साहित्यकार भुवनहरिको छत्तीसौँ कृति “बहत्तर वसन्त” बजारमा

साहित्यकार भुवनहरिको छत्तीसौँ कृति “बहत्तर वसन्त” बजारमा

केन्द्रबिन्दु
0
Shares

साहित्यकार भुवनहरि सिग्देलको नवीनतम कृति “बहत्तर वसन्त” बजारमा आएको छ। 

भानु जयन्तीको अवसरमा वरिष्ठ साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी/डिजाइनर प्रकेश सिन्धुलीयले सामूहिकरूपमा पुस्तकको लोकार्पण गरेका थिए। लोकापर्णपश्चात् विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको जानकारी दिए। 

गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको “बहत्तर वसन्त” छत्तीसौँ कृति हो। शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु उनको मौलिक क्षमता हो। 

सिग्देलमा गुण र सौन्दर्य चेत, यथार्थपरक विषयको छनोट केन्द्रीयस्तरमा स्वच्छन्दतावादी भावधारा र मानवतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रवृत्ति पाइन्छ। 

छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले “बहत्तर वसन्त” पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने प्रकाशक पुष्पराज पौडेलले बताए।     

शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन्। यसको मूल्य रु. २०१ तोकिएको छ।  

Logo