त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र ११ ओटा कृति लोकार्पण

त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र ११ ओटा कृति लोकार्पण

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ५ भदौ ।

तेह्रौं त्रिमूर्ति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले आज काठमाडौमा पाँचजना स्रष्टालाई त्रिमूर्ति पुरस्कार प्रदान गरे ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित समारोहमा शास्त्रीय छन्द कवि तथा महाकाव्यकार आर।डी।प्रभास चटौतलाई लेखनाथ काव्य पुरस्कार, नेपाली भाषाको चलचित्रका प्रथम अभिनेत्री श्रीमती भुवन थापा चन्दलाई बालकृष्ण सम पुरस्कार र कवि तुलसी दिवसलाई देवकोटा काव्य पुरस्कारबाट सम्मान गरियो । ताम्रपत्रका साथ यी पुरस्कारका राशी जनही पचास हजार रूपियाँ छन् ।

समारोहमा वाङ्मय शताब्दी पुरुष डा. जोशीबाट ताम्रपत्रका साथ यादव भट्टराईलाई त्रिमूर्ति पुरस्कार र ललिता दोषीलाई त्रिमूर्ति पदक र प्रशस्तिपत्र प्रदान गरे । यी दुबै पुरस्कारका राशि जनही पच्चीस हजार रूपियाँ छन् ।

वाङ्मय शताब्दी पुरूष डा. सत्यमोहन जोशीले पूर्वमन्त्री दिलनाथ गिरी, प्राध्यापक डा।प्रेम खत्री, बुद्धिसागर लामिछाने, श्रीमती गङ्गा लिगल, श्रीमती जयन्ती प्रधान श्रेष्ठलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरे ।

त्रिमूर्ति निकेतनले हालसम्म नेपाल लगायत २५ राष्ट्रका २१७ जना महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिसकेको छ ।

सोही समारोहमा शताब्दी पुरूष डा. जोशीले त्रिमूर्ति निकेतन र नइ प्रकाशनबाट प्रकाशित ११ ओटा पुस्तकको लोकार्पण पनि गरे । आज लोकार्पण भएका कृतिहरूमा यादव भट्टराई र ललिता दोषीद्वारा सम्पादित ‘शताब्दी पुरुष गाथा’, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईद्वारा सम्पादित ‘कवितामा घटराज’ र ‘अविश्रान्त साधक : घटराज भट्टराई’ तथा सावित्री पोखरेलद्वारा लिखित नाटक ‘कलङ्की समाज’ छन् ।

सोही समारोहमा इन्दिरा प्रसाईद्वारा लिखित खण्डकाव्य ‘हरिमाया’, सुरेन उप्रेतीद्वारा लिखित निबन्धसङ्ग्रह ‘वधशालाको डिस्को धुन’, सावित्री पोखरेलद्वारा लिखित कवितासङ्ग्रह ‘वीर पुरुष’, राधिका दाहालद्वारा लिखित बाल कथासङ्ग्रह ‘आज्ञा’ र इन्दिरा प्रसाईद्वारा लिखित विज्ञान कथासङ्ग्रह ‘मेरो कथा नलेखिदिनू’ नामक कृतिहरूको पनि शताब्दी पुरूषले लोकार्पण गरे ।

यसैगरी नरेन्द्रराज प्रसाईद्वारा लिखित र अणुराज जोशीद्वारा अनुदित तथा दुर्गा वनवासीद्वारा सम्पादित Century Person : Satya Mohan Joshi नामक जीवनी कृति र इन्दिरा प्रसाईद्वारा लिखित र प्रा।मोहन सिटौलाद्वारा अनुदित लामो कविता Being of You पनि सोही समारोहमा लोकार्पण गरिएको थियो ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित समारोहमा वाङ्मय शताब्दी पुरुष डा।सत्यमोहन जोशी, पूर्वमन्त्री दिलनाथ गिरी, प्रा।राजेन्द्र सुवेदी, प्रा।डा।उषा ठाकुर, प्रा।डा।गार्गी शर्मा, प्रा।डा।महादेव अवस्थी, मदनदास श्रेष्ठ, यादव भट्टराई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई लगायत पुरस्कृत स्रष्टाहरूले आआफ्ना मन्तब्य प्रकट गरेका थिए । समारोहमा कवयत्री उषा शेरचनले कविता पाठ गरेकी थिइन् ।

Logo