दक्षिण ललितपुरको मतगणनास्थलमा विद्युत् र इन्टरनेटको राम्रो व्यवस्था नहुँदा समस्या पर्न सक्ने भन्दै मतदान अधिकृतहरू चिन्तित् छन् । बागमती गाउँपालिकाका मतदान अधिकृत नागेन्द्रकिशोरी पोखरेलले विद्युत्काे समस्या रहेको बताए । उनले भने, 'चट्याङ पर्दा ‘झ्याप्प झ्याप बत्ती गएर अँध्यारो हुने रहेछ । हामीले जेनेटर ल्याएका छौं ।’ बागमती गाउँपालिका कार्यालयको इन्टरनेट नै प्रयोग गरिने पोखरेलले बताए ।
महांकाल गाउँपालिकाकी मतदान अधिकृत सुशीला ज्ञवालीले पनि मतदान स्थलमा विद्युत्को समस्या रहेको बताइन् । उनले भनिन्, ‘यहाँ भएको वैकल्पिक व्यवस्थाको रुपमा सोलार प्रयोग गर्दैछौं ।’
उता कोञ्ज्योसोम गाउँपालिकामा पनि विद्युत् जानसक्ने समस्यालाई मध्यनजर गरेर सोलार जोहो गरिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथापाले बताए। उनले भने, ‘सोलार त छ। तर निरन्तर घाम लागे चार्ज होला । नत्र चार्ज हुँदैन ।’
मतगणनाको लागि छुट्टै इन्टरनेटको व्यवस्था नगरिएको महांकाल गाँउपालिकाकी मतदान अधिकृत ज्ञवालीले बताइन् । उनले भनिन्, ‘पालिकामा भएको इन्टरनेट तानेर चलाइएका छौं ।’
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निर्वाचनका लागि लक्षित गरेर प्राधिकरणसँग समन्वय गरेर बिजुली व्यवस्था गर्ने तयारी भइरहेको बताए। 'हामी वैकल्पिक व्यवस्था गर्ने व्यापक योजना बनाउँदै छौँ,' उनले भने, ‘इन्टरनेटको लागि फोनलगायत सबै स्राेत प्रयोग गरिन्छ ।’
मतगणना स्थलमा तार जाली
ललितपुरका मतगणनाका क्रममा तार जाली राख्ने तयारी गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकाको मतगणना स्थलमा ग्याविन तार (पर्खाल लगाउने तार)ले छेकिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथापाले बताए । उनले भने, ‘मतगणना गर्ने ठाँउ तार जालीले बेरेर बलियो बनाइसक्यौं।’
महांकाल गाउँपालिकाकी निर्वाचन अधिकृत ज्ञावालीले पनि मत गणनास्थललाई छेक्न तार जाली ल्याइसकेको बताइन्। बागमती गाउँपालिकाका मतदान अधिकृत पोखरेलले तारजाली भित्र बसेर कर्मचारीले मतगणना गर्ने र तार जाली बाहिर प्रतिनिधि बस्ने व्यवस्था हुने बताए।





























प्रतिक्रिया