एक परराष्ट्रविद्को प्रश्न– ‘उत्तरी सीमा जोड्ने बाटो किन बनाइँदैन ?’ [भिडियो सहित ]

एक परराष्ट्रविद्को प्रश्न– ‘उत्तरी सीमा जोड्ने बाटो किन बनाइँदैन ?’ [भिडियो सहित ]

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ भाद्र ।

नेपाल र चीनबीचको मित्रता कहिलेदेखिको हो ? यो प्रश्नले हामीलाई भृकुटी र अरनिकोकोे अनुहार स्मरण गराउँछ अनि तिब्बती राजा स्रङ चङ गम्पोको याद दिलाउँछ । नेपाल र चीनबीचको सम्बन्ध युगौं पुरानो हो । दौत्य सम्बन्ध स्थापना भएको पनि अहिले ६२ वर्ष पूरा भइसकेको छ । यही विषयलाई समेटेर तयार भएको पुस्तक र डकुमेन्ट्री हालै सार्वजनिक भएको छ ।

‘दुर्गाबहादुर श्रेष्ठ इन प्रमोसन अफ कमर्स बिटविन नेपाल एन्ड चाइना’ नामक पुस्तक र डकुमेन्ट्री राजधानीमा हालै सार्वजनिक भएको हो । उक्त पुस्तक र डकुमेन्ट्रीको विमोचन सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गरेका हुन् । नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध प्रगाढ बनाउने क्रममा दुर्गाबहादुर श्रेष्ठको विशेष भूमिका रहेको कुरा संचार मन्त्री बस्नेतले जिकिर गरे ।

पुस्तक–डकुमेन्ट्री सार्वजनिक कार्यक्रममा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सरकारलाई प्रश्न गरे, ‘उत्तरी सीमा जोड्ने बाटो बनाउन किन पर्याप्त बजेट छुट्याइँदैन ?’ पूर्वराजदूत समेत रहिसकेका श्रेष्ठले अगाडि भने, ‘हुलाकी सडकका लागि बर्सेनी अर्बाैं रुपैयाँ छुट्याइन्छ तर उत्तरतिर कसको डरले हो, छुट्याइँदैन ।’

कार्यक्रमका सबैजसो वक्ताले प्राचीन कालदेखि नै स्थापित नेपाल–चीन सम्बन्धलाई अझै सुमधुर र बलियो बनाउन दुर्गाबहादुर श्रेष्ठले पुर्याएको योगदानको चर्चा गरे । रामहरि खतिवडा, ल्हारक्याल लामालगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । पुस्तकको सम्पादन तथा डकुमेन्ट्रीको निर्देशन रमेश हुतुवलीले गरेका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्षसमेत रहेका दुर्गाबहादुर श्रेष्ठकै व्यक्तित्वमाथि उक्त पुस्तक र डकुमेन्ट्री तयार भएको हो । विमोचन कार्यक्रमको सभापतित्व गीतकार तथा नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव सुदीप रेग्मीले गरेका थिए ।

 

 

 

Skip This
Logo