भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले संकल्पपत्र जारी गरे । संकल्पपत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक रु ५ हजार भत्ता दिइने सहितका कार्यक्रम समावेश गरिएको छ ।
विद्यालय शान्ति क्षेत्रको मान्यता दिँदै २० प्रतिशतसम्म बजेट विनियोजन गरिने छ । संकल्पपत्रमा एक परिवारलाई मासिक ६ हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गरिने उल्लेख छ । त्यसैगरी दूधमा प्रतिलिटर रु तीन दिइँदै आएको अनुदानलाई बृद्धि गरिनेछ । विपन्न, मजदुर, किसानलाई ५८ वर्षको उमेरपश्चात पेन्सनको व्यवस्था मिलाइने संकल्पपत्र प्रस्तावमा उल्लेख छ । सोह्र वर्ष मुनीका बालबालिकाको स्वास्थ्योपचार निःशुल्क गरिनेछ । घरघरमा कम्तिमा एक जनालाई रोजगारको अवधारणालाई आत्मसाथ गर्दै स्वःरोजगारको सृजना गर्ने वातावरण बनाइने संकल्पपत्रमा उल्लेख छ ।
विद्यालय उमेर नाघेका निरक्षर किशोर किशोरीका लागि सरकारी तवरबाटै खुला विद्यालय स्थापना गरिने छ । जिल्लाभित्र रहेका ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरू, दर्शनीयस्थल, गडी र झर्ना आदिकोे पहिचान, पूर्वाधार विकास तथा सौन्दर्यकरण गरी जिल्ला भ्रमणको प्याकेज निर्धारण गरी पर्यटक आकर्षण बढाइने छ । प्राङ्गारिक खेती उत्पादन गर्ने वडालाई प्राङ्गारिक वडा घोषणा गरिने छ । जलवायु अनुसारको फलफूलको बोट बिरुवा रोप्न ‘एक बोट, सयको नोट’ नारासहित प्रोत्साहित गरिने, अव्यवस्थित खरका घरमा जस्तापाता गराइने छ ।
प्रतिपरिवार ३० यूनिटसम्म विद्युत् उपभोग गर्नेलाई निःशुल्क गरिनेछ । वडाभित्र रहेका ६ मिटरको मापदण्ड पूरा गरेका सबै सडकहरू कालोपत्र गरिनेछ । वडा तहमा कम्तिमा दुई वटा सुलभ मूल्यका सहकारी पसल स्थापना र संचालन गर्ने वा गरेका संस्थालाई आर्थिक सहयोग गर्ने, स्वदेशी उत्पादनका सामग्रीको व्यापार गर्ने फर्मलाई करका दरमा सहूलियत दिइने व्यवस्था गरिने संकल्पपत्रमा उल्लेख छ ।
एकीकृत सम्पति करलगायत स्थानीय करका दर रेटमा पुनरावलोकन गरी दोहोरो तेहोरो कर खारेज गरिनेछ । सामाजिक सङ्घसंस्थालाई निश्चित मापदण्डको आधारमा वर्गीकरण गरिनेछ । नारायणी कलामन्दिरलाई कला केन्द्रहरूको स्तरोन्नती गरिनेछ ।
उपभोग्य सामग्रीहरूमा उत्पादन गर्ने कम्पनी, ट्रेड मार्क, उत्पादन भएको मिति, ब्याच नं, उपभोग गर्न मिल्ने समयावधि सहितको विवरण अनिवार्य गरिने, महानगरमा ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययन गरी महानगर, उद्योग वाणिज्य सङ्घ समेतको साझेदारीमा अर्को पाँच वर्षभित्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने संकल्प गरिएको छ । जिल्लामा चक्रपथ रामनगरदेखि पहाडको फेदिहुँदै पिपलटार, खेतबारी, स्याङदी, गर्दास, गैरीबारी, शक्तिखोर, जुटपानी, पिठुवा चैनपुर, भण्डारा, लोथरहुँदै लोथरखोला र राप्ती खोलाको तटबन्धनसहित भण्डारा कुमरोज सौराहा पटिहानी जगतपुर, चनौली, मेघौली, गोलाघाट, नारायणीको किनारै किनार तटबन्धनसहित गुञ्जनगर, झन्नझने, शिवघाट रामघाट नारायणगढ हुँदै रामनगरसम्म अत्याधुनिक वातावरणमैत्री सडक शुरु गरिने उल्लेख छ ।
कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी दाहाल र उपप्रमुखका प्रत्यासी अधिकारीले महानगरको विकासका लागि गरिएका संकल्प पूर्ण रूपमा कार्यान्वयनका लागि लोकतान्त्रिक बाम गठबन्धनको जित सुनिश्चित आवश्यक रहेको बताए । सो अवसरमा काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष कृष्णराज न्यौपानेको उपस्थिति थियो ।





























प्रतिक्रिया