राप्रपाका उम्मेदवारले विन्ध्यवासिनी मन्दिरमा खाए भ्रष्टाचार नगर्ने कसम

राप्रपाका उम्मेदवारले विन्ध्यवासिनी मन्दिरमा खाए भ्रष्टाचार नगर्ने कसम

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन्। 

आफ्नो मनोनयन दर्ताको अघिल्लो दिन मेयरको उम्मेदवार शंकर खराल र उपमेयरकी उम्मेदवार रञ्जना सेन पौडेलले कसम खाएका हुन् । राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरि सुशासन कायम गर्न कसम खुवाएका थिए ।

मेयर र उपमेयरसहित कास्कीका पालिकामा चुनाव लड्ने सबैले एकै पटक कसम खाएका छन्। मेयरका उम्मेदवार खरालले मन्दिरमा बसेर राष्ट्र र राष्ट्रियताका लागि शपथ खाएको बताए। 

‘सरकारी तलब खाएर आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन पाइने छैन। त्यो हामी रोक्छौं । हाम्रो उम्मेदवारी पोखरालाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो । राजनीतिलाई शुद्धीकरण गर्नका लागि हो,’ उनले भने, ‘गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ। शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं। स्मार्ट सिटी बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो पोखरा निर्माण गर्छौं।’

प्रदेश कमिटी अध्यक्ष गुरुङले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकोले त्यसको अन्त्य राप्रपाले गर्ने बताएका छन्।

Logo