खुवै कर गर्थें जस्तो लाग्छ । धेरै बेरपछी उसकोको जवाफ आउथ्यो- हेर लुरे “हुनत चाहे जे सुकै होस, सम्बन्ध वा चिनी यी दुबै धेरै खाए भने मात लाउँछ । उखान नै छ,चिनी त धेरै खाए तितो हुँदै जान्छ रे”- म नाजवाफ हुन्थें..!
हुन पनि हो ! आजको यो आधुनिक युगमा कसैलाई फुर्सद छैन यहाँ । आफ्नै बारेमा सोच्ने फुर्सद समेत छैन मान्छेहरुलाइ ।प्रतिस्पर्धात्मक जिवनशैली, मेसिन झैं भएर वितिरहेका दैनिकीहरुले गर्दा यहाँ आजकाल जिवन गाठो कसेकाहरु समेत एकअर्का सङ्ग भेट्न गार्हो गार्हो पर्दछ र कति गाँठाहरु फुस्किरहेका छन् कहिल्यै नजोडिने गरि ।त्यसैले होला सायद जुनेली कहिलेकाही डरलाग्दो कविता लेख्थी ‘उसका कवितामा आफैलाई भयंकर सजायको परिकल्पना गरिएको हुन्थ्यो ।
म आधाआधी मात्र बुज्दथे उसका कविता र जिस्क्याउथें । जुनेली मलाई बेलैमा विदुर बनाउने भयौ..! कविताको गलत अर्थ लगाएको पत्तो पाउछे तर पनि मलाई कविताको सार बुझाउन खोज्दिन उ । किनकी उसका कविता नै बहुअर्थी र स्वतन्त्र हुन्छन रे जसले जसरी बुझोस उसलाई मतलव छैन । उ वस लेख्दिन्छे…!
धेरै दिनको मौनतापछि “साह्रै माया मार्यौ जुनेली । म तिम्रो वियोगमा विक्षिप्त छु..!” एकदिन एकाविहानै मैले यो म्यासेज पठाईदिएँ र अफलाईन भएँ । पछी मोवाईल खोल्दा नोटिफिकेसनको रातो चिनो पिल्पिलाई रहेको थियो । जुनेलीको म्यासेज रहेछ । “डियर लुरे- तिमी मेरो अवस्था बुझ्दैनौ । हरेक बिहानमा उही जागिर कै लागी हतार हतार तयार हुनु । समयमै काममा पुग्ने बाध्यता हुनु । अनि काम काम काम… उफ..! काम त कहाँ पो सजिलो हुन्छ र ? बरु शारीरिक श्रम सजिलो हुन्छ । दिमागी कामले पुरै शरिर शिथिल बनाउछ।उच्च आधुनिकता संग साच्चिकै दैनिकी धेरै कठिन बन्दै गईरहेको छ।काम बाहेक थोरै समय निस्किन्छ । त्येसबेला घर, व्यबहार आफ्ना आफन्ती जताततै हेर्नु पर्यो।स्वदेशमा होस् वा बिदेशमा जिवन कतै सहज छैन..”!
…आच्या यतीका लामो साहित्य मेरो दिमागमा घुसेन, जे होस जुनेलीले सम्झेर म्यासेज गरी त्यसैमा खुसी लाग्यो र जवाफमा मैले ‘लप यु जुनेली’ लेख्दिएँ…।
अर्को दिनसम्म मैले म्यासेज खोलेर हेरीन । मलाई लप यु को बदलामा जुनेली के पठाउछे त्यही कुराको खुल्दुली मात्र बाँकी थियो । विहान उठ्ने वित्तीकै म्यासेज हेरें उसका थुप्रै म्यासेज रहेछन । जसमा लेखीएको थियो…. ।
प्यारो बाहुन…! तिमी त चुर्लुम्मै डुवेछौ पिरेममा । धन्न च्याट रुममा लप यु भन्यौ यही कुरा बाहिर भन्ने दुस्साहस कहिले नगर्नु । आज पनि म ब्यस्त नै छु हिजो राती तिमीलाई पार्कमा सम्झदा केही कुरा लेखेकी थिएँ । यो लेखको अन्त सम्ममा तिमीले तिम्रो लप यु को जवाफ पनि भेट्नेछौ । धैर्य गरेर पढ-
“हेर लुरे विभिन्न कारणहरुले गर्दा समयभाव हुनु, सधैं एकैनासको स्थिति नहुनुले गर्दा कतिपय कुराहरू छुट्न पुग्छन।या फेरि पहिले सधैं झैं हुन कहाँ सक्छ र? हाम्रो सम्वन्ध आउँदो दिनमा अझै नजिक अनि अझै गाढा नहोला भनेर कसले पो भन्न सक्छ र ? कतिपय मौकाहरुमा संयोगबस धेरै धेरै समयसम्म बातिनु र कतिपय समयमा कति पनि नबातिनु यो त निरन्तर चलिरहन्छ । तिमीसंग घेरै बातिएर सम्बन्ध राम्रो बन्नु र थोरै बातिएर सम्बन्ध मेटिनु भन्ने हुँदैन । सम्बन्ध बिस्तार गरिसकेपछी सम्बन्धको औपचारिकता निभाउनु पनि चुनौती हो । तर एकआपसमा समझदारी भएन भने त्यो सम्बन्ध दिगो रहदैन । एकपल छिल्लिदैमा उत्ताउलो कुराहरु गर्दैमा सम्बन्ध प्रगाढ भएको ठान्नु हुँदैन । सम्बन्ध त आपसी सदभाव र समझदारीले दिगो बनाई अगाडि बढाउने हो।”…!
…..हत्तेरी यो मोटीसंग म धेरै नै छिल्लीएँ क्या हो चित्त दुखाईछे केटीले । मलाई पछुतो पर्यो । फेरी पनि “लप यु” को जवाफ पाईन । म म्यासेज स्क्रोल गर्दै गएँ..!
लुरे, हुनत यो एक्काइसऔं सताब्दीमा प्रेम पनि ग्याजेट जस्तो अत्याधुनिक भैसक्यो होला।आजकाल भौगोलिक दुरिले प्रेमलाई एउटा खेल झैं बनाईदिएको छ।विभिन्न ग्याजेट्सहरुले नै प्रेमभाव देखाईने चलन आएको छ । मन अनी हृदयको कुरा यहाँ युग सङ्गै बितिसक्यो झैं लाग्छ, आजकाल पलभर मैनप्रेमको भल बगाई पलभरमै सुख्खा भएको देखेर । न प्रेम एकपलको आकर्षण हो न क्षणभरमै सुकेर जाने भेल हो । हुन त सायद आफ्नो आफ्नो सोचाई र बिचारमा भर पर्दो हो प्रेम।तर दिनदिनै जतिबेला पनि बोलिरहनु पर्ने, कुरा गरिरहनु पर्ने त्यो कहाँको प्रेम हो ? त्यो त ‘इमोसनल अत्याचार’ हो।
तिमीलाई थाहा छदै छ कुन कुन कुराहरुमा प्रेम प्रतिरोधक बन्नु हुँदैन भनेर । बरु तिमी सक्दो वैचारिक सहयोग र मार्गदर्शन दिई हाम्रो सम्बन्धको सहि धर्म निभाउ। किनकी प्रेमयात्रामा अगाडि बढ्नु छ भने एकअर्काको अस्तित्वलाई स्वीकार गर्दै भबिस्य सोच्नु पर्दछ। होईन भने प्रेम सिजनल फुलहरु झैं एकपल्ट ढकमक्क फुलेर क्षणभर मै ओईलाएर झर्नेछ।र यसलाई प्रेम होईन, बस् क्षणिक आकर्षण भनिन्छ।हेर बाहुन- न चाहेर तिमीले मलाई आफ्नो बनाउन सक्छौ न मैले चाहेर नै तिमीलाई मेरो घर संसारमा सजाउन सक्छु। हामी सक्छौं त केवल च्याट रुममा एक अर्काको तारिफ गर्न सक्छौं, तिमीले सपनामा देखें भन्थेउ, हो त्यही सपना पनि देख्ने फुर्सद छैन मलाई यहा। त्यसैले सतहमा उत्रने प्रयास गर लुरे !यसरी आँखा चिम्लेर मायाको उडान नभर । तिम्रो धरातल अर्कै छ र मेरो यथार्थ बेग्लै…! प्लिज हाम्रो च्याट रुमको प्रेमलाई यही सिमीत राख्ने कोशीष गर्नु -‘चुप्पा टु यु…!’
जति सानो कुरामा घनिष्ठ भईन्छ सामाजीक संजालमा टाढा हुनलाई पनि कुनै बहाना नचाहिने । दुई चार दिन च्याट रुम बन्द राख्नुस दोष्ती त्यसै टुक्रीएर जान्छ किनकी पुरानो हिस्ट्री हेर्नलाई च्याटरुम लाई तलैसम्म स्क्रोल गर्ने फुर्सद कसैलाई नहुने । सम्झेरै फेरी म्यासेज गर्ने आवस्यकता पनि कसैले महसुस नगर्ने । मेरो म्यासेज पनि जुनेलीको म्यासेजहरुको खातमा धेरै तल पुगेछ क्यारे । अचेल उसको म्यासेज आउदैन……!! म त्यही ‘चुप्पा टु यु’ को दनकले रन्थनिएको रन्थनियई छु अहिले सम्म …! फेरी जुनेलीको म्यासेज आउने आशमा ।






























प्रतिक्रिया