यो कस्तो प्रेम ?

यो कस्तो प्रेम ?


मनमाया यो कस्तो प्रेम ?

आज शहरभरि प्रेम दिवसको हल्ला छ,
फूलका पसलहरूमा भीड छ,
रेस्टुरेन्टहरूमा आरक्षण सकिएको छ,
र मानिसहरू आफ्नो–आफ्नो प्रेम प्रमाणित गर्न व्यस्त छन्।
तर म
म मेरो कोठाको एउटा कुनामा बसेर
तिमीले छोडेर गएको घाउ कोट्याइरहेछु।

प्रेम मिलन हो,
तर मेरो प्रेम
लाग्छ बिछोड भएर जन्मियो।
म सम्झन्छु
त्यो साँझ,
त्यो गोधूली
त्यो चकमन्न जून
जब हामीले केही नबोली
एउटै आकाश हेरेका थियौँ।
तिमीले केही भनेकी थिइनौ,
तर तिम्रो मौनता र लज्जाले मलाई
जीवन सुम्पिएको गहिरो आभाष दिलाएथ्यो।
सायद त्यही मेरो भूल थियो
मैले तिम्रो मौनतालाई
वाचा सम्झिएँ,
जबकि त्यो त केवल
एक अस्थायी विश्राम रहेछ
जो अन्तिम भेट बनिदियो।

आज मानिसहरू भन्छन्
“ह्याप्पी भ्यालेन्टाइन डे,मेरो माया“
र म सोच्छु
के प्रेम साँच्चै ह्याप्पी हुन्छ ?
यदि हुन्छ भने,
किन मेरो छातीभित्र
हरेक धड्कन
आफ्नै मृत्युको खबर सुनाउँछ आज?
तिमी गएको दिन
मेरो जीवनबाट तिमी मात्र गएकी थिइनौ
मेरो निद्रा गयो,
भोक गयो
सपना गयो
मेरो विश्वास गयो,
मेरो भविष्य गयो।
बाँकी रह्यो त केवल
एउटा शरीर,
जसले अझै पनि
तिम्रो नाममा सास फेर्छ।

म अझै पनि कहिलेकाहीँ
आफ्नो फोनको स्क्रिन खोल्छु,
सायद तिम्रो सन्देश आएको होला भनेर
तर त्यहाँ
सधैं उही खालीपन हुन्छ,
जसले मलाई सम्झाउँछ
तिमी अब कहिल्यै फर्किने छैनौ।

तिमी बिना बाँच्नु
मर्नुभन्दा कठिन रहेछ ।
किनकि मृत्युले
सबै पीडा अन्त्य गर्छ,
तर तिमी बिना बाँच्नुले
हरेक दिन
एउटै पीडालाई पुनर्जन्म दिन्छ।

आज कसैले मलाई सोध्यो
“तिमी किन एक्लै छौ ?“
म मुस्कुराएँ।
किनकि मसँग
उत्तर थिएन,
केवल एउटा नाम थियो
जसलाई म उच्चारण गर्न सक्दिनथेँ।
तिमीले सायद कहिल्यै थाहा पाइनौ
तिमी मेरो जीवनको
एउटा भाग होइन थियौ,
तिमी नै मेरो सम्पूर्ण जीवन थियौ।
र आज,
जब संसार प्रेम मनाइरहेको छ,
म मेरो बिछोड मनाइरहेको छु।
किनकि
केही प्रेमहरू
मिलनका लागि होइन,
टुक्रिनका लागि जन्मिँदारहेछन् ।

केही मुटुहरू
एकअर्कालाई भेट्न होइन,
एकअर्कालाई सधैंका लागि
टुक्राउनका लागि धड्किँदा रहेछन्
सायद
हाम्रो प्रेम पनि त्यही थियो
एउटा सुन्दर दुर्घटना,
जसले मलाई
सधैंका लागि अधुरो बनायो।

यदि कुनै दिन
तिमीले फेरि प्रेम दिवस मनायौ भने,
एकछिन
मेरो नाम सम्झनु
किनकि
कुनै समय
कसैले
आफ्नो सम्पूर्ण जीवन
तिम्रो एउटा मुस्कानको नाममा
बाँचिरहेको थियो।

फेरी यो कस्तो प्रेम ?
जहाँ मुटुहरू सिधा बाटो हिँड्दैनन्,
घुमाउरा गल्लीहरू रोज्छन्,
र अन्त्यमा
आफ्नै ढोका भेट्टाउँदैनन्।

म तिम्रो प्रतीक्षामा बाँचिरहेँ,
तिमी अर्को कसैको नाममा धड्किरह्यौ,
लाग्छ,प्रेम यहाँ मिलन नभएर
दिशा हराएका धड्कनहरूको यात्रा हो
जहाँ सबैले प्रेम गरे,
तर कसैले
आफ्नो प्रेम पाएनन्।
यो कस्तो प्रेम?

म तिमिलाई प्रेम गर्छु
तर तिमी उस्लाई
उस्ले उनीलाई प्रेम गर्छ
र उनीले अरुलाई
अरुले यहाँ प्रेम किन गर्छ तिनिलाई
तिनिले फेरि प्रेम
किन गर्छिन् मलाई ?
मनमाया यो कस्तो प्रेम ?

Skip This
Skip This
Logo