‘आमा र मेरो कलम’

‘आमा र मेरो कलम’

केन्द्रबिन्दु
240
Shares

आमा, तिम्रो काखबाट निस्किएँ जब,
सपना बोकेर यो शहर आएँ म।
तिमीले सिकायौँ सत्य बोल्न,
त्यही सत्य लेख्न आज जुटेँ म।
भिडभाडमा हराएझैँ लाग्दा,
तिम्रो सम्झनाले बाटो देखाउँछ।
आमा, तिम्रो माया नै हो,
जसले मलाई बलियो बनाउँछ।

आमाको मुख हेर्ने दिन आयो आज,
तर, म खबरकै पछि दौडिँदै छु आज।
बन्दुक होइन, कलम समातेर,
सत्यको बाटोमा हिँड्दै छु म आज।
तिम्रो आशीर्वाद मेरो साथमा छ,
त्यसैले त मेरो पहिलो सहारा प्यारी आमा ।

कहिलेकाहीँ खतरा पनि हुन्छ,
सत्य लेख्दा रिस उठ्छ कसैको।
तर, तिमीले सिकायौँ नडराउन,
त्यही साहस छ हरेक लेखमा मेरो।
थाक्दा पनि हार मान्दिनँ म,
तिम्रो विश्वास बोकेर हिँड्छु ।
आमा, तिम्रो नाम उज्यालो पार्न,
हरेक दिन संघर्ष गर्छु म ।

यदि कहिल्यै आवाज रोकिन लाग्यो,
आमा, तिम्रो नाम सम्झिन्छु म।
तिम्रो माया नै मेरो शक्ति,
त्यही भएर फेरि उठ्छु म ।

आमाको मुख हेर्ने विशेष दिन आज,
मनमा तिमी, हातमा कलम आज।
देश र समाजको लागि लेख्दै,
आमा, तिम्रो सपना बाँच्छु म आज।
आमा…
तिम्रो माया नाप्न नसकिने,
शब्दले कहिल्यै बाँध्न नसकिने।
जति टाढा गए पनि,
मनमा सधैं तिम्रो याद आउने।।

-राम कुमार थापा
(नमोबुद्ध -१ श्यामपाटी, काभ्रे)

Logo