काठमाडाैं । झापाको अर्जुनधारा नगरपालिकाले प्रसिद्ध साहित्यकार कृष्ण धरावासीलाई ‘दीर्घ सेवा साहित्य सम्मान’ अर्पण गरेको छ। नगरपालिकाले भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिको सिफारिसमा धरावासीको पाँच दशक लामो साहित्यिक योगदानको कदर गर्दै १ लाख १ हजार रुपैयाँ राशिसहितको यो उच्च सम्मान प्रदान गरेको हो।
एक विशेष समारोहका बीच अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली र साहित्यकार प्रकाश बुढाथोकी लगायतले धरावासीलाई सो सम्मान समर्पण गरेका हुन् । स्थानीय तहबाट प्रदान गरिने साहित्यिक सम्मानहरूमध्ये यो देशकै सबैभन्दा बढी धनराशिको पुरस्कार मानिन्छ।
विसं २०३२ सालदेखि कविता लेखनबाट साहित्य यात्रा सुरु गरेका धरावासीका हालसम्म ३१ वटा कृतिहरू प्रकाशित भइसकेका छन्। दुई दशकअघि चर्चित उपन्यास ‘राधा’ का लागि नेपाली साहित्यको प्रतिष्ठित ‘मदन पुरस्कार’ प्राप्त गरेका धरावासीका ‘झोला’ जस्ता कृतिमा आधारित चलचित्र समेत निर्माण भइसकेका छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २५ भन्दा बढी पुरस्कार प्राप्त गरिसकेका छन्, जसमा अमेरिकाको ‘ग्रेटफल्स’ पुरस्कार समेत सामेल छ।
बैंकिङ सेवाबाट स्वेच्छिक अवकाश लिएपछि पूर्णकालीन साहित्यमा लागेका धरावासी झापा, काठमाडौँ र अमेरिकाको लामो बसाइँपछि हाल स्थायी रूपमा झापामै बसेर भाषिक अभियानमा सक्रिय छन् ।





























प्रतिक्रिया