अभावमा जिन्दगी
जसोतसो अभावमा नि यो जिन्दगी चल्दै थियो ।
दुःखमा नि खुशी हुँदा दुनियाँ भने जल्दै थियो ।।
दैव पनि त्यही बेलामा बजारिन आयो बरै ।
गरीबको झुपडीमा आशाको दीप बल्दै थियो ।।
जब पिडाहरु देख्छन्, टाढा हुन्छन्, आफन्त नि ।
अरुको त कुरा छोडौँ, भाग्यले नि छल्दै थियो ।।
परिश्रम गर्दै थिएँ, प्रगतिशील पाइलाहरु चाल्दै ।
आक्रमण गर्यो रोगले, शरीर त्यसै गल्दै थियो ।।
मन बुझाउने विकल्प केही भेटिएन खोज्दा पनि ।
जिउने आधार मानेको त्यो स्तम्भ नि ढल्दै थियो ।।
विछोडको पीडा
सम्झनाको गोली हान्छौ मेरो छाती तारो हुन्छ ।
मुटु छेड्छ हेर्दाहेर्दै सास फेर्न गाह्रो हुन्छ ।।
यादको बतास चलिरहन्छ बिछोडको ठण्डीभित्र ।
लाचार मेरो मुटु झनै ढुङ्गा भन्दा साह्रो हुन्छ ।।
मन उड्छ तिमीसँगै सिमलको भुवा सरी ।
तिम्रो मेरो दूरी केबल आँखा माथि छारो हुन्छ ।।
तिम्रो खबर के छ कुन्नि घाउ छ मेरो मुटु भरी ।
आँखा मुनि मेरो अचेल थोपा होइन धारो हुन्छ ।।
हरेक रात निन्द्रा सँगै तिम्रो याद साट्छु अचेल ।
चोखो माया गर्छु तर तिमीलाई उधारो हुन्छ ।।
बतासको बादल जस्तो मन उड्छ माथि माथि ।
वास्तविकता सम्हाल्नलाई अचेल अप्ठ्यारो हुन्छ ।।
अदिती अर्याल ज्ञवाली
कुलेश्वर





























प्रतिक्रिया