“अक्षर”
अक्षरमा
झ्याप्प नजर जाँदैन धेरैको
जति फोटो भिडियोहरुमा जान्छ
प्रायः अक्षर
कालो वर्णको भएर पनि होला
श्यामश्वेत नभएर पनि होला
रंगिन नभएर पनि होला ।
नचिन्नेले त चिनेनन अक्षर
कतिपय चिन्नेहरुले पनि
देखेको नदेखेइ गरिदिन्छन
म भने अक्षर भित्र
पूरा जगतको प्रतिबिम्ब देख्छु
अक्षरका चुचुरा हरुमा
हिमपात भैरहेको देख्छु
अक्षर भित्र भित्र
नदी बगिरहेको देख्छु
अक्षरहरुका लहर भित्र
सागर छुपेको देख्छु
अक्षरहरुका थुङ्गाहरु
ढकमक्क फुलेको देख्छु
अक्षरको छहारिमा
प्रेमिल जोडीहरु देख्छु
अक्षरका बोटहरुमा
कताकति फाट्टफुट्ट बुद्द फलेको देख्छु
अक्षरको चर चर बाट
चियाइरहेको देख्छु
कलिला बाबुनानीहरु।
अक्षरका खुड्किला हरुमा
भावनाले उचाइ चुमेको देख्छु
गहिराइ छिचोलेको देख्छु
अक्षरहरुको गर्भमा म
सर्जक देख्छु स्रष्टा देख्छु
सायद!
डिकोमा उभिने तिनिहरु नै हुनुपर्छ
अक्षरको संरचना भित्र
कैद भएको देख्छु थोरै आकाश
त्यो अक्षरको आत्मा हुनुपर्छ ।
त्यहीँ हुनुपर्छ ब्रम्हको निवास
र त्यहीँ बाट भएको हुनुपर्छ
जगतको बिस्तार ।
अक्षरका कोइलाहरुमा म
आगो बलेको देख्छु
उज्यालो देख्छु
छङ्ग देख्छु
कि सुर्य पनि
अक्षर बाटै उदाउँछ र!
लौ न !
मलाई घच्घच्याइदिनु कसैले
कतै
मैले सपना देखिरहेको त छैन!
अक्षर सिरानी हालेर सुतेको थिएँ ।
राम पौडेल (अम्मली) कुस्मा नगरपालिका, १४ पर्वत ।





























प्रतिक्रिया