देशभरका ७५३ स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरि मतपत्रमा समावेश गरिएको छ। निर्वाचन आयोगकाअनुसार ०७४ सालको प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो।
उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई ३१ लाख २८ हजार ३८९, नेकपा (माओवादी केन्द्र)लाई १३ लाख तीन हजार ७२१ र जनता समाजवादी पार्टी नेपाललाई ९ लाख ४२ हजार ४५५ मत प्राप्त भएको थियो । विसं २०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि जिल्लामा क्रियाशील सम्बन्धित दललाई आयोगबाट यसअघि प्रदान गरिएको निर्वाचन चिन्ह नै प्रदान गरिने भएको छ।
त्यस्ता राजनीतिक दलका निर्वाचन चिह्न स्थानीय तहको निर्वाचनका लागि तत् तत् जिल्लाका मतपत्रमा समावेश गर्ने आयोगबाट निर्णय भएको प्रवक्ता शालिग्राम शर्माले बताए।
राष्ट्रिय मान्यता प्राप्त नगरेका तथा ०७४ सालको निर्वाचनमा भाग नलिए पनि जिल्लाको राजनीतिक संरचनामा रही क्रियाशील रहेका राजनीतिक दललाई पनि आयोगको गत चैत १३ को निर्णयअनुसार स्थानीय तह निर्वाचनमा तत् तत् जिल्लाको मतपत्रमा सम्वन्धित दलका निर्वाचन चिन्ह समावेश गर्ने निर्णय भएको छ।
प्रमाणित जिल्लागत विवरण समावेश नगरिएका तर स्थानीय तह निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलको तर्फबाट खडा हुने उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको स्वतन्त्र चिन्हको समूहबाट निर्वाचन चिन्ह प्रदान गरिने छ ।
स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलमध्ये ६ दल राष्ट्रिय मान्यता प्राप्त छन् भने २३ दल अघिल्लो निर्वाचनमा भाग लिएका हुन् । त्यस्तै ४० राजनीतिक दलले भने यस पटकको निर्वाचनमा भाग लिनका लागि आयोगबाट स्वीकृति पाएका छन् ।































प्रतिक्रिया