शङ्कर लामिछाने प्रतिष्ठानबाट भैरवबहादुर थापा सम्मानित

शङ्कर लामिछाने प्रतिष्ठानबाट भैरवबहादुर थापा सम्मानित


वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५ औँ जन्मजयन्ती समारोह आज उनको योगदानमाथि चर्चा गर्दै सम्पन्न भयो । शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नृत्यकारविद् तथा लेखक भैरवबहादुर थापालाई प्रतिष्ठानका तर्फबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गरेका थिए। 

समारोहमा मुरारी सिग्देलले भैरवबहादुर थापाको योगदानका विभिन्न पक्षबारे चर्चा गरे भने कोषाध्यक्ष पद्मावती सिंहले प्रतिष्ठानमार्फत शङ्कर लामिछानेको बारेमा गतिविधिहरू बढेको बताइन् ।

कार्यक्रममा कुलपति उप्रेतीले शङ्कर लामिछाने नेपाली निबन्धको क्षेत्रमा बिर्सी नसक्नु गुन लगाएको बताउँदै प्रतिष्ठानको सक्रियताको प्रशंसा गरे ।

कार्यक्रमको दोस्रो सत्रमा शङ्कर लामिछानेको निबन्धकार व्यक्तित्वका विभिन्न पक्षमा विभिन्न साहित्यकार एवं समालोचकहरूले विस्तृत चर्चा गरेका थिए ।

सो परिचर्चा कार्यक्रममा समालोचक प्रमोद प्रधानले देवकोटा, शङ्कर लामिछाने लगायतबाट पोषित आत्मपरक निबन्धको फाँट पछिल्लो चरणमा कमजोर रहेको बताए। उनले भने, “अहिले लेखकको संख्या बढेको देखिन्छ, तर ‘स्रष्टा’ भने कम छन् ।’ 

समालोचक प्रा. ज्ञानु अधिकारीले अहिलेका विद्यार्थीहरू पुराना पुस्ताका गहनकृतिहरूमाथि शोधप्रबन्ध लेख्न नमान्ने गरेको बताउँदै भनिन्, “नयाँ पुस्तालाई उत्कृष्ट कृति पढ्नका लागि पठन–संस्कृतिको विकास अपरिहार्य रहेको छ" उनले शङ्कर लामिछानेको योगदानलाई कुनै पनि पुस्ताले बिर्सन नसक्ने धारणा राखिन् ।

निबन्धकार युवराज नयाँघरेले शङ्कर लामिछानेको योगदान नेपाली साहित्यका विशिष्ट रहेको बताउँदै उनको निबन्धकार व्यक्तिबाट पछिल्लो पुस्ताका निबन्धकारहरू पनि प्रेरित र प्रभावित भएको धारणा राखे। उनले शङ्कर लामिछानेको निबन्धहरूमा आख्यान तत्व पनि पाइने पनि स्पष्ट पारे।

नियात्रा लेखक दामोदर पुडासैनी ‘किशोर’ले पछिल्ला पुस्ताका लेखकहरू शङ्कर लामिछानेको व्यक्तित्व र लेखन दुवैबाट अभिप्रेरित रहेको उल्लेख गरे। उनले शङ्कर लामिछानेजस्ता लेखकको सान्दर्भिकता कहिल्यै नसकिने बताए ।

परिचर्चा कार्यक्रमका संयोजक साहित्यकार गोविन्द गिरी प्रेरणाले शङ्कर लामिछाने निबन्ध क्षेत्रका अतिरिक्त कथा, अन्तर्वार्ता, हाइकुलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र कहिल्यै बिर्सन नसकिने स्रष्टा भएको बताए। 

कार्यक्रममा थाहा पुस्तकालयका अध्यक्ष एवं गीतकार अस्मिता सुमार्गी र अनेसासका केन्द्रीय उपाध्यक्ष अमेरिका निवासी राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, प्राज्ञ माया ठकुरी, भागीरथी श्रेष्ठ, प्राडा सुरेन्द्र के.सी., नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विमल भौकाजी, सुमन थापा सङ्गम, उपमा आचार्य, शङ्कर भारती, दिव्य गिरी, श्रीबाबु कार्की उदास, सविता ढुङ्गाना, संगीता शर्मालगायतको उपस्थिति थियो । यस्तै किशोर विश्वकर्मा, ज्योति दवाडी, शिव अधिकारी, कल्पना खरेल, संगीता शर्मा र सुशीला श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।

Logo