पुरानै परिचयपत्रबाट मतदान गर्न सकिने, नयाँ मतदाताले कहिले पाउँछन् परिचयपत्र ?

पुरानै परिचयपत्रबाट मतदान गर्न सकिने, नयाँ मतदाताले कहिले पाउँछन् परिचयपत्र ?

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचन आउन अब तीन दिन मात्र बाँकी छ। वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ। वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउनेछन्। आयोगका अनुसार एकै चरणमा हुन लागेको निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अरू मतदाता छन् ।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन्।

मतदान गर्न मतदाताले अनिवार्यरूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ। अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘पहिले बाँडिसकेको मतदाता परिचपत्र हुनेले सोही परिचयपत्रबाट मतदान गर्ने हो,’ उनले भने ।

नयाँ मतदातालाई २८ र २९ गते परिचयपत्र बाँडिने
निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। नयाँ मतदातालाई वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने प्रवक्ता पौडेलले जानकारी दिए। मतदाताले मतदान केन्द्रबाटै परिचयपत्र लिन सक्नेछन्। मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ।

पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोगयोग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यही दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ। तर मतदाता नामावलीमा नाम प्रकाशित भए पनि परिचयपत्र नभएकाको हकमा के हुन्छ भन्ने कुराको निर्णय आयोगले हालसम्म पनि गरेको छैन।

Skip This
Skip This
Logo